१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

दारबाट बनेको ठेकीलाई बजार अभाव



  • आफ्नै खबर
  • १२ चैत २०८० सोमबार (८ महिना अघि)
  • पाठक संख्या १०६
  • म्याग्दी/ पहाडी भेगबाट बसाइँसराइ बढ्दै गएपछि स्थानीय उत्पादनले पनि बजार पाउन छोडेका छन् । वैदेशिक रोजगारीका कारण उत्पादन गर्नेभन्दा किनेर खाने प्रवृत्ति बढ्दै गएसँगै दुग्ध पदार्थसँग नजिकको सम्बन्ध भएका ठेकी बनाउने पेसासमेत संकटमा पर्न थालेको छ । 


    कुनै समय घरघरमा बिहानै घार्रघुर्र पारेर मोही पार्ने प्रचलन अबका पुस्तालाई चलचित्रमार्फत देखाउनुपर्ने अवस्था आइसकेको छ । करिब एक दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको संख्या बाक्लै थियो । गोठमा रहेका पशुचौपाया र ठेकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । 


    अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।


    रैथाने सीप प्रयोग गरी जंगलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै संकटमा पर्ने अवस्था आएको चुँदारा व्यवसायीको भनाइ छ । गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेकीको प्रयोग हुन थालेपछि आफ्नो पेसा संकटमा परेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आएका बुर्तिबाङका नोठबहादुर विकले बताए ।


    काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुँद्ने कामलाई गाउँघरमा चुँदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रूपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि संकटमा पर्न थालेको उनको भनाइ छ ।


    विकले भने, ‘व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको छ । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ ।’


    वर्षौँदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका– ५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०–१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दारबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए । 
    आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ । काठका सामान बनाएर मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको केही वर्ष अघिसम्मको विगत अब सम्झना मात्र भएको उनको भनाइ छ । 


    मिहिनेत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरू बताउँछन् । विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुङ (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गरिन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?