५ साउन २०८२ सोमबार | 21 Jul 2025 Mon

एउटै मन्दिरमा १३ वटा पहिरो, बचाउन श्रमदान गर्नेको ओइरो



  • सुदीप कुमार ढुङ्गाना
  • ४ साउन २०८२ आईतबार (७ घण्टा अघि)
  • पाठक संख्या १५४
  • भक्तपुर/  मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न सुरु गरिएको पहलले सार्थकता पाउँदै गएको छ । धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको काठमाडौँ उपत्यकामा चारबाराहीमध्ये सबैभन्दा महत्वपूर्ण धार्मिकस्थलका रूपमा चिनिँदै आएको नीलबाराही मन्दिरलाई पहिरोबाट जोगाउन पहल गरिएको हो ।

    नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका अध्यक्ष दीलकृष्ण राजबाहकले विगत १२ वर्षदैखि पहिरोको उच्च जोखिममा परेको मन्दिरको दक्षिण–पश्चिम र पूर्व क्षेत्रमा पहिरो बढ्दै जाँदा बाटो साँघुरिएको बताउनुभयो । उहाँले जात्रा लैजाने मूल सडक १० वर्षदेखि पहिरोले बन्द भएर मन्दिर नै उच्च जोखिममा परेपछि नीलबाराही संरक्षणका लागि श्रमदान र सहयोग जुटेको बताउनुभयो । 

    अध्यक्ष राजबाहकले भन्नुभयो, ‘निलबाराही क्षेत्र संरक्षण गर्न अभियान थालेका हौँ । विगत १२ वर्षदेखि भूक्षयले मन्दिर नै खस्ने जोखिममा पुग्यो ।  स्थानीय सरकार र केन्द्र सरकारलगायत निकायलाई पटकपटक गुहार्दा पनि चासो नदिएपछि हामी जनस्तरबाटै गरौँ भनेर सुरु गरेका छौँ ।’

    एउटामात्र नभई मन्दिर परिसरमा १३ वटा पहिरो गएकाले यसको रोकथाम सुरु गरेकामा अहिलेसम्म पाँचवटाभन्दा बढी पहिरो रोकथाम गरी ३० प्रतिशत कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो ।

    श्रमदान गर्न थिमी, भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर, साँखु, काभ्रे चारैतिरबाट आएका हजारौँको व्यवस्थापनमा समस्या आएपछि दैनिक काम भए पनि जनश्रमदानकै लागि भनेर हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार छुट्याएको उहाँले जानकारी दिनुभयो । 

    श्रमदान गर्न आउनेको लर्को र लय मिलाएर गरिएको काम देख्दा जो कोही पनि आहा..... नभनी रहन सक्दैन । ठाउँ ठाउँमा श्रमदान गर्न आउनेहरुले गरेको खाजाको व्यवस्थाले त्यस क्षेत्रमा वनभोजको चहलपहल जस्तो समेत लाग्ने गर्दछ ।

    श्रमदानमा पुग्नुभएका जोरपाटी माकलबारीका सुरेश श्रेष्ठले भन्नुभयो, ‘श्रमदानकै लागी भनेर १० जना साथीभाइ मिलेर आएको । तर, यहाँत हामिले काम गर्न खोज्यो भने भइरहेको काम पनि बिग्रेला भन्ने लाग्यो । हामी आठ दश जनाले सम्हाल्न सक्ने ठाउँनै पाएनौं ।’

    सहयोगको ओइरो
    आँखैले नभ्याउने ठाडो पहिरो कसैले व्यक्तिगत वा सानो समुहको प्रयासले नियन्त्रण हुन सक्ने अवस्था थिएन । त्यसैले निलबाराही क्षेत्र संरक्षण सरोकार समितिले सरकारी निकायलाई दवाव पुगोस् भन्ने उद्देश्यले साङ्केतिक कार्यक्रम गर्ने योजना बनायो । अनि श्रमदानबाट काम सुरु गर्ने सोचको विकास भयो । 

    तर, अहिले समितिका मानिसहरुनै निलबाराही बचाउन आएको सहयोग देखेर अचम्मित छन् । अध्यक्ष राजबाहक भन्नुहुन्छ, ‘दिनमै हजारौं मानिस आउन थालेपछी हामि त एक पटक आत्तियौँ । कमसेकम उहाँहरूलाई खाना खाजा त खुवाउनु पर्यो । कहाँबाट ल्याउने भन्ने चिन्ता समेत लाग्यो ।’

