'कम्तीमा पन्ध्र दिन लाग्छ मामू काम सकिन ! दुर्गम ठाउँको प्रोजेक्ट छ । एकदुई दिन अझै थपिन पनि सक्छ । भ्याइयो भने रारा पनि जाने भन्दै छन् साथीहरू । नेटवर्क लागेको बेलामा फोन गर्छु । पिर नगरिस्यो है !' रुषाले सासूसामु टाउको निहुराउँदै बिदा मागिन् ।
'.....भाग्यमानी भएस् ! छोरालाई म सम्झाउँला पिर नगर । .....कति भौँतारिनुपर्ने यो एन्जिओको जागिरमा । अब त सकिएलान् नि तिम्रा दुःखका दिन ... अर्को साल लैजान मिल्छ भन्दै छ बाबुले । परेवाका जोडी छुट्याएर राख्ने इच्छा त दैवलाई पनि हुँदैन..।'
'.....पिर नगरिस्यो है मामू !' ट्याक्सीमा बस्दै रुषाले भनी ।
तत्कालीन भन्सार विभाग प्रमुख गङ्गाराम शर्मालाई अकुत सम्पत्ति थुपारेको अभियोगमा अख्तियारले डामेको थियो । त्यति बेला सतीशले गङ्गाराम शर्माको छविलाई उच्च देखाउन र अदालतलाई प्रभाव पार्न मिडियामा सक्दो भूमिका खेलेको थियो । तर गङ्गाराम शर्माले बगाएको पैसाको खोलोले सम्बन्धित ठाउँ सिञ्चित गर्न सकेन । सतीशले देखाएको ऐनामा कानुनले गङ्गाराम शर्मालाई चोखो देख्न सकेन वा चाहेन । तर नागरिक समाज भने एक पटक सोच्न बाध्य भयो, 'मान्छे खराबै चाहिँ होइन रहेछन् गङ्गाराम शर्मा ।' जनमानसको त्यही बदलिएको सोच बापतको बकस थियो सतीशको भैँसेपाटीको तीन आना ।
सर्वोच्च अदालतले सर्वस्व हरणसहित पाँच वर्षको कैद सुनाएपछि केन्द्रीय कारागार जगन्नाथ देवलमा खाँदिएका थिए गङ्गाराम शर्मा । गङ्गाराम शर्माले अहिले फेरि पनि सम्झिएका थिए सतीशलाई । दुईचार दिनदेखि यी दुईको भेटघाट बाक्लिएको थियो । ठूला मान्छेले सम्झिएपछि जानैपर्यो । गयो । त्यसपछि बनेको थियो रारा घुम्ने कार्यक्रम ।
'रारा जाने हो ?' एक हप्ताअघि सतीसले सोधेको थियो रुषालाई ।
'हिँड्न पर्छ होला । म त सक्दिनँ, नाइँ..नजाने भो' रुषा टकटकिएकी थिई ।
'धेरै हिँड्न पर्दैन के । जम्मा दुई घण्टा हो । बिस्तारै बाटो कटाउँला । अझ भन्छौ भने म बोकौँला तिमीलाई ।'
'भो ! पैसा छैन मसँग ।'
'खर्च मेरो, साथ तिम्रो । ...पन्ध्र दिनको मस्ती । जाँदा गाडीमा फर्कदा प्लेन ... के छ विचार ?'
'ठूलै मुर्गा फेला परेजस्तो छ नि...? मलाई नै चैँ कसरी सम्झियौ ? तिम्रा अरू सबै गर्लफ्रेन्ड पोइल गए कि के हो ?'
'.....सबै पोइल गए भने मेरो बिचल्ली हुँदैन ? .....तिमी अमेरिका जाने मान्छेलाई, फस्ट प्रायोरिटी ।'
'जाने चैँ कहिले ?'
