७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनका निम्ति पहल गरिरहेका छौँ  : राजदूत श्रेष्ठ



  • आफ्नै खबर
  • १ महिना अघि
  • पाठक संख्या ७९
  • नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले खुला हृदयले सहयोग गर्दै आएको छ । चीन नेपालको ‘संकटको साथी’का रूपमा समेत रहेको छ । भूकम्प, कोभिड– १९ लगायत अप्ठ्यारो अवस्थामा चीनले ठूलो सहयोग पु¥याएको छ । नेपाल र चीनका तर्फबाट विभिन्न समयमा भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएका छन् । नेपाल सरकारले पनि चीनसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको छ ।

    चीनको राजधानी बेइजिङमा रहेको नेपाली राजदूतावासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका निर्वाह गरिरहेको छ । समसामयिक विषयमा राससका समाचारदाता अशोक घिमिरेले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः 

    चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ

    चीनका लागि नेपाली राजदूतका रूपमा यहाँको कार्यकाल कस्तो चलिरहेको छ ?

    नेपाल–चीनबीच सदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । म चीनका लागि राजदूत भएर आएको करिब २० महिना पुग्यो । यस अवधिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा राम्रो प्रगति भइरहेको छ भन्ने लागेको छ । 

    नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणहरू कस्ता रहे ?

    यसबीचमा नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणहरू गर्व गर्न लायक छन् । विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड– १९ नियन्त्रण भएपछि धेरै उच्चस्तरीय भ्रमण भएका छन् । नेपालबाट उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सभामुख, पूर्वसभामुख, प्रधानन्यायाधीश, प्रधानसेनापति, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सांसदलगायतले यसबीचमा चीन भ्रमण गर्नुभयो । सरकारीस्तरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण भयो । प्रधानमन्त्री दाहाल हाङजाउमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उदघाटन सत्रमा सहभागी हुनुभयो । त्यस क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रतिनिधिमण्डलस्तरमा छलफल भयो । दुई देशका उच्चस्तरीय कार्यकारिणी व्यक्तिबीच अत्यन्तै सौहार्द, खुला र स्पष्ट रूपमा छलफल भयो । त्यसबाट धेरै उपलब्धि प्राप्त भएका छन् ।

    राष्ट्रपति सीले नेपाललाई बढी नै महत्व दिनुभएको अनुभूति हुन्छ । त्यो समयमा हाङजाउमा उहाँ अत्यन्तै समयको चापमा हुनुहुन्थ्यो । त्यस्तो समयमा पनि हाम्रा प्रधानमन्त्रीसँग उहाँले ‘वान टु वान’ वार्ता गर्नुभयो । प्रधानमन्त्रीको भ्रणणका क्रममा छलफल भएका धेरै विषय समेटिएर संयुक्त वक्तव्य पनि जारी भयो । सो वक्तव्यभित्र नेपाली पक्षको हितमा हुने तथा नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने विषय उल्लेख छ । सबै प्रकारका उच्चस्तरीय भ्रमणमा दुई देशको सम्बन्धलाई अझ गहिरो र प्रगाढ बनाउनेबारे गम्भीर छलफल भएका छन् । 

    प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा उल्लिखित विषय कार्यान्वयनका अवस्था के छन् ?

    संयुक्त वक्तव्यमा उल्लिखित विषय कार्यान्वयनको चरणमा छन् । दूतावासबाट निरन्तर रूपमा ती विषय कार्यान्वयनका लागि क्रियाशील छौँ । दुवै पक्षबाट आ–आफ्ना जिम्मेवारीको विषय सम्पन्न गरी अघि बढ्दा वक्तव्यमा भनिएका विषय छिट्टै पूरा गर्न सकिन्छ । त्यस निमित्त दुवै देश तत्पर भएको महसुस भइरहेको छ । 

    यहाँ राजदूत भएर आएपछि भएका सम्झनलायक उपलब्धि के रह्यो ? 

    अन्तरदेशीय रेल्वे लाइनको सम्भाव्यता अध्ययन सुरु भएको छ । बन्द भएका सीमानाका खुलेका छन् । अन्तर्राष्ट्रिय ‘पोर्ट’ धेरै खुलेका छन् । कोरोना महामारीका कारण नेपालमा रोकिएका विद्यार्थीलाई चीनमा अध्ययनका लागि सहजीकरण गरिएको छ । पर्यटन प्रवद्र्धनका निमित्त धेरै कार्यक्रम सम्पन्न भएका छन् । वाणिज्य व्यापारका क्षेत्रमा पनि राम्रा काम भएका छन् । चीनले भन्सार छुट दिएका नेपाली उत्पादनको बिक्रीका लागि सहजीकरण गरिएको छ । चीन सरकारले नेपाल–चीन सीमानाकाका विभिन्न स्थानमा बहुउद्देश्यीय प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता गरेको छ । त्यसको सुरुवात भएपछि भन्सार छुटका सामग्रीको व्यापार पनि राम्रो हुन्छ । हवाई उडानका विषयमा पनि प्रगति भएका छन् ।

