विनोद दहाललाई मैले गोरखापत्रमैं पहिलोपल्ट चिनेको हुँ । मुना पत्रिकामा भाषासम्पादक वा छपाइ संशोधकका रूपमा छोटो समय प्रवेश गरेका विनोद दहालले त्यहाँ केही समय मात्र बिताएजस्तो लाग्छ । आउने, आफ्नो काम इमान्दारीका साथ सम्पन्न गर्ने स्वभावका विनोद दहालले संस्थानभित्रैका सम्पादक, पत्रकार र सहकर्मीहरूसँग पनि त्यत्तिको भेटघाट र घुलमिल गरेजस्तो मलाई लाग्दैन । मीठो मुस्कानसहितको मृदु तर सङ्क्षिप्त संवाद उनको स्वभावगत विशेषता भएजस्तो लाग्छ मलाई !
लामो समयसम्म कुनै सम्पर्कमा नरहेका विनोदजीसँग यता आएर विभिन्न साहित्यिक कार्यक्रमहरूमा भेटघाट हुनथाल्यो । त्यस्तैमा एक विहान विनोदजीलाई आफ्ना र पत्रकार–साहित्यकार मित्र पुरुषोत्तम दहालजीका कृतिहरूको कोसेलीसहित आफ्नै घरदैलोमा भेट्ने अवसर जुट्यो ! त्यस अघि मुहारपुस्तिकामा केही फुटकर कविता बाहेक मैले पढ्न पाएको थिइन । त्यतिबेला “ओखलढुङ्गाः सशस्त्र क्रान्ति पृष्ठभूमि, कारण र परिणाम (२०७२)”, “भुईचालो (गीतीकाव्य, २०७२)”, “नेपालको लोकतान्त्रिक आन्दोलनमा ओखलढुङ्गा(२०७३)”, “टाँकघर (२०७८)” “अन्तरङ्ग (केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श २०७९)” जस्ता विविध विषयका पाँचवटा गहन कृति एकमुष्ट पाएपछि म अचम्भित बनें– ओहो, यति धेरै कृति सिर्जना गरिसकेको रहेछन् विनोदजीले !
“भुईचालो”, “टाँकघर” र “लालीगुराँस” (बालकविता सङ्ग्रह २०७०) ले स्पष्टसँग उनको साहित्य लेखनमा अभिरुचि देखाइरहेका थिए भने “अन्तरङ्ग केही अग्रणी व्यक्तिहरूको विमर्श २०७९)” उनको अन्तरवार्ताकार तथा साहित्यिक पत्रकारको व्यक्तित्व प्रकट गरिरहेका थिए । उता “शहीद स्मृतिग्रन्थ” (संयुक्तलेखन, २०६४) का साथै “ओखलढुङ्गा सशस्त्र क्रान्तिः पृष्ठभूमि, कारण र परिणाम (२०७२) र “नेपालको लोकतान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको इतिहास (२०७३)”ले उनको शोधअनुसन्धान प्रियतालाई उजागर गरेका थिए । अझ उनका सबै शोध–अनुसन्धान पनि आफू जन्मेको जिल्ला ओखलढुङ्गामाथि नै केन्द्रित रहेको पाइँदा उनीमा रहेको आफू जन्मेको माटोप्रतिको समर्पण भाव प्रकट भएजस्तो लाग्छ ।
यसरी उनको रुचि साहित्यका अतिरिक्त इतिहाससम्बद्ध शोध–अनुसन्धान तर्फ विशेष रूपमा रहेको देखिन्छ । उनको पहिलो सिर्जनात्मक अभ्यास नै टिम्बुरबोटे काण्डका शहीदहरूको अध्ययन–अनुसन्धान गरी “शहीद स्मृतिग्रन्थ” (संयुक्तलेखन, २०६४) जस्तो अनुसन्धानपरक सिर्जना गर्नमा केन्द्रित रह्यो । टिम्बुरबोटे काण्ड नेपालको इतिहासमा कहिल्यै नबिर्सने घटना हो; स्वतन्त्रता आन्दोलनमाथिको दमनको एउटा क्रूर इतिहास हो । नेपाली काङ्ग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरलाको नेतृत्वमा भएको आन्दोलनमा होमिएका १३ जना होनहार कार्यकर्ताको हत्याको इतिहास हो । २०३१ साल पुस १ गते सोलुखुम्बु जिल्लाको तिङ्गला गाउँ नजिकको टिम्बुरबोटे जङ्गलमा आश्रय लिएर बसेका आन्दोलनकारीहरूमाथि तत्कालीन सत्ताले क्रूर आक्रमण गरेर राम–लक्षमण लगायतका १३ जनाको हत्या गरेको थियो । त्यतिबेला सत्ता आफैंले गराएको टिम्बुरबोटे, सुखानीजस्ता अनेकौं हत्याकाण्ड भेटिन्छन् ।
