१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

घाम निल्ने ढेडु



  • आफ्नै खबर
  • १३ बैशाख २०८१ बिहिबार (७ महिना अघि)
  • पाठक संख्या १२४
  • अचम्म ! संसार अँध्यारो भयो । हत्तपत्त देवताका राजा इन्द्रले उसको चिउँडोमा बज्र प्रहार गरे । चिउँडो फाटिएपछि बाल घाम बाहिर निस्किहाल्यो । संसार उज्यालो भइहाल्यो ।

    आज ऊ उठ्दा आमा र बुबा सँगै थिएनन् । हिजो राति पनि थोरै खाएर सुतेकोले होला पेटमा मुसा कुद्न थाल्यो । उसले आमा अञ्जनालाई बोलायो । तर, तिनी शायद बिहानकै खाना र पानी जोरजाम गर्न कतै अलमलमा थिइन् ।

    उसको बाबु केशरी त सधैँ कतै न कतै भुलिरहन्थ्यो । यसैले छोराको सामीप्यमा बिरलै आउँथ्यो । अब के गर्ने, भोक त उपद्रो लाग्यो । रुखको हाँगामा उफ्रँदै–उफ्रँदै अगाडि बढ्यो । डाँडोबाट भर्खर उदाइरहेको बाल घाम स्याउजस्तै लाग्यो । उसले हातले समाएर मुखभित्र हालिहाल्यो । 

    अमरकुमार प्रधान


    अचम्म ! संसार अँध्यारो भयो । हत्तपत्त देवताका राजा इन्द्रले उसको चिउँडोमा बज्र प्रहार गरे । चिउँडो फाटिएपछि बाल घाम बाहिर निस्किहाल्यो । संसार उज्यालो भइहाल्यो । तर, बाल घाम निल्न खोज्ने बाल ढेडु त बज्र प्रहारबाट मूर्छित भयो । उनको बाबु केशरी जसलाई वायुराज (पवन पनि भनिन्छ)ले उनान्चास वायु बन्द गरिदिए । सबै प्राणी निस्सासिन थाले । देवाधिदेव महादेवले ढेडुलाई पुनर्जीवन दिनुभयो । हनु (चिउँडो) काटिएकोले त्यो ढेडुको नाम हनुमान भयो ।

    उसलाई सूर्यदेवले आफ्नो तेजको दशौँ भाग सुम्पे । कुवेरले गदा दिए । ब्रह्माले इच्छानुसार शरीर ठूलो–सानो स्वरूपमा बदल्न सक्ने बरदान दिए । भगवान् शिवले नै शस्त्रअस्त्रको प्रहारबाट असर नहुने वर दिए ।

    ‘अहिले त यस्तो विध्वंश मच्चायो यो ढेडुले । यत्रो बिघ्न वरदान पाएपछि त झन् शक्तिशाली भई प्रलय गर्ने त होइन ?’ बाँकी देवताहरू मुखामुख गर्न लागे । तर, पवनले आफ्नो मृत पुत्रलाई पुनर्जीवित गरिदिएर शक्ति प्रदान गरेकोमा धन्यवाद दिँदै समाधान निकाले, ‘यो मेरो छोरोलाई जबसम्म कसैले बताउँदैन आफ्नो शक्ति थाहा हुनेछैन ।

    बाँदरहरूको राज्य भएको जंगल–प्रदेश थियो– किष्किन्धा । त्यहाँका राजा थिए– बालि । उनका भाइ थिए सुग्रीव । सुग्रीव युवराज र उमेर पुगेपछि हनुमान मन्त्री भए ।

    बालि बलवान् थिए । भनिन्छ– उनले जोरी खोज्न आएका रावणलाई पुच्छरमा बेह्रेर सात फन्को घुमाएका थिए । बालि देवराज इन्द्रको वीर्यबाट जन्मेका थिए । यसैगरी उनका भाइ सुग्रीव सूर्यबाट । दुवैका आमा ऋच्छराज बाँदर थिइन् ।

    बालिको विवाह तारासँग भएको थियो । अनि सुग्रीवको रूमासँग । बालि र ताराको छोरा पैदा भयो जसको नाम राखियो अंगद । यसैगरी सुग्रीव र रूमाको पनि छोरै जन्मियो । जसको नाम दधिवन राखियो । दुवै शिशुहरू दरबारको उचित स्याहार–सुसारका साथ हुर्के, बढे र जाम्बवान भालुबाट शिक्षा पाए ।

