७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

नेपालका हरेक गाउँ पर्यटकीय गन्तव्य बन्न सक्छ



  • आफ्नै खबर
  • ३ हप्ता अघि
  • पाठक संख्या ११५
  • सहरिया जीवन भन्दा पर विशुद्ध गाउँले वातावरण भएका ठाउँमा प्राकृतिक जीवन पद्धति, संस्कृति, जैविक विविधता, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको रसस्वादन गर्नु नै ग्रमीण पर्यटन हो । मानिसका पाँचवटा ज्ञानेन्द्रिर्य सन्तुष्ट हुने गरीे गर्ने भ्रमण नै पर्यटन हो । त्यसरी भ्रमण गर्ने ठाउँ मानव निर्मित पनि हुन सक्छ र प्रकृतिले दिएका रुख बिरुवा, पहाड, हिमाल, फराकिला फाँटहरू जस्ता दृष्य वा वातावरण पनि हुन सक्छ । 

    सार्कस्तरीय ग्रामीण पर्यटनसम्बन्धी गोष्ठीमा मैले आठवटै सार्क सदस्य राष्ट्रहरूको सहभागितामा थिमेटिक प्रस्तुति दिएको थिएँ । त्यसमा सार्क देशका ग्रामीण पर्यटनबारे सम्भाव्यता प्रस्तुत गर्दा मैले पर्यटनमा ज्ञानेन्द्रियको महत्वबारे आफ्नो धारणा राखेको थिएँ । 

    कोही होमस्टे हेर्न भनेर जाँदैन । तर, त्यहाँ पकाएर खान दिइने स्थानीय उत्पादन, स्थानीय खाद्य परिकार, स्थानीय स्वाद भने पर्यटन हो । किनकि यसमा जिब्रो जोडिएको छ । 

    मौसमबाट छालालाई आनन्द महसुस हुनुपर्यो । आँखाले आफुलाई आनन्द आउने दृष्य देख्नु पर्यो । नाकले राम्राराम्रा फरक सुगन्ध पाउनु पर्यो । कानले चराको चिरबिर, नदीको कलकल, छाँगाको छङछङ सुन्नु पर्यो । जिब्रोले स्थानीय स्वादिलो र फरक खाना खान पाउनुपर्यो । यौन पर्यटन पनि छालासँग सम्बन्धित पर्छ । तर, यसलाई नेपालको सामाजिक र सांस्कृतिक आधारमा यो विषय उठाउनु उपयुक्त देखिँदैन् । अर्थात् तनावरहित भएर रहरले सधैंको नियमित जीवनभन्दा फरक ढंगले पाँच ज्ञानेन्द्रियलाई सन्तुष्टि दिने उद्देश्यले भ्रमण गर्नु नै पर्यटन हो । पर्यटन भनेको मान्छेको पाँच ज्ञानेन्द्रियलाई आकर्षण गर्ने व्यवसाय हो, जहाँ आर्थिक कारोबार हुन्छ । 

    सहरको यान्त्रिक जीवनशैलीबाट वाक्क दिक्क भएर गाउँको रहनसहन, बसोवासका शैलीलगायतका विषय अवलोकन गरेर स्थानीयको घरमै बस्नु नै होमस्टे पर्यटन हो भन्ने बुझाइ छ । तर होमस्टे आफैंमा पर्यटन होइन । त्यो पर्यटनको पूर्वाधार मात्र हो । घुम्न गएको ठाउँको बास वस्ने थलो मात्र हो । कोही होमस्टे हेर्न भनेर जाँदैन । तर, त्यहाँ पकाएर खान दिइने स्थानीय उत्पादन, स्थानीय खाद्य परिकार, स्थानीय स्वाद भने पर्यटन हो । किनकि यसमा जिब्रो जोडिएको छ । 

