१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘भग्न भैरव’को भूतले गराएको यात्रा 



  • आफ्नै खबर
  • ७ फागुन २०८० सोमबार (९ महिना अघि)
  • पाठक संख्या ३८०
  • यो यस्तो प्रस्तुति हो, यस्तो पुस्तक हो, जसमा लेखनको आकर्षण लेखन शैली र यस भित्रका पात्र, परिघटना, भूगोललगायत धेरै तत्त्वले तानिरहन्छ - चुम्बकीय आकर्षणले जस्तै गरेर । त्यसमाथि सरल भाषा, मीठो प्रस्तुतिले थप आकर्षित गर्ने नै भयो पाठकलाई । भैरव अर्यालकै हितैषी मित्र रोचक घिमिरेलाई ‘म’ पात्रका रूपमा प्रस्तुत गरिएको उपन्यास ‘भग्न भैरव’ले तानिरहन्छ अन्तिम सम्म ।

    नेपाली साहित्यका प्रसिद्ध हास्यव्यङ्ग्य शिल्पीको रुपमा विख्यात छन् भैरव अर्याल । उनैको जीवनमा आधारित यो आख्यान आत्मपरक शैलीमा छ । ४० वर्षको अल्पायुमै अवशान रोजे अर्यालले । लेखन अवधि त तीन दशक पनि पूरा भएन । जीवनका उतारचढाव, सङ्घर्ष÷सम्बन्ध, मानसिक उद्वेग आदिलाई लेखक प्रोल्लास सिन्धुलीयले रोचक शैलीमा प्रस्तुत गरेका छन् । 
    बुकहिलले बजारमा ल्याएको ३०२ पृष्ठको उपन्यास एकै बसाइमा सकियो । तिरेको ५ सय ५५ रुपैयाँले सुखद् अनुभूति छोडेर गयो । काउकुती, गलबन्दी, जयभुँडी, दश औतार आदि पढेर हुर्केको यो पंक्तिकारलाई गहिरोसँग मथिङ्गल हल्लाइरहे भैरवलाई सघाउने र सताउने पात्रहरूले । 

    आलोक चालिसे
    आलोक चालिसे

    सिर्जनामा रमाउने उनका इच्छा–आकांक्षा र सपनाविरुद्ध परिवारको आवश्यकतासामु बिसाउनुपरेको आत्मसमर्पणले । पोखराको एउटा स्कुलका उनको विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर भएको कलिलो मृत्युले । दुई कलिला भाइहरूको एकपछि अर्को गरी भएको मृत्युको आँधीबेहरीले । अभावले र जिम्मेवारीले । किशोर वयमै सुरु भएको घाँटी दुख्ने समस्याले । आवाजको असहजताले । असफल उपचारले । घरको बुइँगलको झ्यालबाट फालहालेर खुट्टा र टाउकोमा लागेको चोटले ।

    ‘जमुनामा आफूलाई विसर्जित गरिदिने’हतास मनस्थितिले । हरिद्वार पुग्दा ‘गंगामा हाम्फालेर’मर्ने बिचारले । उनमा पैदा भइरहेको नैराश्यले । नारी स्वरबाट फेरिएको ‘गधा’ स्वरले ।  आफ्नो ‘तालुमा पिँडालु’ फलेको उनको अभिव्यक्तिले । ‘गोरखापत्रमा पसेको भूत’ र ‘आफूलाई पनि खान सक्ने’त्रासले ।  श्रम शोषणले । न्युजिल्यान्डमा डेढबर्से पत्रकारिता अध्ययन गर्ने अवसरबाट जबर्जस्ती वञ्चित गराइँदा उनले भोगेको पिडाले । अर्यालका परिवारका सदस्य–आमा, दिदीहरू, जेठा छोरा दीपक, माइला छोरा प्रकाश, गुमनाम कान्छो छोरा सौरभ, भतिजा निर्मल आदिको झल्झली आएको अनुहारले ।

    जोरपाटी, चामुण्डा मन्दिर जाने बाटोसँगै रहेको भैरव अर्यालको घरले ! दक्षिण ढोकाको भैरव अर्याल पुस्तकालयले । नयाँवस्तीको भैरव पुरस्कार गुठी  तथा स्मृति भवनले । गोकर्णको देशे गाउँ जाँदा बाटोमा पर्ने बागमतीको ककारोले !  अनि परिचित पात्रहरू टङालका रोचक घिमिरे, न्यूरोडबाट पुर्बोत्तर भेग – त्यो समयको दुर्गम काँठ आरुबारीका रमेश विकल, बेशीगाउँका डा. नवराज चालिसेआदिले । समग्रमा ‘भग्न भैरव’ले ।

