१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

३ वटा क्यान्सर जितेका हुमागाईं जनचेतना फैलाउन बने ‘साइकल यात्री’

‘समाजले अत्याएरै क्यान्सर रोगीको ज्यान लिइरहेको छ, बिरामीलाई हौसला र समयमै सही उपचार पुर्याउन सवै लाग्नु पर्छ ।’ 



  • आफ्नै खबर
  • ३० असार २०८१ शनिबार (५ महिना अघि)
  • पाठक संख्या ५६२
  • ३ वटा क्यान्सर जितेका काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का स्थायी वासिन्दा ध्रुवप्रसाद हुमागाई क्यान्सर रोगवारे सचेतना बढाउन नेपाल मात्र होइन भारत समेत पुगेका छन् । साइकल चढेरै आफ्नो अभियान चलाइरहेका हुमागाईको आत्म वृत्तान्तको सम्पादित अंशः

    विर्सन नसक्ने पीडा

    म ३ वटा क्यान्सर पछारेर बाँचेको मान्छे हुँ । क्यान्सरसँग कुस्ती खेल्दाको समय सम्झँदा अहिले पनि मेरा शरीरमा काँडा उम्रन्छन् । यसको लक्षण देखिँदाको समय जत्तिको पीडादायी कहिले भएन । 

    कोभिडको कारण भएको लकडाउनका समयमा मेरो दायाँ पातो धेरै दुख्न थाल्यो । बेलुका अत्याधिक दुख्न थालेपछि श्रीमतीको निद्रामा असर पर्छ भनेर म अर्कै कोठामा सुत्न थालें । मेरो कारणले अरुलाई दुःख वा तनाव नहोस् भन्ने मेरो सोच हो । मैले जति दुखेपनि नदुख्ने औषधी भने खाइन । एकदिन अति नै भएपछि मैले श्रीमतीलाई भनें, ‘आज तैंले मलाई अस्पताल लगिनस् भने म अव बाँच्दिन ।’

    श्रीमती आत्तिन थालिन्, हतार गर्दै चावहिलको मेडिकेयर अस्पतालमा पुगियो । त्यहाँ ८ दिन बसेपछि मेरो एमआरआईको रिपोर्ट आयो । रिपोर्ट हेरेपछि त्यहाँको डाक्टरहरुले मेरो परिवारलाई छुट्टै बोलाएर मेरो आयु ६ महिना तोकिदिनुभएछ । बिरामीले खोजेको जस्तो खान दिनु र स्याहार गर्नु भनेर भन्नुभएछ । 

    मैले डाक्टरलाई भनें, ‘तपाईहरु सवै कुरा गर्न सक्नु हुन्छ । कान पनि तपाईहरु नै काट्नु हुन्छ, नाक पनि काट्नु हुन्छ । अर्थात हामी योचाहिँ गर्न सक्दैनौं भन्नुहुन्न । तर, यो क्यान्सर भएकोले मलाई कुनै क्यान्सर हस्पिटलनै रिफर गरिदिनुस् ।’

    म निजी र सरकारी सवै क्यान्सर अस्पतालको बारे जानकारी लिन थालें । मलाई भक्तपुर क्यान्सर अस्पतालनै ठिक लाग्यो । भक्तपुर क्यान्सर अस्पताल पुगें । त्यसवेला मलाई मेरो भाइ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुकुन्द गजुरेल, त्यसवेलाका प्रदेश सभा सदस्य रामेश्वर फुयाँल र भक्तपुरका सासद महेश वस्नेतले धेरै सहयोग गर्नु भयो । कोभिडको कारण भएको लकडाउनको कारण पनि त्यसवेला भर्ना हुन ठुलै ‘रिस्क’ मोल्नु पथ्र्यो । 

