आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ ।
तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् । उनीहरूलाई आत्मविश्वासभन्दा बढी डर छ, आशाभन्दा बढी शङ्का छ, उद्देश्यभन्दा बढी अन्योल छ ।
यस्तो अवस्थामा सकारात्मक सोच नै उनीहरूको जीवनलाई नयाँ दिशा दिनसक्ने एउटै शक्तिशाली उपाय हो । त्यसैले, युवालाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।
आजको प्रतिस्पर्धात्मक युगमा युवा भविष्यप्रति अन्योल, मानसिक तनाव, र असन्तुष्टिको दबाबमा छन् । सामाजिक सञ्जाल, बेरोजगारी, पारिवारिक अपेक्षा र असफलताले उनीहरूमा नकारात्मक सोच विकास गर्न सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा युवामा सकारात्मक सोचको खाँचो गम्भीर र आवश्यक विषय हो ।
सकारात्मक सोच भनेको हरेक परिस्थितिमा आशाको उज्यालो देख्ने सोच हो । यो सोचले व्यक्ति कठिनाइमा डराउनुको सट्टा समाधान खोज्न थाल्छ ।
जब जीवनमा समस्या आउँछ, नकारात्मक सोचले भन्छ, ‘अब केही हुँदैन’, तर सकारात्मक सोच भन्छ, ‘यही समस्या समाधानको नयाँ अवसर हो ।’ सकारात्मक सोच भनेको केबल सुखद् सपना देख्नु मात्र होइन, ती सपना साकार गर्न साहसपूर्वक सङ्घर्ष गर्नु हो ।
सकारात्मक सोच कुनै जादू होइन, तर जीवनलाई सरल, सफल र सन्तुलित बनाउने सशक्त मानसिक अवस्था हो । हरेक परिस्थितिमा उज्यालो देख्न सक्ने दृष्टिकोण विकास गरेमा जीवनका चुनौती पनि अवसर बन्न सक्छन् ।
त्यसैले, सकारात्मक सोच केवल सोचको शैली होइन, यो जीवन जिउने कला हो । ‘म सक्छु’, ‘यो सम्भव छ’ भन्ने भावना जागृत गराउन, असफलतालाई पाठको रूपमा लिने प्रवृत्तिको विकासले नकारात्मक सोच विस्तारै हराउँदै जान्छ । ध्यान, योग वा मननले पनि मानिसको मानसिक स्पष्टता र सकारात्मक ऊर्जा ल्याउँछ ।
नेपाल मात्र होइन, विश्वभर नै युवा पुस्ता मानसिक तनाव, बेरोजगारी, पारिवारिक दबाब र सामाजिक तुलनाको भारमा थिचिएका छन् । उनीहरू सामाजिक सञ्जालमा अरूको झुटो जीवनसँग आफ्नो वास्तविकता तुलना गर्दै आत्मग्लानि र हीन भावना पालिरहेका छन् ।
परिणामस्वरूप, आत्महत्या, मादकपदार्थको दुरुपयोग, अपराधमा संलग्नता र मानसिक रोग दिनदिनै बढ्दो क्रममा छ । यस्तो अवस्थामा उनीहरूलाई केबल शिक्षा दिएर पुग्दैन । उनीहरूलाई मानसिक रूपमा सशक्त बनाउनुपर्छ । सकारात्मक सोचमा आधारित जीवन सीपको प्रशिक्षण अहिलेको यथार्थ आवश्यकता हो ।
सकारात्मक सोचले आत्मविश्वासको विकास गराउँछ । उनीहरू असफलतालाई पनि सिकाइको अवसरका रूपमा लिन्छन् । यसले मानिलाई सङ्कटमा अवसर देख्ने क्षमताको विकास गराउँछ । सङ्कटमा रुने होइन, त्यो अवसरमा रूपान्तरण गर्ने सोच युवामा विकास हुन्छ ।
व्यक्तिको नेतृत्व विकासमा पनि यसले मद्दत गर्दछ । सकारात्मक सोच भएका युवा नेतृत्वको क्षमतामा अगाडि बढ्छन् । उनीहरू समस्या समाधानकर्ता बन्छन्, गुनासो गर्ने होइन ।