    बालि राजा भएपछि सुग्रीव युवराज भएका थिए । हनुमानजस्तो बुद्धिमान मन्त्रीको सल्लाह, नल नीलजस्ता शक्तिशालीको साथबाट किष्किन्धा राज्यमा सबै बाँदरहरू सुखीसँग बसेका थिए ।

    समय एकनास रहँदैन, जसरी प्रकृति बदलिरहन्छ, त्यस्तै समयले पनि आफ्नो स्वरूपमा परिवर्तन ल्याउँछ नै । दुन्दुभी राक्षस (जो भैँसी आकारको थियो) ले किष्किन्धा राज्यमा आक्रमण गर्‍यो । बालिले ऊसँग घम्साघम्सी गरेपछि उसको दुईवटा सिङमा समाएर फन्फनी घुमाए । भुइँमा पछारे अनि मुक्का प्रहार गरी मारिदिए ।

    बालिले उसको विशाल शरीर छुट्याएर चार कोसपारि फ्याँकिदिए । त्यसबेला उसको शरीरबाट निस्केको रगतको छिटा ऋष्यमुक पर्वतमा तपस्या गरी बसेका मतंग ऋषिको आश्रममा पर्‍यो । ऋषि रिसाएर जसको कारणले रगतको छिटा पवित्र आश्रममा परेको हो उसले ऋष्यमुक पर्वत टेक्नेबित्तिकै मृत्यु होस् भनी श्राप दिए । त्यसबेलादेखि बालि सो पर्वतको ऋषि आश्रमवरिपरि कहिल्यै गएनन् ।

    बालिले गुफाभित्रको अनेक गुफामा अल्झेर बल्लतल्ल मायावी राक्षसलाई फेला पारेका रहेछन् । आफ्नो बलले राक्षसलाई मारेकैले उसको रगत गुफाको मुखसम्म बगेछ । गुफाबाट निस्कन खोज्दा ठूलो चट्टानले बन्द गरेको देख्दा उनी यो सब भाइ सुग्रीवको काम हो भनी ठम्याए ।

    दुन्दुभीको दाजु मायावी पनि कम्ती डरलाग्दो राक्षस थिएनन् । उसले आफ्नो भाइको मरणको बदला लिन हाँक दिन आयो । दुवैबीच भिडन्त भयो । तर, बालिको अगाडि टिक्न नसकेर बालिलाई हाँक लाउँदै भाग्दै गयो । बालि पनि उसलाई लखेट्दै गयो । बालिसँग सुग्रीव पनि गयो ।

    मायावी राक्षस एउटा गुफाभित्र पस्यो । बालिले त्यस राक्षसलाई निमिट्यान्न पार्न सुग्रीवलाई गुफाबाहिर राखेर भित्र पस्यो । दाजुको बाटो हेर्दाहेर्दै महिनौ बित्यो, तर कुनै चालचुल पाइएन । झण्डै एक वर्ष बित्दा गुफाको ढोकामा रगत बगेर आयो । सुग्रीवले ठाने– मायावी राक्षसले दाजु बालिलाई मारेछ । अब मलाई पनि बाँकी राख्दैन भन्ठानी ठूलो चट्टानले गुफाको मुख बन्द गरी नगर फर्के ।

    बालि मरेको ठानिएकाले सुग्रीवले मन नलागी ‘राजा’ हुन स्वीकार गरे । अंगद युवराज बने । तर, अचम्म ! बालिले गुफाभित्रको अनेक गुफामा अल्झेर बल्लतल्ल मायावी राक्षसलाई फेला पारेका रहेछन् । आफ्नो बलले राक्षसलाई मारेकैले उसको रगत गुफाको मुखसम्म बगेछ । गुफाबाट निस्कन खोज्दा ठूलो चट्टानले बन्द गरेको देख्दा उनी यो सब भाइ सुग्रीवको काम हो भनी ठम्याए । बल्लतल्ल चट्टान छिनाली निस्केर नगर पुगेपछि उनले थाहा पाए– सुग्रीवले नै आफू राजा हुन यो प्रपञ्च गरेछ ।