    अहिले नेपालमा अनुमानित १५ हजार होमस्टे छन् । तर ती सबै सही अर्थमा होमस्टे हो त भन्ने प्रश्न पनि छ । नेपाल सरकारले घरवास सञ्चालन ऐन २०६७ मा होमस्टे २ प्रकारको हुन्छ भन्ने परिभाषा गरेको छ । व्यक्तिगत र सामुदायिक । व्यक्तिगत भनेको होटेल हो । खासै फरक हुँदैन । सामुदायिक भनेको घरेलु वातावरणमा हुनु पर्छ । सफाइ सबैलाई चाहिने कुरो हो । स्थानीय र उपलब्ध रहेको मिठो मसिनो पनि सवैको रहर हो । तर, त्यो भन्दा पर गएर पर्यटकलाई विशेष मान मनितो भनेको होमस्टेको मुख्य प्राथमिकतामा पर्नु हुन्न । तब न त्यहाँको रहन सहन र वातावरण बुझ्न सहज हुन्छ । त्यसैले पाँचभन्दा बढी व्यक्ति मिलेर खोलिएको घरवासलाई हामी सामुदायिक होमस्टे भन्छौं । तर, अहिलेसम्म होमस्टे सम्बन्धी एउटा कार्यविधि मात्र बनेको छ । अरु केही काम भएको छैन । 

    होमस्टे बढ्नुको कारण
    गण्डकी प्रदेशका एक मन्त्रीले होमस्टे प्रवद्र्धनका लागि ३० करोड रुपैयाँ विनियोजन गरे । त्यत्रो पैसा होमस्टेले परिचालन गर्न सहज थिएन । पछि सबै होमस्टेलाई उक्त रकम वितरण गर्ने कुरो भयो । जस अनुसार प्रत्येक होमस्टेले सेवा परिमार्जन लगायतका कामका लागि १० लाख रुपैयाँको दरले दिने निर्णय भयो । त्यहाँ ३ सय होमस्टेले १० लाख रुपैयाँको दरले पाउने भए । तर त्यति होमस्टे नै थिएन । २ सय ७३ घरले पैसा लगे । सरकारले अनुदान दिएपछि यो क्षेत्रले केही त पायो । तर होमस्टे खोल्दा सरकारले पैसा दिँदो रहेछ भन्ने चर्चा हुन थाल्यो । २ जना केटाले होमस्टे दर्ता गरेर १० लाख रुपैयाँ खाएको मैले नै देखेको छु । होमस्टेको मापदण्ड थिएन । 

    पर्यटन भनेको कि मन्दिर नै चहियो, कि हिमाल नै चाहियो भन्ने मान्यताबाट केही टाढा पुग्नुपर्छ । देशका हरेक क्षेत्रमा पर्यटकीय गन्तव्य छन् र हुन सक्छन् । 

    वर्षभरिमा सबैभन्दा बढी पाहुना आउने होमस्टेले धेरै अनुदान पाउनुपर्ने हो । त्यसपछि घट्दै जानु पर्ने हो । अहिले नेपालको संविधानअनुसार होमस्टे स्थानीय तहमै दर्ता भए हुने भयो । अहिले नेपालभर बग्रेल्ती होमस्टे छन् । तर, यसको ऐन छैन । नियमावली पनि बनेको छैन । कार्यविधि छ तर अनुगमन छैन । आप्mनो रेष्टुरेण्ट चलाउन तल्लो तलामा होटेल माथ्लो तलामा होमस्टे लेख्नेहरू पनि देखिन थालेका छन् । त्यसले गर्दा होमस्टेमा बस्नेहरू ठगिने क्रम सुरु भएको छ । उनीहरूप्रति होमस्टेलाई हेर्ने नजर नै नकारात्मक हुँदै गएको छ । जसले गर्दा सही अर्थमा सञ्चालनमा आएका होमस्टेलाई मर्का परेको छ । यसमा कमी कमजोरी भनेको सरकारको हो । स्थानीय तहले गर्नुपर्ने काम भएकै छैन । 

    पछिल्लो समय आन्तरिक पर्यटकको संख्या अत्यधिक बढ्दो छ । सामाजिक सञ्जालमा भएको प्रवद्र्धनका आधारमा पर्यटक पुग्न थालेका छन् । ठाउँठाउँमा फोटो खिच्ने ठाउँ बनाइदिनुले पनि मानिसहरू एकजना गएको ठाउँमा अरु पनि जान चाहन्छन् । 

    गाउँतिर मानिसले बनाएको भन्दा प्रकृतिले दिएको वरदान बढी छन् । हिमाली क्षेत्रमा त्यहीका प्रडक्ट छन् । अपर मुस्ताङ छुसेर गुफामा ३५ सय वर्षअघि मानिस बसेको भन्ने छ । उनीहरू बाहिर निस्केर अहिले त्यही घर बनाएर बसेका छन् । पर्यटन भनेको कि मन्दिर नै चहियो, कि हिमाल नै चाहियो भन्ने मान्यताबाट केही टाढा पुग्नुपर्छ । देशका हरेक क्षेत्रमा पर्यटकीय गन्तव्य छन् र हुन सक्छन् । 