'नेक्स्ट सन्डे'
'ओके डन'
रुषाको सतीशसँग घुम्न जाने मेलोमेसो यसरी मिलेको थियो । विदेशमा भएको लोग्नेलाई धोका दिने रहर होइन रुषाको ।
तर मनका रहरहरूले विद्रोहका ज्वाला ओकल्थे कहिलेकाँहि । सतीश उसको लागि त्यस्तै ‘कहिलेकाँहि को विद्रोह मात्र थियो । सतीशका लागि ऊ के थिई उही जानोस् ।
नाइट डिलक्स बस सुर्खेतका लागि नयाँ बसपार्कबाट छुट्यो ।
'हाम्रो मेन डेस्टिनेसन चैँ कहाँ रे ?'
'कालीकोटको पिली ... त्यहाँ गएर कोपिला शाही भन्ने केटीलाई खोज्नु छ ।'
'भित्र्याउने नै विचार गर्यौ कि के हो ? राम्री छ ?'
'राम्ररी देख्या छैन ... म्यारिड हो ।'
'म चैँ के त ? तिमीलाई त म्यारिडमै इन्ट्रेस्ट छ भन्या होइन ?'
सतीशले अँगालोमा करप्प अँठ्यायो रुषालाई । रात छिप्पिँदै थियो । सिटको पछाडि टाउको अड्याएर सतीश निदाउने प्रयास गर्यो । उसैको कुममा टाउको अड्याएर रुषाले पनि आँखा चिम्लिई । एक दुई पटक झल्याकझुलुक मात्र देखिएकी कोपिला शाहीको धमिलो आकृति सतीशको मानसपटलमा आयो ।
चाबहिल गणेशथान छेवैमा थियो कोपिला शाहीको चिया पसल । दुनोट, पाउरोटी र चिया बेचेकै भरमा गुजारा चलेको थियो उनीहरूको । बुढो चाहिँ चिया पकाउँथ्यो । काखे बालक च्यापेर कोपिला चिया बाँड्थी । जस्ले भ्याउँथ्यो उसैले भाँडा खकालिहाल्थे । जोईपोइ एक आपसमा कुराकानी गरेको हम्मेसि कसैले बुझ्दैनथ्यो । उनीहरूको आफ्नै लवज थियो । अरूसँग कुरा गर्दा भने सबैले बुझ्ने लवजमा बोल्थे । खुसी र सुखी नै देखिन्थे । गङ्गाराम शर्माको घरबाट करिब पाँच सय मिटरको दूरीमा थियो त्यो चिया पसल ।
चिया पसलमा गफ लडाएर हिँड्ने हैसियतका होइनन् हाकिमसाब । तैपनि कोपिलाको चिया पसल अगाडि पुग्दा उनको ड्राइभरले सधैँ गाडीको गति घटाउँथ्यो । सायद उसलाई आदेश नै त्यस्तै थियो । सिसा भित्रैबाट गङ्गाराम शर्मा मुन्टो घुमाएर कोपिलाको तीन सदस्यीय परिवारलाई हेर्दै बाटो लाग्थे । यो नियमित प्रक्रिया थियो ।
गङ्गाराम शर्माका दैलो ढुक्ने क्रममा एकदुई पटक कोपिला शाहीको हातबाट चिया खाएको पनि थियो सतीशले । त्यस केटीमा याद गर्नुपर्ने कुनै विशेष गुण थिएन । करिब छ महिनादेखि भने उक्त चिया पसल बन्द थियो । त्यसैले कोपिला शाहीको स्पष्ट आकृति सतीशको दिमागमा आउन सकिरहेको थिएन । तर ऊ पक्का थियो उसलाई देखेपछि भने पक्कै चिन्नेछ ।
बिहान दश बजे सुर्खेत पुग्दा दुबै जना थकित थिए । चैत्रको महिना, भित्री मधेस हप्प गुम्सिएको थियो । रुखका पातहरू समेत हल्लिन अल्छी मानेर टोलाउँदै थिए । होटेलको वातानुकूलित बन्द कोठा भित्रका मनुवाहरू कोकति ताते, कति चिसिए बाहिरकाले चाल पाउने कुरा भएन । तर पक्का थियो दुबै जनाले गुम्सिनु परेन । साँझतिर दुबै जना काँक्रे विहार र बुलबुल ताल घुमेर फर्किए ।
'.....हालिदिएछ बुढाले ड्याम्मै एक पेटी । पैसा यतैबाट बोक्नुपर्छ । मास्तिर एटियम् छैन' मेसिनबाट पैसा थुत्दै सतीशले भन्यो ।
'को बुढा ?'