    सुग्रीवले आफ्नोतर्फबाट सबै व्योरा सुनाए पनि बालिले पत्याएनन् । बालिले सुग्रीवको धोकाको बदला लिने निश्चय गरेपछि आफ्नो ज्यान जोगाउन सुग्रीव ऋष्यमुक पर्वततिर लागे । मतंग ऋषिको श्रापले बालि त्यहाँ आउन सक्दैनन् भन्ने उनलाई थाहा थियो ।

    यता बालिले भाइकी पत्नी रूमालाई जबर्जस्ती रानी बनाए । सुग्रीवलाई अन्याय भएको बुझेर हनुमान, नल नीलचाहिँ ऋष्यमुक पर्वतमा कुनै दिन आफ्नो भाग्य सप्रला भनी पर्खिरहे ।

    एक दिन दुईजना मानव धनु बोकेका त्यसवरिपरि आएको खबर सुग्रीवले सुने । उनलाई कतै बालिले नै पठाएको जासुस त होइन भन्ने पर्‍यो । तर, हनुमानले बाहुन भेष धारण गरी बुझ्न जाँदा पत्ता लाग्यो– ती त अयोध्याका राजा दशरथका जेठा छोरा राम र उनका भाइ लक्ष्मण रहेछन् । राम उमेरदार भएपछि राजा दशरथले राज्याभिषेक गरिदिने घोषणा गरिदिए । तर, सौतेनी आमा कैकेयीले ‘रामलाई १४ वर्ष वनवास र आफ्ना छोरा भरतलाई राज्य दिन लगाइन् ।’ रामसँग उनकी पतिव्रता स्त्री सीता र प्यारो भाइ लक्ष्मण पनि वनवास गए ।

    सीता नेपाल (मिथिला) जनकपुरका राजा जनककी छोरी थिइन् ।

    वनवासको १४ वर्ष अवधिमध्ये १० वर्ष बितिसकेको थियो । त्यसबेला लंकाको राजा रावण थियो । उनकी बहिनी शूर्पणखा जब वायुमार्गबाट जंगल–जंगल डुलिरहेकी थिइन् पञ्चवटी कुटीमा बसिरहेका रामलाई देखेर मोहित हुँदै सुन्दर रूप धारण गरेर आफूलाई अपनाउन जिद्धी गर्न लागिन् । रामले आफूसँग सीता भएको, बरु भाइ लक्ष्मण एक्लो भएकाले उसैलाई सम्भावना सुझाए । शूर्पणखाले लक्ष्मणसँग आफ्नो मोह देखाइन् । लक्ष्मणले आफू त सेवक (नोकर) भएकाले सुहाउँदो होइन भनेर पन्छाए ।

    शूर्पणखा झोक्किँदै आफ्नो राक्षसी रूप लिई सीताकै कारणले आफूलाई पन्छाएको ठानी सीतालाई झम्टन गइन् । लक्ष्मणले तिनको नाक र कान काटिदिनुभयो । शूर्पणखाको आह्वानमा आएका खर र दूषण तथा तिनका राक्षस सेना पनि रामले ध्वंश गरिदिनुभयो । अनि शूर्पणखाले रावणकहाँ पुगी सबै वृत्तान्त बताई जसरी भए पनि बदला लिन उस्काइन् ।

    रावणले मारिच राक्षसलाई साथ लिई पञ्चवटी गयो । मारिच राक्षसले सुनको मृगको रूप धारण गरी कुटीनजिकैको उपवनमा चर्न थाल्यो । सीताजीले त्यो सुनौलो मृगलाई देखेर आफूलाई चाहियो भनी हठ गर्नुभयो । राम सीताको सुरक्षा गरेर बस्नु भनी भाइ लक्ष्मणलाई अह्राई सुनको मृग पछि लाग्नुभयो । तर, मृग जति गरे पनि उम्केर जाने गरेकाले वाण हान्नुभयो । त्यो कपटी मृगरूपी राक्षसले प्राण जाने बेलामा ‘हा, लक्ष्मण’ भनी आवाज निकाल्यो । सीताजीले रामले संकटमा परी बोलाएको ठानी लक्ष्मणलाई जान भन्नुभयो । लक्ष्मणको मनले नमाने पनि भाउजूको करले वरिपरि रेखा बाँधी त्यसबाट बाहिर ननिस्कनु भनी आवाज आएको दिशातिर जानुभयो ।