    त्यहाँ वायोप्सी गरेपछि एक जना डाक्टरले मेरो उपचार सफल नहुने किसिमको कुरा गर्नु भएछ । मैले डाक्टरलाई भेटेर ‘जे भन्नुपर्ने हो मलाई नै भन्नुस् । म यो रोगसँग लड्न सक्छु । तर मेरो परिवारलाइ निराश बनाउने कुरा नगरिदिनुस् । यदि नबाँच्ने नै हो भन्ने ग्यारेण्टी गर्नुहुन्छ भने म देश घुमेर बाँकी जीवन बिताउँछु’ भनें । 

    भोलिपल्टदेखि उहाँ आउनुभएन । त्यसपछि मलाई जाँच्न डा.रोशन प्रजापति आउन थाल्नुभयो । त्यो नै मेरो भाग्य र क्यान्सरलाई पछार्ने आधार बन्यो । उहाँले मलाई एकदमै माया गर्नुहुन्थ्यो । हरेक दिन बिहान राउण्डमा आउँदा ‘ध्रुवजी म तपाईकोमा आउँदा आफन्तकोमा आएजस्तै लाग्छ’ भन्नु हुन्थ्यो । त्यसले चौथो चरणको क्यान्सर सँग भिडिरहेको मलाई थप हौसला दिन्थ्यो । 

    त्यसवेला ‘क्यान्सर भनेको लागेपछि मर्ने नै हो । केमो झन् खतरा’ भनेर बुझिन्थ्यो । मैले पहिलो र दोस्रो केमो लगाएँ । २१ दिनको फरकमा लगाउनु पथ्र्यो । ३ दिन अस्पतालनै वस्नु पथ्र्यो । तेस्रो केमो लगाएपछि रगत जाँच्न म आफैं मोटर साइकल लिएर जोरपाटीबाट भक्तपुर क्यान्सर अस्पतालसम्म गएँ । 

    त्यसपछिका ९ वटा केमो दिन म मोटरसाइकल आफैं चलाएर गएँ । पछि २० पटक रेडिएशन पनि लिएँ । त्यसवेला मलाई सवैभन्दा वढी सहयोग गर्ने मित्र आनन्द बराल हुनुहुन्छ । रेडिएशन लिन पनि म मोटरसाइकल चलाएरै जान्थें । डा. रोशन प्रजापतिले थप उपचार गर्न भारत जान सुझाउनु भयो । 

    कोभिडपछि अन्तर्राष्ट्रिय उडान खुल्यो । अनि म भारतको राजिव गान्धी क्यान्सर अस्पताल पुगेँ । त्यहाँ मैले दैलखका विष्णु शाही ठकुरीलाई भेटें । त्यहाँ उपचारका लागि पुग्ने सवै बिरामी नेपालीलाई तनमनले सहयोग गर्नु हुँदोरहेछ । उहाँसँगको भेटले मलाई रोगसँग लड्न थप बल पुग्यो । 

    त्यहाँ पेटसिटी गर्दा क्यान्सरको मात्रा धेरै घटेको रहेछ । क्यान्सर त मैले भक्तपुरमै जितिसकेको रहेछु । त्यहाँ परिक्षण पछि डा.उल्लास भद्रले मैले क्यान्सर जितेको सुनाउनु भयो । त्यो मेरो लागि कति सुखद खवर थियो भन्ने कि मलाई थाहा छ, कि मेरी श्रीमतीलाई थाहा छ । हामी दुवै अँगालो हालेर हर्षका आँसु वगायौं । 

    नेपालमा एउटा आधुनिक प्रवधियुक्त, दक्ष जनशक्ति भएको तथा जनशक्ति उत्पादन समेत गर्न सक्ने राम्रो अस्पताल निर्माण गरेको भए उनीहरुलाई पनि कति सहज हुन्थ्यो होला । तर उहाँहरु उपचारका लागि दिल्ली धाएको देख्दा मलाई लाज लागे पनि उहाँहरुलाई त्यस्तो महसुस भयो होला  भन्ने  लागेन ।

