बाह्रै महिना विविध पर्व तथा उत्सव मनाई रमाउनु नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो ।
सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन् । कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् । यी कतिपय पर्वमा जनश्रुति एवं धार्मिक कथा गाथा जोडिँदा नयाँ पुस्तालाई अपेक्षाकृत रूपमा आकर्षण गर्न नसकिएको हो ।
धर्म र पापका दृष्टान्त दिएर सत्कर्ममा सबै अग्रसर होउन् भन्ने प्रयोजनले हो, अन्धभक्त बनाउन किमार्थ होइन । आज हिन्दू धर्मका कतिपय ग्रन्थहरूको मूल मर्म विपरीत कथा गाथा प्रचारप्रसार हुँदा भोलिका पुस्तामा संस्कृति र परम्पराप्रति अनास्था पैदा हुने र उत्साह हराउने सम्भावना छ ।
सै कारण होला लुतो फ्याक्ने प्रचलन हराउँदै गएको छ । लुतो फ्याक्ने प्रचलनलाई सुक्ष्म दृष्टिले हेरेमा यो मनोरञ्जनमात्र नभई स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने माध्यम हो । नेपालको कृषिप्रधान युगको संस्कृति हो, तत्कालीन समाजको जनविश्वास पनि हो ।
नेपाली समाजमा साउने र माघे सङ्क्रान्तिलाई परिवार मिलन समारोहका रूपमा लिने गरिएको छ । साउने सङ्क्रान्तिमा चेलीबेटी तथा ज्वाइँ वा अन्य पाहुनालाई आमन्त्रण गरी आफ्नो गच्छेअनुसारको परिकार तयार गरी भोजन गराउने चलन छ ।
विगतमा यी दुवै सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने गरिएको कुरा इतिहासले बताउँछ । लुतो फ्याक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार हो । खेतीपातीमा व्यस्त रहने समय भएकाले केटाकेटीको स्वास्थ्यमा उति ध्यान पुगेको देखिँदैन । हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गर्दथ्यो ।
रोगव्याधीलगायतका समस्या सरुवारोगसम्बन्धी जनचेतनाको कमीले गर्दा हुने हो तर कुनै अनिष्ट प्रकृतिका कारण रोगव्याधी आएको हो भन्ने तत्कालीन जनविश्वास थियो । त्यतिबेला सिमेभूमे, भूतप्रेत तथा पिसाच आदिको कुदृष्टिले रोग लागेको विश्वास व्याप्त थियो ।
यस्तो विश्वास धामीझाँक्री, झारफुके तथा जान्ने जस्ताले जगाइदिएका थिए । तर पनि आहारविहारमा नियन्त्रण नहुँदा रोग लागेको हो भन्ने चेत भने हाम्रा पुर्खामा थियो । त्यसैले सचेतना गराउने उद्देश्यले पनि यो लुतो फ्याक्ने संस्कार विकसित भएको अनुमान गर्न सकिन्छ ।
लुतो फ्याक्ने प्रचलन कहिले कसरी सुरु भयो यकिन गर्न भने सकिएको छैन तर यो प्रचलन खस साम्राज्यबाट सुरु भयो भन्ने अनुमान गर्न सकिन्छ । कालान्तरमा सोही साम्राज्य विखण्डन हुन गई बाइसी र चौबीसी राज्यहरू भए । खस भाषीहरूको बसाइँसराइ गर्दै पुगेको स्थानमा अरू पर्व जस्तै यो पर्व पनि पुगेको अनुमान गर्न सकिन्छ ।
हाल प्रचलित अनेकौँ पर्व चाडपर्वहरूको जननी खस साम्राज्य नै थियो । खस साम्राज्यले नेपालको इतिहास र संस्कृतिमा पुर्याएको योगदान बुझ्न पनि यो लुते पर्व सहयोगी भएको छ । आजसम्म पनि यसै कारणले होला सुदूरपश्चिम प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइन्छ ।
साउन १ गते पारिवारिक पूर्णमिलन समारोहको कार्यक्रम बिहान दिउँसो हुने गर्दछ भने बेलुका कन्दारकको पूजा आराधना गरी लुतो फ्याक्ने क्रिया गरिन्थ्यो । विशेषगरी केटाकेटीहरू वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गरेर घर ल्याउँछन् ।
