१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

टोकियोमा ‘महाकाल’लाई भेट्दा



  • आफ्नै खबर
  • ३ चैत २०८० शनिबार (९ महिना अघि)
  • पाठक संख्या ३२४
  • सुदीप अधिकारी

    हाम्रो तीर्थयात्रा टोली यो वर्षको प्रथम धार्मिक यात्राको गन्तव्यबारे गम्दै थियो । टोकियोवरपर भने अझै हिउँ बाँकी रहिरहेकाले गाडीमा जाँदा विशेष व्यवस्था (हिउँ थेग्ने टायर आदि) गर्नुपर्ने देखियो । त्यसैले यसपालिको हाम्रो तीर्थयात्रा टोकियोनजिकका मन्दिरमा केन्द्रित गर्यौ, जहाँ ट्रेनबाट सजिलै पुगियोस् । जापानी मन्दिर र जिन्जाबारे विशेष जानकार मित्र श्री ताइगाजीको सुझावअनुसार यसपालि दुई मन्दिर घुम्ने कार्यक्रम पक्का भयो ।

    पहिलो जिन्दाई मन्दिर । टोकियो सिन्जिकुबाट ट्रेनमा झन्डै आधा घन्टामै पुगिने यो मन्दिर टोकियोका अति पुराना मन्दिरहरूमध्ये एक हो । यहाँ घरायसी सुख–शान्ति, नराम्रो छायाबाट बच्न र व्यापार वृद्धिका लागि प्रार्थना गरिने रहेछ । आठौँ शताब्दीदेखिको बुद्धको मूर्तिलाई संरक्षित गरी राखिएको रहेछ, जुन जापानकै महत्वपूर्ण सांस्कृतिक सम्पदा पनि हो । यसलाई ‘हाकुहो बुद्ध’ भनिने जानकारी पाइयो । मन्दिरपरिसरमा विभिन्न प्रयोजनका लागि छुट्टाछुट्टै भवन रहेछन् । मुख्य भवनलाई ‘गान्जान दाइसी दो’ भनिदोरहेछ र यहाँ दिनहुँ ‘होम’ हालिँदो रहेछ । ‘होम’ हाल्नुको अर्थचाहिँ हाम्रा भौतिक इच्छा र चाहनालाई हवन गरिने ‘चरू’को रूपमा बुद्धको ज्ञानरूपी आगोमा जलाएर, भगवानको आशीर्वाद प्राप्त गर्नु हो । यो ‘होम’ हालिने र पाठ गरिनेचाहिँ प्रत्येक दिन, निश्चित समयमा हुने गर्छ । सहभागी हुन चाहनेले उही दिन केही समयअघि अथवा केही दिनअघि नै आवश्यक दस्तुर तिरेर आफ्नो नाम र उद्देश्य लेखाउनुपर्ने रहेछ ।

    गान्जान दाइसी नामका ठूला सन्त रहेछन् । उनैले मन्दिरहरूमा ‘उमिकुजी’ अर्थात् त्यस वर्षको भाग्य हेरिने चलन चलाएका रहेछन् । बौद्ध धर्मको प्रवद्र्धन गर्दै समाजलाई सही मार्गमा डोर्याउन उनको उच्चतम योगदान रहेछ । त्यसैले पनि होला, कदरस्वरूप झन्डै दुई मिटर अग्लो सालिक स्थापना गरिएको रहेछ । यसलाई जापानकै सन्दर्भमा बौद्ध धार्मिक गुरुको ‘सबैभन्दा ठूलो’ सालिक मानिँदो रहेछ ।

    यो मन्दिर अवस्थित क्षेत्र स्वच्छ पानी र वातावरणका लागि पनि प्रसिद्ध रहेछ । त्यसैले सदियौँदेखि यहाँ फापरबाट बनाइएको चाउचाउ (सोबा) खाने गरिन्छ । हामी पनि पसल चहार्न थाल्यौँ । ‘ए त्यहाँ त हातैले पिठो बेल्दै हुन् कि ?’ साथी दीपकले उत्सुकता देखाउनुभयो । नभन्दै, त्यहाँ केही पसलमा हातैले फापरको पिठो पेल्दै रोटी बेलेर चाउचाउ जस्तै त्यान्द्रो बनाउँदै थिए । हामी एउटा पसलभित्र छिर्यौँ। साहुनीले ‘आइनुहोस् आउनुहोस्, हामीकहाँ अंग्रेजी मेन्यु पनि छ’ भन्दै बोलाएर, अगेनोपारिको पारिलो घाम आउने सिटतिर डोहोर्यैन्। साथी डबलजीले स्थानीय तरकारी मिसाएको, ताइगाजी र दीपकजीले शुद्ध सोबा मात्रै र मैले पनि केही जरादार स्थानीय तरकारी मिसाएको सोबा खायौँ । निकै स्वादिलो लाग्यो । 
    त्यसपछि तातोपानीको ओनसेन गयौँ । त्यहाँको प्रसिद्ध ओनसेन रहेछ । पानी शुद्ध जमिनमुनिकै भएकाले खनिज पदार्थ भरपूर भएर होला निख्खर कालो देखिन्थ्यो । हामी सबैले निकै स्फूर्ति अनुभव गर्यौं। 


