मनाङ/ विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा संकलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका– ८ ताचैको नाम्केबाट संकलन थालिएको हो ।
यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब २ सयजना यार्सागुम्बा संकलनको अनुमति लिएर खर्कतर्फ गएका छन् । अनुमतिपत्रबिना औषधीय जडीबुटी संकलन गर्न पाइँदैन । त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।
संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों– ८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० देखि गतेबाट संकलन सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार मनाङमा यार्सागुम्बा संकलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । उहाँले भन्नुभयो, ‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा संकलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ ।’
संकलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।
मनाङमा वैशाखदेखि असार मसान्तसम्मलाई यार्सागुम्बा संकलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ । यार्सागुम्बा खोज्ने क्रममा ०६६ मा नारस्थित नाम्ग्य खर्कमा स्थानीयले गोरखाका ७ जनाको हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साबिकको नार र फुगाउँ विकास समितिमा यार्सागुम्बा संकलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका संकलकलाई अनुमति दिइँदैन ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा संकलन गरिने भए पनि बाह्य जिल्लाका संकलकलाई अनुमति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा संकलकलाई रोक लगाइएका छौँ, विगतमा भएजस्तो घटना दोहोरिनुहुँदैन भनेर स्थानीयलाई मात्र संकलनको अनुमति दिँदै आएका छौँ ।’ यार्सागुम्बा संकलनका लागि अनुमति लिन प्रतिव्यक्ति ३५ हजार रुपैयाँ शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै यार्सागुम्बा संकलन गरिन्छ । एक्याप इलाका कार्यालयले यार्सागुम्बा संकलनका लागि स्वीकृति दिएपछि मात्रै संकलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा संकलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा संकलनलाई व्यवस्थित बनाउँदै लगेको छ । सोहीअनुरूप बाहिरी जिल्लाका संकलकलाई अनुमति दिइँदैन ।
एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाह्य जिल्लाका संकलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमि, खाङ्सार र पिसाङमा पनि स्थानीयलाई मात्र यार्सागुम्बा खोजीका लागि अनुमति दिने निर्णय भएको छ ।’
संकलकको संख्या कम गर्ने र कम नै संकलन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ३ स्थानका खर्कमा यार्सागुम्बा संकलनमा बाह्य जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय मात्रै संकलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो ।
४ स्थानीय तह रहेको मनाङमा धारापानी र थोचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।
मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा संकलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिनेछ । असारको पहिलो सातासम्म यार्सागुम्बा संकलन कार्य सकिन्छ ।
रासस
प्रतिक्रिया दिनुहोस