यदि युवामा सकारात्मक सोच विकास गरियो भने उनीहरू केबल आफ्नै जीवन सुधार्न सक्ने होइनन्, समाज र राष्ट्रको निर्माणमा पनि महत्वपूर्ण योगदान दिन सक्नेछन् । त्यसैले आजको आवश्यकता भनेको युवालाई सही दिशामा सोच्न प्रेरित गर्नु हो ।
सकारात्मक सोच भएका व्यक्तिले समाजमा पनि विशिष्ट योगदान दिन सक्छन् । उनीहरू समाज सुधार, स्वदेशमै उद्यम स्थापना र राष्ट्र निर्माणमा योगदान दिन सक्षम हुन्छन् । साथै, उनीहरुले अरु व्यक्तिमा सकारात्मक ऊर्जा फैलाउने काममा पनि सकारात्मक सोच भएको व्यक्ति केबल आफू सफल हुँदैन, ऊ वरपर पनि सकारात्मक ऊर्जा फैलाउँछ ।
यसले सामाजिक सद्भाव र एकता बढाउँछ । मानसिक स्वास्थ्यका लागि पनि सकारात्मक सोच हुन आवश्यक छ । यसले तनाब, चिन्ता र डिप्रेसनलाई घटाउँछ । साथै, कुनै समस्यामा आइपरेमा हार मान्नुको सट्टा समाधान खोज्ने प्रेरणा दिन्छ ।
आत्मबल र आत्मविश्वास बढाउने हुँदा आफैँप्रति विश्वास जन्माउँछ, जसले लक्ष्य प्राप्तिमा मद्दत पु¥याउँछ । यसले सकारात्मक दृष्टिकोण राख्न मद्दत गर्ने हुँदा सामाजिक सम्बन्ध सुदृढ हुन्छ । सकारात्मक व्यक्ति जहिले पनि नयाँ अवसरको खोजीमा रहन्छ र नवप्रवर्तनप्रति आफूलाई केन्द्रीत राख्दछ ।
युवामा सकारात्मक सोचको विकास जागृत गराउन प्रशिक्षणको आवश्यकता छ । यसका लागि पहिलो कुरा हाम्रो शिक्षा प्रणालीमा परिवर्तनको खाँचो छ । विद्यालय र कलेजले पाठ्यक्रममा जीवन सीप, सकारात्मक मनोविज्ञान, र भावनात्मक बुद्धिमत्ता जस्ता विषय समावेश गर्नुपर्छ ।
समयसमयमा युवालाई नियमित रूपमा प्रेरणादायी व्यक्तित्वबाट सेमिनार, व्यापार वार्ता, सफलताको कथाजस्ता कार्यक्रम आयोजना गरी आशाको सञ्चार राइराख्नुपर्छ । अनुभवी व्यक्तिबाट व्यक्तिगत मार्गदर्शन दिने मेन्टोरशिप कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
युवाहरुले गलत बाटोमा लाग्ने वा आफ्नो जीवनप्रति नैराश्य भाव राख्नुमा परिवार र समाजको कारण पनि रहेको हुन्छ । त्यसैले परिवारमा खुलेर बोल्ने वातावरण, सन्तुलित संवाद, हौसला दिने संस्कारको विकासमा परिवार र समाजको पनि उत्तिकै भूमिका रहेको हुन्छ । यो आवश्यक छ ।
समाजले युवालाई सुन्न, बुझ्न र मार्गदर्शन गराउन सक्छ । त्यस्तै सामाजिक सञ्जालमा सकारात्मक विचार, प्रेरणादायी भिडियो, लेख, र पोस्टहरूको प्रवद्र्धन गरिएमा त्यसले सकारात्मक नतिजा ल्याउँछ ।
नेपाल जस्तो मुलुक जहाँ जनसङ्ख्याको ठूलो हिस्सा युवामा आधारित छ, त्यहाँ सकारात्मक सोचले देशको दिशा नै बदल्न सक्छ । युवा सोच नै परिवर्तनशील छ, यसलाई सही दिशामा हिँडाउने हो भने त्यो समाज रूपान्तरणको मूल इन्जिन बन्न सक्छ ।