    समय अझै बाँकी भएको र त्यही ट्रेनरुटमै अर्को प्रसिद्ध मन्दिर (ताकाहाता) भएकाले योजनामुताबिक हामी त्यतातिर मोडियौँ । ताकाहाता मन्दिर, सिंगोन बौद्धमार्गी, चिसान साम्प्रदायको मुख्य मन्दिर रहेछ र यसलाई ‘ताकाहाता फुदोसोन’ नामले पनि चिनिँदोरहेछ । यो मन्दिरको इतिहास खोतल्ने हो भने आठौँ शताब्दीमै पुग्नुपर्ने रहेछ । समय–समयका आगलागी, प्राकृतिक प्रकोप आदिबाट जल्दै, ढल्दै गर्दै गए पनि त्यसताकाका पुरोहित, राज्य–संयन्त्र र जनता काँधमा काँध मिलाएर पुनर्निर्माणमा जुटेकाले यति परिष्कृत मन्दिरपरिसर अहिले हाम्रोअगाडि उभिएको पाइयो ।

    मूल मन्दिरमा धुप बालेर आराधना गरेपछि अर्को मन्दिर हेर्दै थियौँ, नजिकै रहेकी मन्दिर कर्मचारीले ‘भित्र गएर आशीर्वाद माग्न पनि मिल्छ’ भन्ने सुझाइन् । साथी डबलले सधैँझैँ उसुकता देखाउनुभयो र हामी पनि भित्र पुग्यौँ । म अहिलेसम्म मन्दिरको भित्रचाहिँ प्रवेश गरेको थिइनँ । मुख्य देवताको अगाडि एउटा निश्चित ठाउँमा बसेर एक ताली बजायो भने अचम्मसँग त्यसको तरंग मात्रै हामीकहाँ फर्केर आउने रहेछ, आवाजको प्रतिध्वनिचाहिँ छैन । यो यहाँ मात्रै हो वा अरू मन्दिरमा पनि हुन्छ, भन्न सकिएन, तर साँच्चै अलौकिक अनुभव प्राप्त भयो । भित्र भएकाले, फोटो खिच्न निषेध रहेछ । 
    तब म अचम्ममा परेँ जब सरस्वती माता बेन्जाइतेनु पनि देखेँ । भित्रै अरू कोठामा फरक–फरक पूजाका लागि तयार पारिएका सामान, अरू मन्दिरका प्रतिस्थापन, गुरुका फोटाहरू पनि थिए । त्यहाँबाट नजिकै अर्को पाँचतले प्यागोडा मन्दिरको पनि अवलोकन गर्यौं । त्यसकै भुइँतलामा पुग्दा त महाकाल महादेवको विशाल मूर्ति । नेपालतिर देखिँदैन, तर आठ हात भएको, त्रिशूल, नाग र अन्य लिएको भयानक महाकालको मूर्ति रहेछ ।

    अलि पर विनायकको मन्दिरको पनि दर्शन पाइयो । सँगै एक विशेष गुरुको मन्दिर थियो (कोया सान) उहाँले सानै उमेरमा चीन गएर, एक वर्षभित्रै त्यहाँको सबैभन्दा उच्चकोटिको गुरु बनेर जापान आई, यहाँ आफ्ना चेलाहरू बनाई धर्मको विस्तार गर्नुभएको रहेछ । अझै पनि उहाँ जीवितै समाधिमा रहेको विश्वास गरिँदोरहेछ ।

    नजिकै फेरि सरस्वती माताको अर्को मन्दिर पनि रहेछ । यो ठाउँ नेपालको दरबार स्क्वायरजस्तै लाग्यो । विभिन्न कालखण्डमा विभिन्न मन्दिर थपिँदै आजको दिनसम्म आइपुगेको रहेछ । यहाँको अर्काे रोचक पक्षचाहिँ यहाँ प्रत्येक महिनाको दोस्रो आइतबार हाटबजार लाग्ने रहेछ । हामी ठ्याक्कै त्यही समयमा पुगेछौँ । अक्सर पुराना र प्रयोग नभएका सामान, हातले बनाएका कलात्मक वस्तुहरू, लत्ताकपडा निकै सस्तो मोलमा, कतिपय त सित्तै पनि कारोबार भएको देखियो । एक वृद्धाआमा पोते, मुगाजस्ता वस्तुबाट हस्तनिर्मित थुप्रै सामान बेच्दै हुनुहुँदो रहेछ । औँठी, नेकलेस, क्लिप आदि । साँच्चै नै चलिहाल्लान् झैँ लाग्ने कुकुर, बिरालाका साना आकृतिले बनेको साँचो झुन्ड्याउनेतिर मेरो आँखा गयो । दुईवटा किनेँ । आमैले निकै खुसी भएर, कागजले बनेका अरू दुईटा सामान सित्तैमा र थुप्रै आशीर्वचन पनि दिनुभयो । 

    हाल : टोकियो
    (सुदीप अधिकारी विगत दुइ दशक भन्दा लामो समय जापानलाई कर्मथलो बनाएर सूचना  प्रविधि क्षेत्रमा कार्यरत हुनुहुन्छ । सँ.)  

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?