    क्यान्सर जिते पनि थप उपचार र फलोअपको दैनिकी त सुरु भइहालेको थियो । डा. उल्लास भद्रले साढे ३ महिना पछि आउन भन्नुभयो । साढे ३ महिना पछि उहाँले मलाई क्यान्सर मुक्त भएको र खानामा मुख बार्नु नपर्ने सुनाउनु भयो । मेरो फोक्सोको क्यान्सर पराजित भयो । मैले जितें । 

    फोक्सोको क्यान्सर जितेको खुसी साटिनसक्दै व्याक बोनमा क्यान्सर देखियो । त्यसपछि डा.उल्लास भद्रले डा. दिनेश भुरानीलाई रिफर गर्नुभयो । त्यसवेला म एक्लै दिल्ली गएको थिएँ । सहयोगी नहुँदा पनि भर्ना भएर बस्नुपर्ने भयो । म नेपालमा पनि एक्लै उपचारका लागि धाएको हुँ । ममा एक प्रकारको आँट थियो । भारतमा पनि एक्लै बसेर उपचार गराएँ । १–१ हप्तामा लगाउनु पर्ने इन्जेक्सन १० हप्ता र अन्य उपचारले त्यो क्यान्सर पनि हरायो । 

    तर त्यो रोग सार्है ज्याद्रो हुँदोरहेछ । फेरी मल्टिपल माइलमामा देखियो । डा. भुरानीले सुरुमा ४.८ देखियो भन्नुभयो । त्यो के को मापक थियो भन्ने थाहा भएन । त्यसपछि डा. दिनेशले आफू अष्ट्रेलिया जान लागेको भन्दै साढे ३ महिनामा फर्किएपछि बोनम्यारो बदल्नुपर्ने बताउनुभयो । 

    म पनि साढे ३ महिना काठमाडौं बसेर डा. भुरानी आउने समयमा दिल्ली पुगें । त्यसवेला त्यो ४.८ पुगेको मापक माइनसमा आइसकेछ । डा. भुरानीले यसलाई यसैगरी मेन्टेन गरेर राख्ने कुरा गर्नुभयो । अर्थात समय समयमा परिक्षण गरेर यो भन्दा खराव नहुने  गरी डाक्टर को निगरानीमै बसिरहने निर्णय दिनुभयो । म उहाँको निर्देशन पालन गरेर बसिरहेको छु । 

    डा. भुरानीले समयसमयमा काठमाडौंको ओम अस्पतालका डा. अन्जन श्रेष्ठलाई पनि आवश्यक परिक्षण रिपोर्टहरु देखाउन सक्ने भन्दै सिफारिस गर्नुभयो । भारत जाँदा वाहेक म त्यही निर्देशन पालन गरिरहेको छु ।   

    क्यान्सर जितेपछि

    हो, क्यान्सर जितियो । यसमा धेरै आफन्त, साथीभाई, सहृदयी मनहरुको सहयोग, छोराहरु विदेशमा हुँदा उपचार खर्चमा भएको सहजता लगायतले खासै कठिन भएन भन्ने लाग्छ । सवै भन्दा बढी मेरी श्रीमती । म अहिले ज्युँदो हुनुको मुख्य कारण उनि हुन् भन्ने लाग्छ । त्यसैले म अहिले पनि सवैलाई भन्छु, ‘मानिसको अन्तिम सहारा परिवार हो । त्यहाँ नै छ सञ्जीवनी बुटी ।’ परिवारको मायाले मानिसलाई ठुलो उर्जा पैदा गर्दो रहेछ । 

    Caption

    त्यसपछि मलाई लाग्यो, ‘मैले जितें भन्ने कुरो जति धेरै विरामीलाई सुनाउन सक्यो, त्यसले उनीहरुलाई त्यति मनोवल बढाउन सहज हुन्छ ।’ जनचेतना फैलाउने र हौसला बढाउने काम सहज हिसाबले विलाशी शैलीले गरेर हुँदैन भन्ने लाग्यो । मैले साइकल यात्रामा देशव्यापी रुपमा अभियानसाथ भ्रमण गर्ने सोच वनाएँ । 