    यसरी सीता एक्लै परेको बेलामा रावण भिक्षुको रूप धारण गरी भिख माग्न आयो । सीताले कन्दमूल भिक्षा दिन लाग्नुभयो । तर, रावणले रेखा (घेरा) भित्रको भिख लिन मानेन । जब सीताजी रेखा नाघी भिख दिन लाग्नुभयो, रावणले आफ्नो असली रूप देखाई बलात् अपहरण गरी रथमा राखी आकाशमार्गबाट कुदाउन थाल्यो । सीताजीले आफ्नो बचाउका लागि रामलाई सम्झँदै गुहार माग्दै चिच्याउँदा जटायु नामक पक्षी (गिद्ध जो राजा दशरथका मित थिए)ले रोक्न खोज्यो । तर, रावणले उसको पखेटा काटिदियो । जटायु जमिनमा पछारिन पुग्यो ।

    राम र लक्ष्मण अनेक आशंका गर्दै कुटीमा फर्के । सीतालाई नपाएर रामले ठूलो विलाप गर्न थाल्नुभयो । लक्ष्मणले सम्झाउँदै सीताको खोजीमा जंगलमा यताउता भौँतारिँदा घाइते जटायु भेट्टाउन पुगे । उसले सीतालाई रावणले हरेर आकाशमार्गबाट दक्षिण दिशातिर लगेको, उसलाई रोक्न खोज्दा आफ्नो यो दशा भएको बताई प्राण त्याग गर्‍यो । रामले उसको बहादुरीको प्रशंसा गर्दै लक्ष्मणद्वारा चिता तयार गराएर जटायुको दाह गराउनुभयो ।

    सीताको खोज गर्दै जाँदा शवरी भेट्नुभयो । जो रामकै भक्ति गर्दै वनका फल चाख्दै मीठा भए रामलाई दिन्छु भनी पर्खिरहेकी थिइन् । तिनको भक्ति र फल खाई सोधनी हुँदा शवरीले पम्पा सरोवर हुँदै ऋष्यमुक पर्वतमा बसेका बाँदरराज सुग्रीवसँग मितेरी लगाएर सीताको खोजी अघि बढाउने सल्लाह र सान्त्वना दिइन् । यसरी रामले आफू सुग्रीव बाँदरराजसँग मितेरी सम्बन्ध लगाई सीताको खोजमा हिँडेको वेदना बाहुनरूपी हनुमानलाई सुनाए ।

    हनुमानले तत्काल आफ्नो असली रूप देखाई रामको भक्त हुनाले वर्षौँदेखि पर्खिरहेको भनी पाउमा परे । ‘जहाँ राम त्यहाँ हनुमान, जहाँ हनुमान त्यहाँ राम ।’ रामजीले हनुमानलाई अंकमाल गरे । अनि हनुमानले आफ्नो काँधमा चढाई दुवै भाइलाई सुग्रीवकहाँ पुर्याए ।

    राम र सुग्रीवको परिचय र बेलिबिस्तारपछि मितेरी सम्बन्ध भयो । सुग्रीवले आकाशमार्गबाट जान लागेकी सीताले ‘राम..राम..’ भन्दै गहनाहरू पोको पारेर खसालेको पछ्यौरा पनि दिए । जसलाई चिनेर रामको वेदना झन् बढ्यो । बालिबाट भाइ सुग्रीवमाथि अन्याय भएको, उनको श्रीमती पनि बलात् रानी बनाइएको सबै व्यथा सुनेपछि रामले सुग्रीवसँग राजपाठ र श्रीमती दिलाइदिने कबुल गर्नुभयो ।

    सुग्रीव किष्किन्धा गई बालिलाई हाँक दियो । राम वृक्षको आडमा छेकिएर धनुर्वाण लिई रहनुभयो । तर, दुवैजनाको रूप समान भएकाले तत्काल प्रहार गर्न झुक्किनुभयो । बालि त्यसै पनि बलवान थियो । भनिन्छ, उसले ब्रह्माबाट त्यस्तो वरदान पाएका थिए जसअनुसार ऊसँग मनोयोगले जति लड्छ त्यो लड्नेको आधा सामर्थ्य (बल) उसैमा जान्थ्यो । यसै भएर उसले रावण, दुन्दुभी र मायावी सबैलाई परास्त गर्न सकेको थिए ।