यसैगरी मौसम अनुसारका फलफूलहरू निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखेत्रो, नासपातीजस्ता फलफूल जम्मा गर्ने र आँगनमा तुलसीको मोठनजिक बासका साना साना कप्टेराका खुट्टा बनाई मण्डप बनाइन्छ । सो मण्डपको छेउछेउमा धान र चमरा सहित मकैको बोट उठाएर राखिन्छ । मण्डपमा केराको पात बिछ्याएर सङ्कलन गरिएका वनस्पति र फलफूल सजाइन्छ । त्यसै मण्डपमा पाँचमुठा राँको र १० ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गर्ने चलन छ ।
झमक्क साँझ परेपछि कन्दारकको पूजाआजा गरिन्छ । कतै कतै त निबुवा जस्तै अमिला फललाई जनावरको आकार बनाई बलि पनि दिने गरिन्छ । कन्दारकको पूजा सकिएपछि राँको बाली अगुल्टोमा आगो सल्काई १० दिशामा फालिन्छ ।
लुते सङ्क्रान्तिदेखि ३ दिनसम्म गोरु जोत्न हुँदैन भन्नुको तात्पर्य ती पाल्तु जनावरलाई आराम दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो । बर्खाभरि खेतबारी जोतेका गोरुहरू थाकेका हुन्छन्, आराम चाहिन्छ भन्नको लागि यो चलन चलाएका हुन सक्छ । यस्ता पशुको हेरचाह र संरक्षण गर्नुपर्छ भन्ने चेत हाम्रा पुर्खालाई थियो ।
कन्दारकको पूजापछि अगुल्टो फाल्दा मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गरिन्छ । अगुल्टो फाल्दा लुतो भागिजा, अर्को गाउँमा सरिजा भनेर कराउने गरिन्छ । रातमा सुत्ने बेलामा हातखुट्टामा तेल लगाई तिउरी दलिन्थ्यो । । तिउरी लेपन गरी हातखुट्टालाई हल्का बाँधेमा तिउरी रङ गाढा हुन्थ्यो, मेहन्दीको जस्तै ।
२०१५ साल अघिसम्म जिल्लाजिल्लामा सरकारी स्तरबाटै गर्ने गरिन्थ्यो । धनकुटा जिल्लाको निशानस्थानमा सबै अड्डाका प्रमुखसहित बडाहाकिमको उपस्थिति हुन्थ्यो । माथि उल्लिखित विधिद्वारा राजपुरोहितको निर्देशनमा पूजाआजा हुने र मूलकर्ता बडाहाकिम वा उनले तोकेको अधिकारी हुने चलन थियो । कन्दारकको पूजा आराधनापश्चात् १० दिशामा अगुल्टो फाल्दै लुतो फालिन्थ्यो । यो बढाइ सकेपछि गाउँघरमा लुतो फाल्ने कार्य प्रारम्भ हुन्थ्यो । त्यतिबेला लुतो फाल्ने दिनदेखि ३ दिनसम्म गोरु जोत्नु हुँदैन भन्ने मान्यता थियो ।
कास्की जिल्लाको भरतपोखरीमा रहेको प्रसिद्ध कोटभैरव मन्दिरलगायत केही धार्मिक स्थलमा सामूहिक रूपमा लुतो फाल्ने कार्यक्रम चलेको देखिन्छ । यस्ता प्रकारका मौलिक संस्कार अब सहरबाट प्रायः लोप भइसके भने पनि हुन्छ तर गाउँघर विशेषगरी कर्णाली क्षेत्रमा यो परम्परा अहिले पनि कायमै रहेको छ ।
यस दिन बलेको अगुल्टोलाई चारै दिशामा फाल्दा अमुक गाउँको नामै उच्चारण गरी लैजा भन्ने गरिन्थ्यो । यसबाट त्यो समयमा एकअर्को गाउँप्रतिको आक्रोश व्यक्त हुन्थ्यो । गाउँ गाउँबीच आपसी सम्बन्ध सदैव सौहार्दपूर्ण थिएन । एकले अर्कोलाई दबाउन खोज्ने तत्कालीन परिस्थिति थियो ।
बर्खामा हिलो फोहोरबाट रक्तविकार उत्पन्न भई घाउखटिरा जस्ता छालामा देखिने र देखिन सक्ने रोगबाट मुक्ति पाउन यो संस्कार चलेको अनुभव हुन्छ । रोगव्याधि आदि विभिन्न अदृश्य शक्तिको उपासना गर्दा ठीक हुन्छ भन्ने जनविश्वासको आधारमा कन्दारकको पूजाआजा गर्ने चलन चलेको थियो ।