    मैले ६ वटा लामो दूरीको साइकल यात्रा गरें । पहिलो, काठमाडौंको जोरपाटीबाट भरतपुर क्यान्सर अस्पताल सम्म । दोश्रो साइकल यात्रा मेची–महाकाली, तेस्रो साइकल यात्रा काठमाडौं–त्रिशूली गरें । चौथो यात्रा काठमाडौं–दार्जिलिङ र पाँचौं दार्जिलिङ–गान्तोक भयो । पाँचौं यात्रा चाहिँ मेरो रहर र हौसलाको भन्दा पनि बाध्यताको उपज थियो । 

    किनकी मेरो चौथो यात्रा काठमाडौं–दार्जिलिङ–गान्तोक हुनुपर्नेमा दार्जिलिङ पुगेपछि म दुर्घटनामा परें । यात्रा स्थगित गरेर काठमाडौं फर्किएँ । ४ महिना आराम गरेपछि मैले फेरि दार्जिलिङ–गान्तोक यात्रा गरेको हुँ । छैटाैँ साइकल यात्रामा भने मैले आफ्नो जन्मदिन पारेर काठमाडौंबाट सिन्धुपाल्चोकको पाल्चोकी भगवती दर्शन गरें । 

    गोकर्णेश्वर नगरपालिकाका अघिल्लो प्रमुख सन्तोष चालिसे र अहिलेका प्रमुख दिपक रिसालले पनि मेरो साइकल यात्रालाई ठुलो र महत्त्वपूर्ण सहयोग गर्नु भएको छ । यसमा प्रदेश सासद छिरिङ दोर्जे लामा र मेरै वडाका अध्यक्ष नारायण वहादुर सुवेदीले दिएको हौसला र गरेको सहयोग भुल्न सकिँदैन । मैले पहिलो साइकल यात्रामै भनें, ‘मलाई एउटा साइकल किनिदिनुस्, म क्यान्सर जित्न सकिन्छ भन्ने जनचेतना जगाउने अभियानमा लाग्छु ।’ त्योसँगै पहिलो यात्रामा मैले भरतपुर क्यान्सर अस्पतालका बिरामीलाई केही फलफुल, जुस, विस्कुट जस्ता खाद्यान्न बाँढ्ने रहर गरेँ । उहाँले त्यो पुर्याईदिनु भयो । 

    समाज सेवा मागेर गर्ने होइन भन्ने थाहा पाउँदा पाउँदै पनि मैले पालिकासँग सहयोग माग्नु पर्यो । तर मैले भनें, म भात आफ्नै पैसाले खान्छु । उपचारको क्रममा धेरै खर्च भएकोले केही सहयोग मागेको हुँ । नगरपालिकाले राम्रो सहयोग गर्यो । त्यसले पनि सहज भयो । अवको मेरो जीवन भनेको क्यान्सर रोगीलाई यो रोगसँग लड्न सकिन्छ भन्ने हौसला वढाउनको लागि मात्र हो । 

    लज्जित छु

    भारतमा क्यान्सर उपचार गर्न जाँदा महसुस भयो, ‘त्यहाँका ठुला ठुला अस्पताल सवै नेपाली बिरामीको कारण चलेको हो ।’ त्यो बेला मलाई नेपालका नेतृत्व, नीति निर्माता सम्झेर बहुत लाज लाग्यो । यहाँका उच्च पदस्थ नीति निर्माता, कार्यान्वयन तहका व्यक्तिहरु आफन्त बोकेर उपचारका लागि दिल्ली धाएका देखिन्थे । 