    यो सबै जानेका सुग्रीव रामकै भरमा बालिसंग जोरी खोज्न पुगेका थिए । तर, बालिको प्रहार एकहोरो भएपछि उम्की आएर रामसँग रिसाए जुन स्वभाविकै थियो । रामले उसको चोटले थिलथिल शरीर सुमसुम्याई पीडा नास गरी लक्ष्मणलाई भनी सयपत्रीको माला लगाइदिनुभयो ।

    हनुमान आठ चिरञ्जिवीमध्ये एक हुन् । त्रेतायुगमा रामका सेवक भए द्वापर युगमा महाभारतको लडाइँ हुँदा अर्जुनको रथ जसलाई कृष्णजीले सारथि बनी हाँक्नुभएथ्यो, सोही रथको झण्डामा हनुमानकै तस्बिरअंकित प्रतीक रहेको थियो ।

     

    सुग्रीव फेरि बालिसँग लड्न गयो । दुवैको बीचमा कुस्ताकुस्ती भयो । तर, जब सुग्रीव कमजोर हुँदै गयो रामजीले बालिलाई ताकी वाण प्रहार गर्नुभयो ।

    महाबलि बालि भुइँमा पछारिए । आफ्नो के अपराध थियो र भनी सोधनी गर्दा बिनादोष सुग्रीवलाई राज्यबाट बेदखल गरी रूमालाई बलात् रानी बनाएको सुनाएपछि उसले पछुतो मान्यो र अंगदलाई शरणमा लिन भाइ सुग्रीवलाई सुनाउँदै प्राण त्याग गर्‍यो । रानी ताराले विलाप गरिन् । रामले तिनलाई पनि सान्त्वना दिनुभयो र सुग्रीवले दाजुको दाहसंस्कार गरे ।

    १४ वर्षको वनवासको अवधि पूरा हुन बाँकी भएकाले राम नगरमा पस्नुभएन । लक्ष्मणलाई सुग्रीवको राज्याभिषेकको व्यवस्था मिलाउनुभयो । बाँदर परम्परामुताबिक तारा पनि रानी भइन् । अंगद युवराज र सुग्रीवपुत्र दधिबल अधिराजकुमार भए । हनुमान मुख्यमन्त्री भए । वर्षाकाल बितेपछि सुग्रीवले आफ्ना बाँदर फौजलाई चारै दिशामा खटाई सीताको खोजमा पठाए ।
    हनुमान, जाम्बवान दक्षिण दिशातिर जाने भए । हनुमानले रामबाट आशीर्वाद लिई सीता भेटेमा चिनो दिन भनेर औँठी लिए ।

    जंगल, नदी, तलाउ, पहाड, गुफा सर्वत्र खोज्दै बाँदरको झुण्ड दक्षिण दिशातिर लागिरह्यो । एउटा अद्भूतको गुफा देखेर हनुमानसमेत भोक–प्यासमा तुलबुलिएका बाँदर र भालुको समूह गुफा पस्यो । त्यहाँ सुन्दर बगैँचा, कमलका फूलहरू फुलिरहेको तलाउ, देव मन्दिर र एउटी तपस्विनी देखे । तिनी स्वयम्प्रभा थिइन् । तिनले सोधेपछि हनुमानले सबै कुरा बताए । तपस्विनीले पहिले फलफूल खाऊ, तिर्खा मेटाऊ भनिन् ।

    अनि पछि स्वयम्प्रभाले ‘आँखा चिम्ल, उघार्दा समुद्र किनारमा पुग्नेछौ,’ भनिन् । नभन्दै बाँदर र भालुको जत्था समुद्र किनारमा पुग्यो । त्यहाँ जटायुको दाजु सम्पातिसँग भेट भयो । उसले समुद्रपारि लंकामा रावणको राज्यमा अशोक रुखको बगैँचामा सीताजी शोकाकुल भई रहनुभएको बतायो ।