    त्यस्तै, पाहुनालाई सकेसम्म कुखुरै काट्नुपर्ने वाध्यतामा ल्याउनु हुन्न । यहाँ पर्यटकले खोजेको जस्तो र उनीहरूलाई आवश्यक वस्तु र सेवा छ । आलु, गुन्द्रुक, सिन्कि, तामा, मकै, भटमास हाम्रा स्थानिय उत्पादन हो भनेर देखाउनु पर्यो । 

    अवको बाटो 
    नेपालको समृद्धि र खुसी जीवनको परिकल्पनालाई साकार पार्न ३ वटा बाटा छन् । पहिलो कृषि, दोस्रो जलस्रोत भयो । तेस्रो र अत्यन्त थोरै पैसामा सुरु गर्न सकिने, सिप धेरै नचाहिने वाटो भनेको पर्यटन हो । अहिले देशका ७ सय ५३ वटै पालिकामा कुनै न कुनै किसिमको एउटा न एउटा पर्यटकीय गन्तव्य वा प्रोडक्ट बनाउन सकिन्छ । 

    जस्तै, तराईंमा पर्यटकीय सम्भावना नदेख्नेलाई कैलालीका कालु हमालले उदाहरण बनेर जवाफ दिएका छन् । कृषिमा स्नातक गरेका व्यक्तिले थारु कम्युनिटीलाई समेटेर त्यहाँ केराकै ४२ प्रकारका उत्पादन दिइरहनु भएको छ । तर यहाँ मार्केटिङको अभाव अझै देखिएको छ । सवैले आफ्नो स्थानीय उत्पादन र त्यसमा पर्यटकीय सम्भवना खोज्नुपर्यो । मार्केटिङका लागि गुणस्तर पहिलो शर्त हो । 

    आलुलाई झोल हालेर ५० रुपैयाँमा बेच्ने कि, फ्रेन्चफ्राई वनाएर ८० मा वेच्ने वा चिप्स वनाएर राम्रो प्याकेजिङ गरेर १५० मा बेच्ने भन्ने  बिषय दक्षता अर्थात एपमा भर पर्ने कुरा हो । 

    हामीले त्यसको मार्केटिङ गर्न टाढा जानु पर्दैन । हाम्रा दुई छिमेकी राष्ट्रमै हामीलाई चाहिए जति सङ्ख्यामा नेपाल घुम्न लालायीत भएर बसेका छन् । उनीहरूलाई हामीले आफ्नो उत्पादनको बारेमा बुझाउनु पर्यो । तर विडम्वना, हामी आफै आफ्नो उत्पादनको बारेमा अञ्जान छौं । 

    पर्यटन विकासका लागि मुख्य दुई कुरा महत्वपूर्ण हुन्छ । भौतिक पूर्वाधार अर्थात् हार्डवेयर तथा जनशक्ति र दक्षता जसलाई सफ्टवेयर वा एप्स भनेर बुझ्न सकिन्छ । उदाहरणका लागि कराई, भान्छा हार्डवेयर हुन् । अव त्यहाँ रहेको आलुलाई झोल हालेर ५० रुपैयाँमा बेच्ने कि, फ्रेन्चफ्राई वनाएर ८० मा वेच्ने वा चिप्स वनाएर राम्रो प्याकेजिङ गरेर १५० मा बेच्ने भन्ने  बिषय दक्षता अर्थात एपमा भर पर्ने कुरा हो । 

    त्यसपछि बजार खोज्न धेरै टाढा जानु पर्दैन । देश अथाह सम्भावना हामीलाई पस्किरहेछ । हामी चौतारीमा वसेर घाम ताप्दै देशमा कुनै पनि अवसर नभएकोमा कसले वलियो तर्क गर्ने भनेर दिमाग खियाइरहेका छौं । अव त्यासो होइन, भएका सम्भावनालाई पहिचान गर्न नसक्ने, उत्पादन गर्न नसक्ने, प्रचार प्रसार गर्न नसक्ने र लिन आउनेलाई सन्तुष्ट वनाउन नसक्ने अवस्थावाट अघि वढ्नु पर्छ । 

    (प्रा.डा. शर्मासँग सुदीपकुमार ढुङ्गानाले गरेको कुराकानीमा आधारीत)

     
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?