काठमाडौँ/ राजा मानदेवले चलाएको कान्तिभैरव जात्रा शनिबार मध्यरातदेखि गोकर्णेश्वरमा सुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा यो जात्रा सुरु गर्ने परम्परा छ ।
जात्रा अक्षय तृतीयासम्म लाग्छ । वैशाख कृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासूबुहारी सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्छभन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको साविकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।
कान्तिभैरव जात्राका गुठियारसमेत रहेका उहाँले भन्नुभयो, ‘यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ ।’
ऐतिहासिक जात्रा विधि
जात्रामा भैरव, कुमारी र गणेशको मूर्तिलाई आकर्षकरुपमा सिँगारिएको तीनतले खटमा राखेर विधिपूर्वक पूजा गरिन्छ । त्यसपछि बाजागाजा गीतसङ्गीत र नृत्यका साथ टोल परिक्रमा गराइन्छ ।
चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढकीमा राखेर गुप्तिगणेशमा पुर्याउँछन् । गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथमा राखेर गोकर्णेश्वरको क्षेत्रको पुरानो बस्ती ‘गोकर्ण देशे’को बीचमा लगी बिसाइन्छ ।
गुठियारहरुका अनुसार यसपछि गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाएर पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई राखेर गोकर्णेश्वर क्षेत्रका टोल टोलमा घुमाइन्छ ।
भातको देवता अर्थात् भाते द्यौतालाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक/एकपाथी भातको देवता बनाउँछन् । पाक्दा पाक्दैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा छ ।
मन्दिरमा भातको देवता लिन जात्रामा सरिहहरु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्राको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन् ।
जात्रामा बाजा बजाउने, रथ तान्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायत गुठियार रहने लामो समयदेखि जात्रा हेर्दै आउनुभएकी स्थानीय सङ्गीता श्रेष्ठ बताउनुहुन्छ ।
आमाको मुख हेर्ने भैरव
आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पुर्याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास यस क्षेत्रका मानिसमा लिच्छविकालदेखि रहेको कान्तिभैरव जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट शोध गर्नुभएका वटुराम भण्डारी बताउनुहुन्छ ।
रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दूर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।
रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटी लगायतका स्थानमा पनि बलिसहित पूजा गरिन्छ । सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशेमा राखिन्छ ।
औँसीका दिन साँझ डबलीको दायाँबायाँ गणेश र कुमारी एवं बीचमा भैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन केपूजा गरेपछिमात्रै रथ उठाइन्छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं –४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित भैरवको तान्त्रिक पूजा गरी बलि चढाइन्छ ।
यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजुरमा जुधाएर रथ उठाई डठुलाछीमा लगिन्छ । यस दिन गोकर्णेश्वर नगरपालिकाका १० गाउँका मानिसले पूजा गर्छन् ।
वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ । अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुन्छ ।
जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रसस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोष अन्तर्गतको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन् ।
कान्तिपुर नामकरण भएको जात्रा
यही जात्राको नामबाट कान्तिपुर नगरको नामकरण गरिएको विश्वास गरिन्छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराको विषय उल्लेख गर्नुभएको जात्राको विषयमा स्नातकोत्तर शोध गर्नुभएका भण्डारीले जानकारी दिनुभयो । पुस्तकमा कान्तिभैरवकै नामबाट कान्तिपुर नामाकरण भएको उल्लेख छ ।
–रासस
फोटो सौजन्य : दीपेश श्रेष्ठ फोटोग्राफी को फेसबुक
प्रतिक्रिया दिनुहोस