१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित



  • रासस
  • १८ चैत २०८० आईतबार (८ महिना अघि)
  • पाठक संख्या २२
  • सर्लाही/  उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । 

    मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गर्नुभयो । प्रतिकिलो ६ सय ५० रुपैयाँमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका– ४ का किसान राम विश्वास महतोले बताउनुभयो । ‘धेरै फल्ने आसमा महँगो मूल्यमा बिउ किनेर रोपियो,’ उहाँले भन्नुभयो, ‘अहिले सबै लगानी डुब्यो ।’

    बागमती र बरहथवाका किसानले लगाएको कैयौँ बिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ । यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गर्नुभयो । गत मंसिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएका महतोका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन । 

    महँगो बिउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छाँगाबाट खसेजस्तै भएका छन् । किसानलाई गुणस्तरहीन मकैको बिउ बिक्री गरेर ठगी गरेको बरहथवा– ५ की ललिता साहको आरोप छ । मकैमा दाना नलागेपछि आफूहरू संकटमा परेको उहाँले गुनासो गर्नुभयो ।
    उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ । 

    उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बिउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मंसिरको पहिलो साताभन्दा अघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल शाहीले जानकारी दिनुभयो ।

    बिउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गर्नुभयो । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उहाँको दाबी छ । मंसिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उहाँको भनाइ छ ।

    दाना नलागेका किसानको विवरण संकलन गरेर भारतमा रहेको कम्पनीमा जानकारी गराइएको उहाँले बताउनुभयो । किसानलाई कसरी राहत पु¥याउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उहाँको भनाइ छ । नगरपालिकाको कृषि शाखाले क्षतिको विवरण संकलन गरिरहेको छ । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?