'उही मेरो अन्नदाता के त, गङ्गाराम शर्मा ! तिमीसँगको यो हनिमुन टुर त्यसैको स्पोन्सर हो ।'
'बुढाको काम चैँ के रैछ ?'
'जति सक्दो तिमीसँग मस्ती गर्नु र अन्त्यमा जसरी भए पनि कोपिला शाहीलाई काठमाडौँ ल्याउनु भन्या छन्,' ङिच्च हाँस्यो सतीश ।
बिहानै सुर्खेत बसपार्कबाट कालीकोट जाने बस चढे दुबै जना । भर्खर धोएर ल्याएको बस भए पनि भित्र छिर्नासाथै छुट्टै खालको गन्ध दुबै जनाको नाकैमा ठोकियो । धेरै दिन घैँटोमा खाँदिएको सिन्की भर्खरै निकालिएर घाममा सुकाउँदा आउनेजस्तो थियो गन्ध । गाडी गुड्नु अगाडि खलाँसीले सबैलाई एकएक वटा झोला बाँड्यो । सबैले लिए, तर सतीश र रुषाले लिएनन् ।
'हामीलाई चाहिँदैन,' दुबैले एकैसाथ भने ।
मोटर गुड्न थालेको करिब एक घण्टा बित्दानबित्दा सबै यात्रुहरूका मुन्टा निहुरिसकेका थिए । अधिकांशका मुखमा प्लास्टिकको झोला थापिएको थियो । दृश्यको वातावरणीय प्रभाव स्वरूप रुषाको पेट हुँडलिन थाल्यो । दुईचार पटक वाकवाक गरी । झोला थापिहाल्न भने परेन । बाटाभरि रुषाले ङ्यारङ्यार गरिरही । रुषाको असन्तुष्टिलाई साम्य पार्न सतीशले निकै मिहेनत गर्नुपर्यो । तै पनि ठुस्किन छोडिन ।
साँझ कालीकोट सदरमुकाम मान्मामा बसबाट ओर्लिएर खुल्ला हावामा सास लिन पाउँदा दुबैले ठूलो राहत महसुस गरे । आफू आएको बसलाई एक छिन रोकिएर हेरे । प्रत्येक झ्यालबाट तलतिर बगेका बान्ताका छिटाहरू बसको तल्लो भागसम्म सुकेर कटकटिएका थिए । दुबै जना मुख बिगारेर हाँसे । रुषाले आफ्ना मसिना औँलाहरूलाई मुठी कसेर जोडले सतीशको पाखुरामा हिर्काई । जिम गरिएको सुडौल पाखुरालाई स्पर्श गर्दै मुठी सुलुत्त चिप्लियो ।
पिलीमा बल्लतल्ल फेला पर्यो कोपिला शाहीको घर । आफैँलाई खोज्दै दैलामा आइपुगेका नौला मान्छेलाई एक्कासि देख्दा आत्तिई कोपिला । अपरिचित मान्छेको डरभन्दा आफ्नो फाटेको पुरानो लुगाले राम्ररी छोप्न नसकेको शरीर लुकाउने कोसिस ज्यादा हुन सक्छ । बोक्दै गरेको मलको डोको मिल्काएर गोठभित्र पसेकी उसलाई सासूले आफ्नो फाटेको मजेत्रो बेर्न दिइन् । सासूससुराको आडभरोसा पाएपछि बल्लतल्ल मुन्टो निहुर्याउँदै बाहिर निस्कई कोपिला । पट्पटी फुटेका हात, गोडा र अनुहारले दुर्गम क्षेत्रका औसत नेपाली महिलाहरूको प्रतिनिधित्व गर्दै थियो । कोपिलाले लगाएका सेता लुगाले आफ्नो धर्म छोडेर रङ्ग फेरेका थिए । मैलो र गरीबीको रङ्ग ।
