२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

म्याग्दीका वनपाखामा पर्यटक लोभ्याउँदै लालीगुराँस



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या १४०
  • म्याग्दी/  वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्यलेकाली क्षेत्रका वनपाखा रंगी–विरंगी लालीगुराँसले रंगिएसँगै लालीगुराँस तथा त्यसैको छेकोबाट सेता हिमाल हेर्दै रमाउनका लागि पर्यटकहरू लेकाली क्षेत्रमा उक्लिएका छन् ।

    विगतका वर्षमा भन्दा यस वर्ष पाखैभरि ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी लालीगुराँसका जंगलमा पुगेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिने घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भिड नै लाग्ने गरेको छ । 
    आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यवसायी खुसी भएका छन् । घोडेपानीकी होटेल व्यवसायी मीना गुरुङले प्रायः सबै होटेल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको बताउनुभयो ।

    राताम्यै फुलेका लालीगुराँस र वन–जंगलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । उत्तरपट्टि चाँदीजस्तै सेता हिमाल हेर्दै गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिकाको सोले, बेनी नगरपालिका– ३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा पुग्न थालेका छन् । 

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमाल
    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमाल       तस्बिर . सन्तोष गौतम / रासस

    नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । पृष्ठभूमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटक मख्ख परेको स्थानीय युवा सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिनुभयो ।
    घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुछ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदायस्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।

    घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन् । एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ गरिएको घोडेपानीका बासिन्दा अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष एवं स्थानीय होटेल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

    लालीगुराँसको महत्व
    म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ । लालीगुराँसको बोटदेखि फूलसम्म विभिन्न औषधि निर्माणका लागि प्रयोग हुँदै आएको छ । म्याग्दीमा प्रशस्त लालीगुराँसको जंगल रहेकाले आगामी दिनमा प्रशस्त आम्दानीको स्रोत जुट्ने देखिन्छ ।

    जिल्लाका विभिन्न स्थानमा लालीगुराँसको जुस बनाउने उद्योग स्थापना गर्ने क्रम पनि बढ्दै गएको छ । प्रचारप्रसारको कमीको कारण यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फूल बिक्री हुन सकेको छैन । 

     

                                                                                                                                                                                                                                                रासस