    समुद्र पार गर्न कसैको आँट भएन, तर जाम्बवानले हनुमानलाई वरदानबाट पाएको शक्ति सम्झाए । चार सय कोस दूरी परको लंकाको अशोक बगैँचामा सीता शोक गर्दै बसेकै रुखमा चढेर लुकी बसे । रावण आएर रामलाई बिर्सेर आफूलाई स्वामी मान्न आग्रह गर्‍यो । तर, सीताले ठाडै इन्कार गरिन् । रावणले आफ्नो अपमान सम्झी महिना दिन पर्खने नत्र भने मारिदिने धम्की देखाएर गयो ।

    हनुमानले रामको औँठी खसाली आफ्नो परिचय दिएर अब छिट्टै राम–लक्ष्मण, बाँदर सेना भालुसहित आएर सीतालाई मुक्त गर्ने कुरा सुनायो । सीताको चिन्ता हट्यो । उहाँको अनुमति लिएर हनुमानले त्यो बगैँचाका फलफूल खान थाल्यो । उसलाई रोक्न खोज्ने रखवारहरूलाई पनि मार्‍यो । बगैँचाको विध्वंसको खबर पुगेपछि रावणका कान्छा छोरा अक्षयकुमार आए, तर हनुमानले रुखकै हाँगाको प्रहारबाट उनलाई मारिदियो ।

    रावणको छोरा मेघनाद आयो । उनी जन्मँदा मेघ (बादल) गर्जेको आवाज आएकाले मेघनाद नाम राखिएको थियो । उसले आफ्नो पौरखले देवराज इन्द्रलाई पनि हराएकाले उसको नाम इन्द्रजित कहलाएको थियो । उसले हनुमानलाई ब्रह्मास्त्र प्रहार गरी ढलायो । ढल्दाढल्दै पनि हनुमानको शरीरबाट थिचिएर किचिएर राक्षसहरू मारिए ।

    हनुमानलाई बाँधेर रावणको सभामा पुर्याइयो । उनी पनि त्यो सभा हेर्न चाहन्थे । रावणलाई हनुमानले आफू रामको सेवक भएर आएको बाँदर जाति भएकाले फलफूल खाएको कुरा बतायो र सीतालाई फर्काउन आग्रह गर्‍यो । तर, रावण घमण्डी थिए । छोरा मारिएकाले पनि यो बाँदरलाई मार्नैपर्दछ भन्ने सोचमा लागे । त्यही बेला रावणको भाइ विभीषणले ‘दूतलाई मार्नुहुँदैन, अरू नै सजाय दिनुपर्दछ’ भनी सुझाए, ‘बाँदरको मोह पुच्छरमा हुन्छ ।’ त्यसमा तेलमा डुबाएको कपडा बाँधी आगो लगाइदिन रावणले अह्राए ।

    उनले पुच्छर यसरी बढाए कि भएभरको तेलमा डुबाएको झुम्रोले पनि पुगेन । आगो सल्केपछि हनुमान सानो रूप लिई उफ्री कौसी–कौसीमा चहार्न थाल्यो । हावाको वेगले जहाँ–जहाँ उनी पुगे त्यहाँ आगो सल्कँदै गयो । सुनको नगरी लंका जलेर खरानी भयो । विभीषणको घर मात्र केही भएन । समुद्रमा डुबी पुच्छरको आगो निभाई सीतालाई भेट्न पुग्यो हनुमान । अनि उहाँलाई सम्झाई समुद्र नाघेर वल्लो पार आइपुगे । अंगद, जाम्बवान, नल नील सबै खुसी भए । अलमल नगरी सुग्रीवकहाँ पुगे र रामजीलाई ‘सीता’को अवस्था बताइयो । हनुमानको पौरखबाट रामजी खुवै प्रभावित हुनुभयो ।

    सुग्रीवको आज्ञानुसार बाँदर र भालुको सेना तयार भयो । राम र लक्ष्मणसहित त्यो विशाल फौज रामजीको जयजयकार गर्दै जंगल, भञ्ज्याङ, पहाड, पार गर्दै समुद्र किनारमा पुग्यो । त्यहाँ रामले शंकरको स्तुति गरेकाले रामेश्वर कहलायो ।

    रावणले भन्यो, ‘मैले स्वर्गसम्म पुग्ने सिँढी बनाउने अठोट गरेको थिएँ, तर त्यसलाई भोलि गरुँला भनी पन्छाएँ, यता सीताको हरणचाहिँ तुरुन्त गरेँ, त्यसैको फल पाएँ ।’ असल काम तुरुन्त गर्नुपर्दछ, खराब कामचाहिँ ढिलो गर्नुपर्दछ ।