लुतो फाल्ने उत्सवको महत्त्व र गरिमा विषयमा चिन्तन मनन् नहुँदा र यसको उपादेयताको विषयमा भावी पुस्तालाई जानकारी गराउन नसक्दा यस्ता कतिपय संस्कार–परम्परा लोप हुने स्थितिमा छन् । लुतो फाल्ने उत्सव नेपालको समाज, संस्कृति, इतिहास र जनविश्वाससँग गाँसिएको छ भन्ने जानकारी गराउन आवश्यक छ ।
यस पर्वलाई सचेतना दिवसका रूपमा पनि लिन सकिन्छ । सफा हुनाले छालाको रोग लाग्दैन भन्ने सन्देश यस पर्वले दिएको छ । यसैगरी विभिन्न जङ्गली झारपात तथा रुख–लहरा सञ्जीवनी बुटी हुन् । तिनको संरक्षण गर्नुपर्छ भन्ने चेतना पनि यस लुते सङ्क्रान्तिले जगाएको छ । आयुर्वेद उपचार पद्धतिमा यस्ता वनसम्पदाको ठूलो महत्त्व छ । तर, हामीले यस्ता पद्धतिप्रतिको अविश्वास वा आधुनिक चिकित्साप्रतिको मोहका कारणले यस्ता वनस्पति चिन्न सकेका छैनौँ ।
यी प्राकृतिक विधि लोप हुने स्थितिमा छन् । तिउरी लगाउँदा हिलोले खाएका हात खुट्टालाई फाइदा हुन्छ भन्ने कुरा नै धेरैले बिर्सिसकेका छन् । तिउरी लगाउँदा सर्पले नटोक्ने र विभिन्न छालाका रोगबाट बच्न सकिने जनविश्वासका साथ कर्णाली क्षेत्रको ग्रामीण भेगमा यो चलन अहिले पनि चलिरहेको पाइन्छ । अनिकाललगायतका प्राकृतिक प्रकोप झेल्न नपरोस् भन्ने आशयले पनि यो लुते पर्वको चलन चलेको भनाइ पनि छ ।
साउने सङ्क्रान्तिको दिन दिउँसो खरानीमा कपडा पकाएर धुने चलनबाट त्यतिबेलाको सामाजिक स्थिति बुझ्न सकिन्छ । त्यो बेला साबुन, पाउडर जस्ता लुगा सफा गर्न प्रयोग हुने वस्तुको अभाव हुने हुँदा स्थानीय तवरबाटमा नै उपलब्ध हुने वस्तुको प्रयोग गरिन्थ्यो ।
लुते सङ्क्रान्तिदेखि ३ दिनसम्म गोरु जोत्न हुँदैन भन्नुको तात्पर्य ती पाल्तु जनावरलाई आराम दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो । बर्खाभरि खेतबारी जोतेका गोरुहरू थाकेका हुन्छन्, आराम चाहिन्छ भन्नको लागि यो चलन चलाएका हुन सक्छ । यस्ता पशुको हेरचाह र संरक्षण गर्नुपर्छ भन्ने चेत हाम्रा पुर्खालाई थियो ।
यस दिन बलेको अगुल्टोलाई चारै दिशामा फाल्दा अमुक गाउँको नामै उच्चारण गरी लैजा भन्ने गरिन्थ्यो । यसबाट त्यो समयमा एकअर्को गाउँप्रतिको आक्रोश व्यक्त हुन्थ्यो । गाउँ गाउँबीच आपसी सम्बन्ध सदैव सौहार्दपूर्ण थिएन । एकले अर्कोलाई दबाउन खोज्ने तत्कालीन परिस्थिति थियो ।
यसैकारण यो पर्वमा अगुल्टो फाल्दा अर्को छिमेकी राज्यप्रतिको द्वेष प्रकट गर्ने एक संस्कार नै बन्न पुग्यो । यसैगरी बर्खाभरि खेती किसानीको सिलसिलामा भएका रिसराग विसङ्गति जस्ता समाजमा देखिएका लुतो पनि यस संस्कार सम्पन्न गर्दा हराउने विश्वास थियो । वास्तवमा यस्तै सामाजिक परम्पराबाट सामाजमा सामूहिक एकता र सहकार्यको भावना उत्पन्न भएको हो ।
हाम्रा प्रत्येक पर्व र संस्कारभित्र अनेकौँ रहस्य लुकेका छन् । लुतो फाल्ने पर्व मनोरञ्जन गराउन, जनचेतना जगाउन, उपलब्ध सामग्रीकै महत्त्व र उपादेयता देखाई प्रयोग गर्न तथा सामाजिक सद्भाव कायम गर्ने एउटा संस्कार हो । यस्ता संस्कारलाई भावी पुस्तासम्म पुर्याउन सकिएमा हाम्रो संस्कृति र मौलिकताको संरक्षणमा सहयोग पुग्दछ ।
(लेखक संस्कृतिविद् हुनुहुन्छ)
-रासस
प्रतिक्रिया दिनुहोस