    अर्यालको निधन (आफैंलाई सक्ने निर्णय) विसं २०३३, आश्विनमा भएको हो । लेखक सिन्धुलीय २ वर्षका मात्रै रहेछन्, म त वर्षदिन पनि पुगेको रहेनछु । तरै पनि यो पुस्ताभित्र यसरी अड्किएछु कि, भग्न भैरवले रन्थनिएको दिमाग लिएर एक साता पछि न्युरोडको पीपल बोट, गोरखापत्र संस्थान र त्यो सेरोफेरो एक पटक फेरी पुगेर भैरव भएर अनुभव लिन मन लाग्यो । 
    साँझको समय, साउनको महिना, थोरै परिचित् भेटघाट, थुप्रै अपरिचित मान्छे र अनेक गतिविधि । रातको साँढे नौ बज्यो । त्यो पुस्तक र पात्रहरूसँगको कल्पनामा हराइरह्यो अर्धचेतन मन । फेरी झक्झक्याइ रह्यो चेतन मनले घर फर्किनको लागि । ‘रातको एघार बजे पनि हतार हुँदैनथ्यो विकललाई घर फर्किन ।’ रोचक घिमिरे लगायत थुप्रै अग्रजहरूबाट सुन्दै आएको हुँ धेरै पटक। 

    त्यो समयको बाध्यता थियो पैदल हिँडेर घर फर्किनु । अहिले भने भग्न भैरवकै प्रभावले मेरा पैतालाहरू पनि टङ्गाल तिर लस्किए रत्नपार्क, जमल कमलपोखरी हुँदै । यो उपन्यास अगाडिनै पिताजी विजय चालिसेको सम्पादनमा निस्केको ‘सम्झना’ भैरव स्मृति अंक, रोचक घिमिरेको संस्मरण सङ्ग्रह ‘सम्झनामा फक्रिएका थुँगाहरू’ लगायत भैरव अर्यालसँग जोडिएका थुप्रै आलेखहरू पढिसकेकोले नयाँ प्रसङ्गको साथमा पूर्वपठनको पुनर्ताजगी गर्यो यो उपन्यासले । विकलले पानी रङका सशक्त चित्रकार मोहन खड्काको संस्मरणमा लेखेका वाक्यले पनि नमिठोसँग झस्कायो टङाल नपुग्दै – ‘जिन्दगीमा तीन पटक कोक्किएर रोएको छु: माहिलो छोरो शेखरको बिछोडमा, भैरवको अवशानमा र मोहनको मृत्युमा ।’ 

    टङ्गालमा घिमिरे निवास अगाडि अडिएर माथितिर हेरेँ, रातको झन्डै एघार बजिसकेको थियो । भैरव, विकलहरू भएको भए अवश्य पनि बोलाउथे होला, ‘ए रोचक’ ! मैले त्यो दुस्साहस कसरी गर्नु ? प्रतीक – सुधीरदाइको नाम बोलाउने आँट पनि आएन । यतैकतै नजिकै रहेको डा. नवराज चालिसेको आवासलाई पनि सम्झिएँ एक पटक । अनि लागेँ भत्केको पुल हुँदै चाबहिलतिर । बालेनको शहर पनि यसरी छाम्ने अवसर मिल्यो, भग्न भैरवको भूतसँगै । भुस्याहा कुकुरले पनि लखेटेनन भैरवको समयमा जस्तो । अँध्यारा गल्लीहरू पनि थिएनन् उस वेलाको झैं । न त सुरक्षाको नै डर महसुस भयो । 

    चुच्चेपाटी पुगेपछि एकै छिन अलमल्ल परें, जोरपाटी, चामुण्डा मन्दिर जाने बाँटो हुँदै भैरव अर्यालको घर हुँदै आरुबारी उक्लिने कि, उनकै पुर्ख्यौली थलो दक्षिण ढोका पनि पुग्ने कि ? बेशीगाउँ हुँदै बागमतीको ककारो पुगौं कि तीनचुले हुँदै आरुबारी ?  भैरवको दुखेको मनले मलाई पनि चसक्क पार्यो । उनलाई आहत बनाएको पुर्ख्यौली थलोको भूगोलसँग पनि बिरक्त लागेर आयो । लघुताभास उत्पन्न गराएको चामुण्डा मन्दिर जाने बाटोतिर पनि हौसिएनन् पाइला । मनोरोगी बनाएर उनलाई निल्ने गोकर्णको बागमतीको ककारोसँग पनि आक्रोश उम्लियो । हातमा पुस्तक र मनभरि अनेकन् भावना बोकेर झन्डै मध्यरातमा पुगेँ बासस्थान ।  

    ‘साबिती’ र ‘पटाक्षेप’बाट सुरु गरी छोटो छरितो ७० अध्यायमा भैरव अर्यालको जीवनलाई पस्केर ‘आधा मान्छे’ र ‘कथोपकथन’ गरी २९८ पृष्ठमा उपन्यास टुङ्गिएको छ ।  शीर्षक ‘भग्न भैरव’ले उनको पीडालाई समेटेको जस्तो लाग्छ । एउटा समयको स्रष्टा माथि अर्को समयका लेखकले नभेटेरै पनि आख्यानीकरण गर्दै पाठकलाई एउटा मिठो यात्रामा लान सफल सिन्धुलीयको यो कृति र उनको मेहनत प्रशंसा योग्य छ । 


    गोकर्णेश्वर, आरुबारी
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?