    यता लंकामा रामजीहरू समुद्र किनारमा आइसकेको खबर पुग्यो । रावणकी पत्नी मन्दोदरी र भाइ विभीषणले सीताजीलाई फर्काउन सम्झाए । तर, आफ्नो बलमा घमण्डी रावणले कुनै कुरा सुनेनन् । उल्टो विभीषणलाई ‘शत्रुको बखान गर्ने उतै जा’ भनी अपमान साथ निकालिदियो । विभीषण वायुमार्गबाट आई रामकै शरणमा पर्‍यो । रामजीले लंकाको भावी राजाको रूपमा कदर गरी शरणको मरण गर्नुभएन ।

    तर, विशाल समुद्र तरेर लंका पुग्न सजिलो थिएन । हनुमान मात्र उडेर जान सक्दथ्यो । जाम्बवानले नल र नलीलाई पुल बनाउन अह्राएपछि पहाड फोरी ढुंगा ल्याई ‘राम नाम’ लेखी जोड्दै लाँदा समुद्रमा ती ढुंगा उत्रँदै गए । यसरी चार सय कोसको पुल बन्यो । यो सबै काममा हनुमान सक्रिय थिए ।

    सबैजना समुद्रपारि पुगे, विभीषणको सल्लाहले अंगदलाई रावणकहाँ पठाएर सीताजीलाई सुम्पन भनियो । तर, दशटाउके रावण आफ्नो बल र वरदानको तुजुकमा पूरै घमण्डी थियो, बाँदर र भालुसँग आउने मानवपुत्रसँग किन डराउने भनी लडाइँकै लागि तत्पर भयो ।

    आखिरमा दुवै पक्षबीच घनघोर लडाइँ भयो । बलशाली हनुमानको अगाडि राक्षस सेना टिक्दैनथ्यो । बाँदर र भालुसँग राक्षसहरू मायावी लडाइँ गर्दथे । मेघनाद शक्तिशाली थियो । ऊ पनि आकाशमा उडी आगाका फिलिंगा बर्साउँथ्यो, छिनमै जमिनमा प्रकट भई पानीको फोहोरा, पत्थर गिराउँथ्यो, धुलो फ्याँकेर अँध्यारो पार्दथ्यो ।

    उसको यो कौतुकबाट आकुल–व्याकुल भएका रामजीका सेनाको अगाडि लक्ष्मण अघि सरी आफ्नो धनुबाट बाण मेघनादमाथि लगातार प्रहार गर्न लाग्नुभयो । हनुमानले लक्ष्मणलाई मेघनादकै अघिपछि घेराएर कहिलेकाहीँ बोकेर लान मद्दत गर्‍यो ।

    यसरी आफू संकटमा परेपछि मेघनादले अमोघ हतियार प्रयोग गर्‍यो जुन लक्ष्मणजीको छातीमा लागेपछि उहाँ मुर्छित हुनुभयो । भाइको त्यो अवस्थाबाट विचलित रामलाई विभीषणले रातभरिमै सञ्जीवनी बुटी ल्याएमा बचाउन सकिन्छ । त्यो बुटी पाइने पर्वतको ठेगाना पनि बताइदिए । हनुमानले नै वायुमार्गबाट गई बुटी चिन्न नसकी पर्वतै उचाली ल्याए । विभीषणले बुटी ख्वाई लक्ष्मणलाई बचायो ।

    रावणको भाइ कुम्भकर्ण थियो, जो ६ महिना सुत्दथ्यो । ६ महिना उठ्दथ्यो । रावणले उसलाई गुहार्‍यो र लडाइँमा अघि सर्न बाध्य बनायो । कुम्भकर्णले विभीषणलाई भेटेर आशीर्वाद दियो । अनि रावणको सेनालाई अघि लगाउँदै मुठभेड गर्न थाल्यो । सुग्रीव र हनुमानले उसमाथि मुड्की प्रहार गर्न थाल्यो । तर, त्यो बलशाली राक्षसको ठूलो मुखमा थुप्रै बाँदर परे । हातले मिचेर शरीरले थिचेर उसले रामजीका सेनालाई हताहत पारे । अनि रामजीले अनेकौँ बाण हानी उसलाई परमधाम पुर्याइदिनुभयो ।