दसैँमा घर फर्कने क्रममा सडक राक्षसले उसको पति र बचेरा खाएको थियो । लोग्ने मरेपछि स्वास्नीलाई आधा मरेको मानिने हाम्रो समाजमा कोपिला त पूरै मरेकी जस्ती देखिन्थी । सतीश पहिलो पटक कुनै स्वास्नी मानिसको शरीर र सौन्दर्यबाट विकर्षित भएको थियो । जिन्दगीको यो विभत्स तर दारुण दृश्य देखेर नराम्रोसँग झस्कियो ।
कोपिलाको ससुरा बिर्खबहादुर आएर सतीश र रुषाको नजिकै बस्यो । वास्तविक उमेरभन्दा दोब्बर देखिने गरी चाउरिएर खुम्चिएको थियो बिर्खबहादुर । अलि पर सासूको पछाडिपट्टि आड लागेर कोपिला बसी । उनीहरू आएर बसेपछि त्यहाँ वरपर अनौठो दुर्गन्ध व्याप्त भयो । मानौ त्यहाँको हावा नै गन्हाइरहेको थियो । रुषा र सतीशले एकआपसमा मुखामुख गरे । रुषाले अन्जानमै आफ्नो नाक थुनी । बिर्खबहादुरले रुषा र सतीशको मुखामुख बुझ्यो कि बुझेन, तर रुषाको नाकमा भएको हात बुझ्यो । लोकल रक्सीको गन्ध मिश्रित सास निकाल्दै अन्कनायो ।
'यइखो आङ झड्या छ । त्यही भईकन त्यो ओडी आउन्न, परैपट्टि बइथिछ ।' उसको इसारा आफ्नी स्वास्नीतर्फ थियो ।
'लामै सुमअ भैयो । घा भलो पुनि हुन्न । डाङ्डरा अगारि पन्न लाज मान्निछ । न्यूनो भलो पुनि हुन्न । सुर्खे..तसुम्म जान्या खर्च पुनि नाइँ,' कुरा नसकिँदै रुषाले हात आफसेआफ नाकबाट हटाई ।
उसको अनुहार करुणाले भरियो । यति खेरसम्म आँगनमा फाट्टफुट्ट रमितेहरूको उपस्थिति बाक्लिसकेको थियो । त्यहाँ जम्मा भएकाहरूमा सबैको स्थिति लगभग बिर्खबहादुर सरह या अझै तल्लो स्तरको थियो । सतीशलाई उकुसमुकुस भयो । ऊ त्यहाँबाट सकेसम्म चाँडो उम्किन छटपटायो । उसले आफूहरू त्यहाँ आउनाका कारण बिर्खबहादुरलाई सम्झायो ।
'गङ्गाराम हाकिमसाबले तपाईँका छोरा बुहारीलाई असाध्यै माया गर्नुहुन्थ्यो । तपाईँको छोरो बितेको कुरा सुनेर साह्रै दुःखी हुनुभएको छ । एक पटक तपाईँकी बुहारीलाई देख्न मन गर्नु भ’को छ । ...खोई एक लाख कि कति खर्च पनि दिन्छु भन्दै हुनुहुन्थ्यो ।'
'कोई हो गङ्गाराम भुन्याको राउँदा छौ ?' बिर्खबहादुरले कोपिलातर्फ फर्किएर सोध्यो ।