नेपालमा विगतका राजनीतिक, आर्थिक र सामाजिक उतारचढावले धेरै युवा निराश छन् । उनीहरू विदेशी भूमिमा श्रम बेच्न विवश छन् । यदि तिनै युवालाई सकारात्मक सोच, उद्यमशीलता, आत्मनिर्भरता र सम्भावनाको आँखा देखाइयो भने नेपाल आफैँ अवसरको भण्डार बन्न सक्छ ।
आजको अस्वस्थ शैक्षिक र व्यावसायिक प्रतिस्पर्धाले अधिकांश युवामा निराशा फैलाएको छ । अभिभावक र समाजको दबाबले पनि उनीहरूको मनोबल घटाएको पाइन्छ । बढ्दो सामाजिक सञ्जालको प्रयोगले अरुसँग तुलना गर्ने प्रवृत्तिले गर्दा आत्महीनताको भावना पैदा गरेको छ ।
विद्यालय, परिवार र समाजमा प्रेरणात्मक मार्गदर्शन तथा सकारात्मक सोच सिकाउने वातावरणको अभाव छ । यो समस्या समाधानका लागि सर्बप्रथम परिवार, विद्यालय र समुदायबाट नै सकारात्मक सोचको अभ्यास सुरु गर्नु आवश्यक छ ।
हाम्रो शिक्षा प्रणालीमा जीवन मूल्यको महत्वसम्बन्धी पाठ्यसामग्री समावेश गर्नुपर्ने आवश्यकता छ । युवालाई लक्षित गरी प्रेरणादायी कार्यक्रम, तालिम र सेमिनार सञ्चालन गर्न सकिन्छ । सफल व्यक्तिका सङ्घर्ष कथा पनि युवालाई प्रेरणा दिने माध्यम बन्न सक्ने हुँदा त्यस्ता प्रेरक व्यक्तिसँग सत्सँग गराउने वा उनीहरुका बारेमा लेखिएका सामग्री पढ्ने अवसर प्रदान गर्न सकिन्छ ।
युवा शक्ति भनेको राष्ट्र निर्माणको मेरुदण्ड हो । ती युवा जसले साहस, लगनशीलता र दृष्टिकोण बोकेर अघि बढ्छन्, उनीहरूले देशको भविष्य बोकेर हिँडिरहेका हुन्छन् । उनीहरूको कर्म, सङ्घर्ष र नविन सोचले देशलाई समृद्धिको यात्रामा डोर्याउँछ ।
तर, केबल युवाको जोशले मात्र देश बोक्न सम्भव छैन, सरकारले नीति, अवसर र संरचना निर्माण गरेर ढोका खोलिदिनुपर्छ । सरकारको सहकार्यले युवाको ऊर्जा दिशा पाउँछ, अवसरमा बदलिन्छ, र देश समृद्धिको पथमा अगाडि बढ्छ ।
हुन त युवा आफैँले पनि अवसर सिर्जना गर्न सक्दछन्, तर सहकार्य बिना परिवर्तन दिगो हुँदैन । जब युवा र सरकार एउटै लक्ष्यमा सहमत हुन्छन्, तब देश बदलिन्छ, सपना साकार हुन्छ, र इतिहास बन्नसक्छ ।
युवाहरू केबल राष्ट्रका भविष्य हुन् भन्ने वाक्य पुराने भएको छ । आजका युवा वर्तमानका कर्ता हुन् । उनीहरूलाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु भनेको उज्यालो भविष्य निर्माण गर्नु मात्र होइन, आजको समस्याको समाधान पनि हो ।
समाजमा सकारात्मक परिवर्तन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न, बेरोजगारीको समाधान खोज्न र राष्ट्र निर्माणको आधार तयार पार्न सकारात्मक सोच भएको युवाको खाँचो छ ।
यसैले हामी सबै अभिभावक, शिक्षक, नीति निर्माता, उद्यमी, समाजसेवी मिलेर युवामा सकारात्मक सोच विकास गराउने कार्यलाई प्राथमिकता दिनुपर्छ । शिक्षाले ज्ञान दिन्छ, तर सकारात्मक सोचले जीवन बदल्छ । जीवन परिवर्तन नै समाज रूपान्तरणको प्रारम्भ हो ।
–रासस
प्रतिक्रिया दिनुहोस