    त्यसपछि मेघनादलाई लक्ष्मणजीले मार्नुभयो । अब रावण स्वयं रथमा चढेर युद्धमैदानमा अघि सर्‍यो । यता राम–लक्ष्मण त रथविहीन थिए । लडाइँको उत्कर्षमा इन्द्रले रामजीलाई रथ पठाइदिए ।

    राम र रावणबीचको युद्ध भयानक थियो । दुवै पक्षका सेना एक–अर्कालाई बाँकी नराख्ने भन्दै लडिरहे । रावणको हातहतियार प्रबल थियो, यता रामजीले पनि त्यसको प्रहार एकपछि अर्को गर्दै सामना गर्नुभयो । उहाँले उसको १० वटा टाउको काट्दै लाँदा फेरि–फेरि ब्युँतिन्थ्यो । विभीषणले पनि उसको छातीमा बज्र प्रहार गर्‍यो । ऊ बेहोस त भयो, तर होस आएपछि माया युद्ध (छल) गर्न थाल्यो ।

    विभीषणले रावणको नाभी कुण्डमा अमृत छ त्यसैले त्यो बाँचिरहेको छ भनी बताएपछि रामजीले एउटा वाणले नाभी कुण्डको अमृत सोसी अरू वाणले उसका टाउका र हातहरू काटिदिनुभयो ।

    रावण जति घमण्डी थियो त्यति ज्ञानी पनि । यसैले उसको प्राणान्त हुने बेलामा रामजीले उसबाट आखिरी शिक्षा लिन लक्ष्मणलाई अह्राउनुभयो । रावणले भन्यो, ‘मैले स्वर्गसम्म पुग्ने सिँढी बनाउने अठोट गरेको थिएँ, तर त्यसलाई भोलि गरुँला भनी पन्छाएँ, यता सीताको हरणचाहिँ तुरुन्त गरेँ, त्यसैको फल पाएँ ।’ असल काम तुरुन्त गर्नुपर्दछ, खराब कामचाहिँ ढिलो गर्नुपर्दछ ।
    रामजीको आज्ञाले लक्ष्मणले विभीषणलाई राज्याभिषेक गरिदिनुभयो । भनिन्छ– लक्ष्मणले स्वर्गपुरी लंकामा हामी नै बसे के होला भन्दा रामले ‘आमारूपी जन्मभूमि स्वर्गभन्दा महान् हुन्छ । हाम्रो आमा जन्मभूमि अयोध्या हो, त्यहाँ नै फर्कनुपर्दछ ।’

    हनुमानले रामलाई अशोक बाटिकामा पुर्याए । सीतासँग मिलनको सम्पूर्ण जस हनुमानले पाए । सुग्रीव, जाम्बवान, नल, नील र अंगद सबैलाई रामजीले धन्यवाद दिई किष्किन्धा नगरी फर्काउनुभयो । तर, हनुमानले ‘म रामकै साथ रहन पाऊँ’ भनी बिन्ती गर्‍यो।

    १४ वर्ष वनवास पूरा भएकाले राम, लक्ष्मण, सीता र हनुमान रावणकै पुष्पक विमान चढी अयोध्या नगरी फर्कनुभयो ।

    रामको खराउ राजसिंहासनमा राखी राजपाठ गरिरहेका भरतले अपार खुसीसाथ राज्यको जिम्मा रामजीलाई लगाइदिनुभयो ।

    हनुमान आठ चिरञ्जिवीमध्ये एक हुन् । त्रेतायुगमा रामका सेवक भए द्वापर युगमा महाभारतको लडाइँ हुँदा अर्जुनको रथ जसलाई कृष्णजीले सारथि बनी हाँक्नुभएथ्यो, सोही रथको झण्डामा हनुमानकै तस्बिरअंकित प्रतीक रहेको थियो । यसरी बाल्यावस्थामा सूर्यलाई नै निल्न सक्ने बाल ढेडु हनुमान बनेर चर्चित भयो ।

     – भीनपा– २, दोलखा,
     हाल, झम्सिखेल, ललितपुर– ३

    (लेखक पुर्वनिजामती कर्मचारी तथा साहित्यकार हुनुहुन्छ । - सँ  )

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?