    सन् २०१६ मा नेपाल–चीनबीच भएको व्यापार तथा पारवहन सन्धिका आधारमा एक ट्रिप सामान नेपाल जाने र एक ट्रिप सामान नेपालबाट बाहिर जाने काम भएको छ । नेपालजस्तो भूपरिवेष्टित देशका लागि यो निकै नै महत्वपूर्ण छ । भारतका विभिन्न क्षेत्रमा सामान ल्याउने गरिरहेको अवस्थामा चिनियाँ बाटो पनि खुल्दा तेस्रो मुलुकसँग व्यापार–व्यवसाय गर्न सहज भएको छ । नेपाल–चीन वाणिज्य व्यापारका क्षेत्रमा ठूलो उपलब्धि हुने खालका काम भइरहेका छन् । अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण गर्ने काम अघि बढेको छ । स्याफ्रुबेँसी–केरुङ दुई सय २० केभी प्रसारणलाइनको निर्माण सुरु हुने क्रममा छ । सो परियोजना निर्माणको टुंगोमा पुग्न द्विपक्षीय छलफल जारी छ । पूर्वाधार निर्माण, जनता–जनताबीचको सम्बन्ध, पर्यटन, वाणिज्य व्यापारलगायत विषयमा फड्को मार्ने गरी अघि बढिएको छ । अझ बढी नतिजा आउने गरी काम गर्न दूतावास क्रियाशील छ । 

    नेपाल–चीनबीचको आर्थिक कूटनीति प्रवद्र्धनमा राजदूतावासले के–कस्ता पहल गरिरहेको छ ? 

    हङकङ, छेन्दु, ल्हासा र ग्वाङजाओ गरी चीनमा चारवटा नेपाली महावाणिज्य दूतावास छन् । व्यापार–व्यवसायका निमित्त महावाणिज्य दूतावाससँग समन्वय गरेर विभिन्न कार्यक्रम गरिरहेका छौँ । स्रोतको अभावमा चाहेको जति गर्न त सकेका छैनौँ, तैपनि नेपाली सामान चीनमा ल्याउने र विभिन्न सहरमा नमुनाका रूपमा बिक्री–वितरण गराउने कार्यमा निरन्तर लागिपरेका छौँ । विभिन्न प्रदर्शनीमा नेपालको उपस्थिति रहेको छ । नेपालको वाणिज्य व्यापार तथा आर्थिक कूटनीतिका सम्बन्धमा के–के सुविधा प्रदान गर्न सक्दछ भन्ने विषयलाई व्यापारीसमक्ष जानकारी गराउने कोसिस गरेका छौँ । नेपालका नीति–नियमलाई चिनियाँ भाषामा अनुवाद गरेर वितरण गरिएको छ । नेपालको व्यापारमा सहजीकरण गर्न विभिन्न अन्तत्र्रिmया, भेटघाटजस्ता कार्य गरिरहेका छौँ । 

    चीनसँगको व्यापारघाटा न्यूनीकरण र नेपाली वस्तुको चीनमा निर्यातका लागि के काम भइरहेका छन् ? 

    चीनसँगको व्यापारघाटा न्यूनीकरणका लागि दूतावास क्रियाशील छ । चीनले भन्सार छुट दिएका नेपाली उत्पादन चीनको बजारसम्म ल्याउन सकिएन । अमिला जातका फलफूल, राँगा–भैँसीको मासु, जडीबुटी, हस्तकलाका सामग्रीलाई चिनियाँ बजारमा कसरी प्रवेश दिलाउन सकिन्छ भनेर लागिएको छ । चीनको भन्सार र क्वारेन्टिनमा आइपर्ने समस्याको समाधानका लागि चिनियाँ अधिकारीसँग छलफल गरेका छौँ । नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेशका लागि सहजीकरण गर्न हामी क्रियाशील छौँ । 

    नेपालमा चिनियाँ लगानी वृद्धि गर्न र चिनियाँ पर्यटनको संख्या बढाउन दूतावासले कस्ता कार्य गर्दै आएको छ ? 
     

    लगानी सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ व्यवसायी, लगानीकर्तासँग छलफल गरिएको छ । संस्थागत र व्यक्तिगत रूपमा पनि चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरिएको छ । नेपालमा लगानीको वातावरण, लगानीकर्तालाई दिइएको सुविधालगायतको जानकारीमूलक पुस्तिका चिनियाँ भाषामा अनुवाद गरेर प्रकाशित गरिएको छ । आगामी महिना हुने लगानी सम्मेलनमा करिब २ सयभन्दा बढी चिनियाँ लगानीकर्ताले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् । हाइड्रोजन उत्पादन क्षेत्रमा लगानी गर्नेबारे पनि चिनियाँ लगानीकर्तासँग छलफल भइरहेको छ । 

    उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणमा चिनियाँ नेतृत्वसँग के–कस्ता छलफल भए ? 

    उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ पक्षसँगको भेटमा नेपाल आर्थिक समृद्धिको यात्रामा रहेको जानकारी गराउँदै नेपालको विकासमा चीनले खुला हृदयले सहयोग गर्नुपर्छ भन्ने विषय स्पष्टसँग राख्नुभएको छ । असल छिमेकीको हैसियतले चीनले नेपालको चाहनालाई सहयोग गर्नुपर्छ भनेर खुला रूपमा राख्नुभएको छ । चिनियाँ पक्षले नेपालको आवश्यकता के–के छन् ? त्यसलाई सम्बोधन गर्न तयार छौँ भनेको छ ।

    नेपालले लिएको लक्ष्य प्राप्तिका लागि हरप्रकारको सहयोग गर्न तयार रहेको चिनियाँ पक्षको भनाइ छ । उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीच भएका सम्झौतालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्छ भनेर जोड दिनुभयो । केही प्राविधिक समस्या नपरे तत्काल नेपाल–चीन सीमा क्षेत्रका १४ वटा परम्परागत नाका सञ्चालन गर्ने चिनियाँ पक्षले वचन दिएको छ । नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत भएका छन् ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?