यो टिम्बुरबोटे काण्डको अनुसन्धानपरक ओखरबोटेमा शहादत प्रप्त गर्ने शहीदहरूको खोजपरक स्मृतिका अतिरिक्त उनका अन्य दुईवटा अनुसन्धानमूलक कृति प्रकाशनमा आएका छन् । तीमध्ये पहिलो “ओखलढुङ्गा सशस्त्र क्रान्तिः पृष्ठभूमि, कारण र परिणाम (२०७२)” मा लेखकले नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सशस्त्र आन्दोलनका क्रममा ओखलढुङ्गाले दिएको योगदानको इतिहास केलाएका छन् । दोस्रो, “नेपालको लोकतान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको इतिहास (२०७३)” शीर्षक कृतिमा सातसालपछिको समग्र नेपाली प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको ऐतिहासिक आकलन गरिएको छ । यी तीनैवटा इतिहासपरक खोज अनुसन्धान नेपालको यथार्थ इतिहास लेखनमा महत्वपूर्ण स्रोत सामग्री बन्नेछन् भन्ने विश्वास गर्न सकिन्छ ।
जसरी उनको लेखन बालकविताबाट प्रारम्भ भयो पत्रकारिताको सेवा पनि बाल पत्रकारिताबाट नै भयो । सुरुमा मासिक बालपत्रिकाबाट सुरुभएको उनको पत्रकारिता जीवन देउराली, राजधानी हुँदै अहिले हिमालय टाइम्स दैनिकमा आएर स्थापित भएको छ । अखबारी पत्रकारितामा स्थापित विनोद दहालको रुचि र संलग्नता भने साहित्यिक पत्रकारिता र साहित्य लेखन तर्फ नै बढी देखिन्छ ।
यसैले लेखकका अन्य विधागत कृतिहरूको सामान्य चर्चा पछि साहित्यका दुई कृति बारे केही उल्लेख गर्न चाहन्छु । पहिलो सन्दर्भ लिउँ “टाँकघर (२०७८)” शीर्षक कवितासङ्ग्रहको । चालीसवटा मझ्यौला खालका कविताहरू सङ्गृहीत सवासय पृष्ठको पुस्तिका छत्तीस पृष्ठ भूमिका, शुभकामना र प्रकाशकीयहरूले ढाकेको छ । यो कविताकृति सङ्ग्रह मातृवन्दना अर्थात मातृत्वको वन्दनाबाट प्रारम्भ हुन्छ र राष्ट्रद्रोहीतर्फ औंला ठड्याएर विश्राम लिन्छ । किन भने पहिलो कविताले मातृवन्दना गरेको छ । मातृजातिले सन्तानका लागि गरेका त्यागको महिमागान गरेको छ । र समग्रमा श्रृष्टिकै महिमा गान गरेको छ । कति सरल र गहिरो लाग्छ आमाप्रतिको उनको यो समर्पण –
आफ्नो अनुहारको ऐना ।
तिनको आँखामा देख्नेहरू ।
हो, तिनै हुन् आमा !
सुरुको पहिलो कविताले जसरी आमाको त्यागलाई महिमामण्डित गरेको छ, त्यसरी नै अन्तिम कविताले आमासमान राष्ट्र र राष्ट्रियताको विपक्षमा लाग्नेहरूप्रति कडा चेतावनी दिएका छन् । राष्ट्रियताको जरो काटेर माटो खोस्रिरहेका राष्ट्रद्रोहीहरूका विरुद्ध सचेतनताको औंला ठड्याउँदै कवि दहाल पाठकलाई सचेत गराउँदछन्– “जरा खोस्रिएर बसेका छन्, लाखापाखा लागेर खोर्सानीबारीमा ती गभाराहरू !”
यसरी कवि दहालले मातृसत्ता र राष्ट्रिय स्वभिमानप्रति चनाखो र र सम्मानभाव प्रकट गर्दै विम्व र प्रतीकहरूको सुन्दर प्रयोग गरेका छन् । उदाहरणमा यी दुई हरफ नै पर्याप्त होला –“बुद्धलाई शान्ति चाहियो सुरक्षा चाहियो !” हो त, सोच्नुहोस् त– कुन अवस्थामा पुग्यो हाम्रो देश ? जहाँ बुद्धले संसारलाई सहिष्णु र शान्तिप्रिय बनाउन बाटो देखाए । त्यही देशमा आज हामी अशान्त र अशुरक्षित रहन अभिशप्त छौं । लाग्छ, कविताले भनेजस्तै बुद्ध स्वयम् शान्ति र सुरक्षा खोज्नु पर्ने अवस्थामा पुगेका छन् आज । यसबाट प्रश्न उठ्छ, हामी हाम्रो विशिष्ट सभ्यतालाई कतातिर लैजाँदै छौं ?