    अहिले उहाँको मुखमा सन्तुष्टिका रेखाहरू नाचिरहेको प्रस्ट देख्न सकिन्छ । उहाँ थप्नुहुन्छ, ‘हामिले के चाहिँ सहयोग पाएनौं भन्ने थाहै छैन । खाना, पानी, ग्याँस, चामल, चिउरा, सोयाबिन, गोलभेडा, साग, चना, केराउ, बोडी, आलु, भाँडाकुँडालगायत सबै कुरो हामिले पाएका छौँ ।’

    उहाँका अनुसार शनिवार एक दिन श्रमदान गर्न आउनेलाई खाना खुवाउन मात्र दुई लाख देखि दुई लाख ५० हजार रुपैयाँ सम्म लागिरहेको छ । तर नगद चन्दा समेत राम्रै उठेकोले समस्या छैन । 

    अहिले सम्म नगद चन्दा मात्र एक करोड आठ लाख रुपैयाँ भन्दा वढी उठिसकेको अध्यक्ष राजबाहकको भनाई छ । उहाँ थप्नुहुन्छ, ‘हामि पारदर्शिताको लागी हरेक शनिवार वेलुका उठेको चन्दासम्बन्धी भिडियो बनाएर हालिदिने गरेका छौं ।’

    निलबाराहीको जात्रा चलाउने परम्परागत बाटो सबै पहिरोमा परेको छ । थप माटो नबगाओस् भनेर प्लास्टिकले छोपेर राखेका छौँ । त्यो बाटोबाट जात्रा चलाउन नपाएको धेरै वर्ष भइसकेको छ । हरेक वर्ष फागु पूर्णिमाको दिन हुने उक्त जात्रा यसपालि भने पहिरो नियन्त्रण गरेर र बगाएको बाटो पुनर्निर्माण गरेर परम्परागत बाटोबाटै जात्रा चलाउने राजवाहकको योजना छ । 

    उहाँ उत्साहित हुँदै थप्नुहुन्छ, ‘निलबाराहीको पहिरो अव रहँदैन । हामी अहिले बाटो बढाउने र पहिरो गएको ठाउँमा माटो भर्नेमा लागेका छौँ । निलबाराहीलाई श्रद्धा र भक्ति गर्ने सवै सहृदयी मनहरूको सहयोगले एउटा उल्लेख्य कार्य हुन लागेको छ । त्यसको एउटा सिपाही भएको नाताले मेरो हर्षको सिमा छैन ।’

    माटो बोक्ने ट्रकको लर्को
    साँघुरो बाटो श्रमदान गर्न आउनेको लर्कोसंगै माटो बोक्ने ट्रकहरुको लाइन देखेर मानिसहरुलाई कुनै निकै ठुलो आयोजनाको काम भइरहेको अनुमान गर्न सक्छन् ।

    अध्यक्ष राजबाहक भन्नुहुन्छ, ‘हिजो करिव २० वटा जति ट्रक सक्रिय थिए । उनिहरुले सान्थलीदेखि माटो बोक्छन् । धेरैले गाडि पठाइदिनु भएको छ । एक गाडि माटोको हामिले ६ सय ५० रुपैयाँ दिएका छौं । तर कतिपय चालकहरुले चार पाँच टिप माटोको हिसावनै गर्नुहुन्न । कतिपय गाडिलाइनका साथीहरुले काम नभएको समयमा निःशुल्क गाडि पठाइदिनु भएको छ । इटाभट्टाका साहुहरुले पनि गाडि पठाइदिनुभएको छ ।’ 

    निलबाराहीको मन्दिर संगैको पहिरोमा थप माटो नबगाओस् भनेर प्लास्टिकले छोपेर राखेको । पहिला यहाँ बाटो थियो । 

    निलबाराही पुग्ने मानिसहरु गोलामा कर्मि माहुरीहरु भुन्भुनाउँदै काम गरेझैं श्रमदान गर्नेहरुको श्रम देखेर ट्वाँ नपर्ने र जिव्रो नटोक्ने कमै हुन्छन् । हप्ताको एकदिन तपाईँ पनि श्रमदान गर्न जाने की ?