'राम्डा मान्ठ हुन् । ता..दिन पुनि झुल्या कागतमँई उनुका आङ्ला छाप लाईकिन पचास हजार दियाका छिया,' सासूको पिठ्युँ पछाडि मुन्टो लुकाउँदै कोपिलाले बताई । एक लाखले तिला नदी किनारको फाँटमा पाँच मुरी कालीमार्सी फल्ने खेत आउँथ्यो । बिर्खबहादुर लोभको ऐँजेरुले ढपक्कै ढाकियो । जीवन कालमा सुर्खेतसम्म नदेखेको बिर्खबहादुर बुहारी लिएर काठमाडौँ जान राजी भयो । सतीशले हजारहजारका दश वटा कटकटाउँदा नोट बिर्खबहादुरको हातमा थमाउँदै भन्यो—'ल यो बाटो खर्च । आउँदा छोराको मृत्यु दर्ता र बुहारीको नागरिकता पनि ल्याउनु है ।'
हनिमुन जोडीमा छाएको उदासीपनाले लामै समय डेरा जमायो । राराको सौन्दर्य आँखाभरि र पिली गाउँवासीका हेर्दै अत्यास लाग्ने जीवनचित्र मनभरि लिएर ताल्चा विमानस्थल हुँदै काठमाडौँ फर्किए सतीश र रुषा ।
दुबैको मनमा पटकपटक भैँचालो गइरह्यो । छुट्टिने बेलामा रुषाले नसोधिरहन सकिन । 'गङ्गारामले केको पाप पखाल्न खोज्या हुन् ? कोपिलालाई एक लाख दिएर ?'
'...गङ्गारामको गाडधन हो कोपिला । तिनीहरूले चिया पसल राखेको घर कोपिलाको बुढोको नाममा किनेको रैछ । मालपोतको डोर झिकाएर पसलमै घर पास गराएका रैछन् । पचास हजार पाए, ल्याप्चे ठोके, तर केमा ठोके पत्तै छैन बिचराहरूलाई । अब फेरि पहिले हकवाला कोपिलाकोमा नामसारी र पछि फेरि मेरो नाममा पास गर भन्दै छन् ।'
'ल बधाई छ । बुढाचाहिँको नामबाट घर मात्रै होइन कोपिला नै आफ्नो नाममा गर्नू । अनि म अमेरिका गएपछि फेरि रारा घुम्न जानु है ।' आँखा तरी रुषाले ।
सतीशले रुषालाई बताएको कुरा सबै साँचो भए पनि पूर्ण भएको थिएन । गङ्गाराम र सतीशका बिच एउटा अर्को पनि सम्झौता भएको थियो । गङ्गारामको कैद भुक्तान भएपछि घर आधाआधा गर्ने सम्झौता । आखिर सर्वस्व हरण भएको गङ्गारामले आफ्ना धेरै गाडधनहरूमा पहुँच गुमाइसकेका थिए । उनको जिउने आधार त्यही एउटा चाबहिलको घर मात्र बाँकी थियो ।
बिर्खबहादुर र कोपिला भनेकै समयमा काठमाडौँ आइपुगे । उनीहरूको बस्ने चाँजोपाँजो राम्रो ठाउँमा मिलाइएको थियो । आवश्यक कागजी प्रक्रिया पूरा गरेर सतीश मालपोतको डोर लिएर आयो ।
'हाकिमसाबको मन साह्रै कमलो छ । उहाँको पहुँचमा नभएको केही छँदै छैन । उहाँले कोपिलाको अवस्थासँग टिठाएर यो पैसा मिलाइदिनुभएको हो । लेनदेनको कुरा पर्यो, प्रमाण बलियो चाहिन्छ । भोलि तलमाथि भयो भने मलाई गाल पर्छ । त्यस्ता दैवलाई उसै त फसाएर जेल पुर्याइसके।' सतीशले कतै शङ्का नरहने गरी भूमिका बाँध्यो । मालपोतका कर्मचारीले कोपिलाका बुढी औँला समाउदै काँचो कागजको ठाउँठाउँमा औँठा छाप लगाए र बिदा भए । सतीशले कबोलेको एक लाख रुपैयाँ कोपिलाको हातमा राखिदिँदै भन्यो—'भोलि हाकिमसाबलाई भेटेर मात्रै घर जानुपर्छ । म दश बजे लिन आउँछु । ठिक्क परेर बस्नु । लुगा आजै धोएर सुकाउनु । सफासुग्घर भएर जाँदा राम्रो ।'
केन्द्रीय कारागार जगन्नाथ देवलमा कोपिला र बिर्खबहादुरलाई दशै बजे पुर्यायो सतीशले । काम सम्पन्न भएको खबर अगाडि नै पाइसकेका थिए गङ्गारामले । झ्यालखानाको डन्डी समातेर उभिएका गङ्गारामले सबैलाई अत्यन्त प्रसन्न भावले स्वागत गरे । सन्चोबिसन्चो सोधे । बिर्खबहादुरसँग दरिलो हात पनि मिलाए ।
'जमाना बदलिएको छ । राम्रो केटो पाए कन्यादान गरिदिनु बुहारीको । धर्म हुन्छ । पाप र धर्म सबै यही जन्ममा हो ।' नैतिक शिक्षा पनि दिन भ्याए । लामै प्रवचन दिए, कोपिलालाई पनि । 'सक्छ्यौ भने पढ्नु है नानी ! अझै केही बिग्रिएको छैन ।'
बिदा हुनै लाग्दा सतीशले गम्भीर हुँदै भन्यो— 'गङ्गाराम सर ! मान्छेले जीवनमा अनेक दुःख कष्ट गर्छ, पाप कर्म गर्छ पैसाको लागि । मैले पनि गरेँ । सायद गरिरहने पनि छु । तर आज एउटा अलिअलि पाप र धेरै धर्म मिसिएको एउटा कर्म गरेको छु । त्यो पापको फल म आफैँले स्विकारेको छु । धर्म भने तपाईँसँग पनि बाँडेको छु । मलाई माफ गरिदिनुहोला है ।'
गङ्गाराम शर्माले कुरा बुझेनन् । अन्कनाउँदै थिए । सतीशले खल्तीबाट एउटा काँचो कागज निकालेर कोपिलालाई दिँदै भन्यो । 'लाऊ कोपिला यो लालपुर्जा । चाबहिलमा तिम्रो चिया पसल भएको घर हाकिमसाबले तिमीलाई किनिदिनुभएको छ ।'
कोपिला डाँको छोड्दै भक्कानिएर थचक्कै भुईँमा बसी । बिर्खबहादुर साक्षात् परमहंस गङ्गारामको पाउ पर्न खोज्दै थियो । झ्यालखानाको फलामे डन्डी समातेर उभिएका गङ्गाराम एक्कासि दुबै हातले छाती समाउँदै थचारिए । बिर्खबहादुर अक्क न बक्क भयो । सतीश फर्केर समेत हेर्दै नहेरी बाटो लाग्यो । एकै छिनमा सञ्चार माध्यम फ्ल्यास न्युजले भरिए ।
'.....भ्रष्टाचारको अभियोगमा जेल परेका गङ्गाराम शर्माको हृदयाघातबाट मृत्यु ।'
(कथाकार प्याकुरेलले विगत एक दशक भन्दा अघिदेखि कथाहरु लेख्दै आउनुभएको छ । यो कथा उहाँको पहिलो प्रकाशित कथासँग्रह 'झुल्या कागत' २०७४ भित्रको हो ।
प्रतिक्रिया दिनुहोस