यी कविताहरूमा कवि दहाल कतै सफलताका मार्ग अवरुद्ध गर्ने लेउ लागेका चिप्ला सिँढीहरूप्रति आक्रोश प्रकट गर्छन, कतै वादल छेडेर विकास र उन्नतिको शिखर चढ्ने सपना देख्छन् । यी कविता सङ्ग्रहका रचनाहरू राष्ट्रमा विद्यमान् असमानता, अशान्ति असुरक्षा र सुशासन तथा प्रजातान्त्रिक संस्कार र अभ्यासमा रहेका कमीकमजोरीलाई प्रष्ट्याउन पनि पछि परेका छैनन् । दहालको संवेदनशील कवि मन यस्ता कुराबाट पीडीत र व्यथित देन्छिन् र पनि उनका कविता दरिलो विम्ब र प्रतीकका माध्यले सशक्त बनेका छन् । दार्शनिक पृष्ठभूमिलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । लाग्छ, कविले सृष्टि, स्थिति र संहारका तीन अपरिहार्य शक्तिको शाश्वत सत्यलाई यस सङ्ग्रहका कविताहरूको माध्यमद्वारा प्रतीकात्मक अर्थबोथ गराएका छन् ।
यसर्थ विम्ब र प्रतीकहरूको प्रयोगमा कवि दहाल निकै सफल, कुशल र प्रभावकारी देखिएका छन् । यो नै उनको सबैभन्दा ठूलो सफलता हो । सङ्कलनको शीर्ष कविता “टाँकघर” मा कविले टाँकलाई प्रकृति र टाँकघरलाई प्रकृतिको प्रतीकका रूपमा उभ्याएर सृष्टि र सभ्यताको यात्रालाई सङ्केत गरेका छन् । यति भन्दै विनोदका कलमबाट सिर्जित बारुद, बुद्ध र म, टाँकघर, एक हुल कागहरूजस्ता कविताहरू फेरि फेरि पनि पढ्नपाइयोस् भन्ने अपेक्षा गर्दछु ।
उनको अर्को कृति “भुइँचालो–२०७२” गीतिकाव्य २०७० सालको महाभूकम्प बारे गेयात्मक रुपमा लेखिएको छ । २०७२ साल वैशाख १२ गते मध्याह्नमा आएको त्यो महाभूकम्पले ठूलो विनाश निम्त्यायो । तिनै विनाशका कथा, व्यथा, पीडा र छटपटीलाई कवि दहालले यस गीतिकाव्यमा आवाज दिएका छन् । त्यसबाट कति बेघर बने, कतिका सिउँदो मेटिए । कतिले बाबु, आमा गुमाएर अनाथ बने । कतिले आफ्ना सन्तान गुमाए । यसबाट भएको भौतिक क्षतिको त पूर्ति गर्न सकिएला, ती विछोडका पीडाहरूलाई त कुनै पनि कुराले क्षतिपूर्ति गर्नसक्दैन । यिनै पीडालाई कवि दहालले सुललित गीति छन्दमा अभिव्यक्ति दिएका छन् । यसरी प्रत्यक्ष–परोक्ष पीडा र दुष्प्रभावबाट आक्रान्त बनेको सिङ्गो देश र जनताका त्रासदीपूर्ण क्षणलाई कवि दहालले “भुइँचालो” गीतिकाव्य रूपमा अभिलेखन गरेका छन्, जुन स्वागतयोग्य कुरा हो ।
तेह्र परिच्छेदमा लेखिएको यो गीतिकाव्य २०७२ साल वैशाख १२ गते भूकम्प आउँदाको स्थितिवर्णनबाट प्रारम्भ गरिएको छ भने अन्तिम परिच्छेदमा भूकम्पबाट जोगिने सावधानीका विषयबारे जानकारी गराइएको छ । कृतिमा पहिलेका भूकम्पहरू, यसका अनुभूति, भूकम्पका सम्बन्धमा लोकमान्यता र विश्वास, वैज्ञानिक पक्ष, पराकम्पन र तथ्यतथ्याङ्क, उद्धार कार्य र राहतका सवल दुर्वल पक्ष, पुनर्निमाण र पुर्नस्थापनजस्ता विषयहरूलाई समेटिएका छन् ।
प्रष्ट छ, गद्य र पद्य दुवैमा समान रूपले कलम चलाउने सर्जक हुन् विनोद दहाल ’वत्स’ । सरल, सहज संप्रेष्य भाव र भाषाका सर्जक विनोदका सृजनात्मक प्रतिभा उल्लेख्य नै रहेको छ र भविष्यमा अरु प्रखर रूपमा अगि बढ्दै जाने विश्वास गर्न सकिन्छ । यो छोटो चर्चामा सबै कविताको विषद् अध्ययन सम्भव हुने कुरा होइन । यो उनका काव्यशक्तिको झल्याकझुलुक दिग्दर्शन मात्र हो । अस्तु !
२०८० चैत ९
विजय निवास, आरुबारी
प्रतिक्रिया दिनुहोस