    नेपालमा एउटा आधुनिक प्रवधियुक्त, दक्ष जनशक्ति भएको तथा जनशक्ति उत्पादन समेत गर्न सक्ने राम्रो अस्पताल निर्माण गरेको भए उनीहरुलाई पनि कति सहज हुन्थ्यो होला । तर मलाई उहाँहरु उपचारको लागि दिल्ली धाएको देख्दा लाज लागेपनि उहाँहरुलाई त्यस्तो महसुस भयो होला जस्तो लागेन । त्यसले अझ लज्जित तुल्यायो । 

    त्यहाँको रोहिणि सेक्टर ५, ६, ७ मा रहेका ठुला ठुला अस्पतालमा उपचार गर्ने सारा नेपाली आफ्नो जिन्दगीभरको वचत सकेर, पुख्र्यौली घर जग्गा वेचेर गएका छन् । छोराहरुलाई विदेशमा बेचेर उनिहरुले पठाएको पैसाले उपचार गरिरहेका छन् । यो देख्दा र बुझ्दा मन कटक्क खान्छ । 

    नेपालको उपचार शुल्क

    स्वदेशमा उपचार नपाएर मात्र होइन, उपचार किन्न नसकेरै मर्नेको संख्या पनि धेरै ठुलो छ । नेपालमा परिक्षणशैली पनि फरक छ । जाने वित्तिकै रगत तानिहाल्ने, युरिन लिने लगायतका झण्झटिलो प्रक्रिया छ । त्यहाँ डक्टर भेटेर सवैकुरो व्रिफिङ भएपछि फटाफट काम सुरु हुन्छ । डाक्टर शुल्क झण्डै तेव्वर छ । तर, अन्य शुल्क नेपालमा भन्दा धेरै कम छ । 

    यहाँ एउटा पेटसिटी गर्न ७० हजार रुपैयाँ लाग्छ । तर भारतमा १० हजार भारु अर्थात १६ हजार रुपैयाँमा हुन्छ । अझ त्यहाँको नागरिकले त्यो सेवा १७ सय भारुमा पाउँछन् । यसपछि मलाई सामान्य हिसाव गर्न आएकोमा पनि नरमाइलो लाग्यो । मेरो देशमा मैले जुन परिक्षण गर्न नेपाली ७० हजार रुपैयाँ तिर्नुपर्छ । त्यो सुविधा भारतमा त्यहाँको नागरिकले १७ सय भारु अर्थात २८ सय नेपाली रुपैयाँ भन्दा कममा पाउँछन् । 

    यहाँ एमआरआई गरेको २५ हजार रुपैयाँ पर्छ । भारतमा करिव २ हजार रुपैयाँ भारु अर्थात नेपाली ३ हजार २ सय रुपैयाँ पर्छ । त्यसैले म भन्छु । पैसा छ भने भारत नै जानुस् ।

    आफन्तका आँखा 

    यहाँका आफन्त पनि खर्चिला निजी अस्पतालको नाम लिए खुसी हुन्छन् । सरकारी अस्पतालमा उपचार गराएमा हेपेर हेर्ने वा बोल्ने गरिन्छ । अर्थात उ अक्षम र आर्थिक रुपले कमजोर हो । यहाँको डाक्टरले नै भारत वा विदेश नगइहुन्न भनेर रिफर गरेको अवस्थामा वाहेक भरतपुर वा भक्तपुर क्यान्सर अस्पताल जानुस् । त्यहाँ नै सही र सफल उपचार हुन्छ । यहाँको निजी अस्पतालमा उपचार गराउन हामी सामान्य नेपालीका लागि सहज छैन । 

    म फेरि फलोअपमा जानु पर्छ । त्यो बेलामा धनगढीदेखि दिल्लीसम्म साइकल यात्रा गरेरै जाने सोचमा छु । १५ देखि २० दिन लामो यात्रामा म आँट गरेर अघि बढ्नेछु । तपाईहरु पनि सवैलाई भन्छु, ‘क्यान्सर एउटा सामान्य रोग हो । लड्न सकिन्छ, तर हिम्मत हार्नु हुन्न ।’

    प्रस्तुति : सुदीपकुमार ढुङ्गाना


      

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?