‘आज हामी फोसल रिममा जाने !’ नाति निभेद खुसीले रमायो ।
हो, हिजै सौजनले हामीलाई पनि भनिसकेको थियो ।
‘फोसल रिम के हो ? कति टाढा छ ? हामीलाई थाहा छैन ।’ म फुस्फुसाएँ ।
‘जाऔँ न देखिहाल्नुहुन्छ नि ! म पुर्याइहाल्छु क्या रे !’ सौजनले भनेको थियो । हामी ढुक्क थियौँ नाति, छोरा, बुहारीसँगै घुम्न जान पाएकोमा ।
हामी निस्क्यौँ बिहान ९ बजे घरबाट । फोर्थ वर्थको डाउनटाउन पनि नाघ्यौँ । त्यसपछि ठूला–ठूला फाँटहरू देखिन थाले । कतै चरण क्षेत्रजस्ता, कतै जंगलजस्ता । चरण क्षेत्रमा गाईवस्तुहरू चरिरहेका पनि देखिए ।
‘ऊ ऊ काउ !’ प्रतिभाले चरिरहेको गाई देखाउँदै भनिन् । निभेदले यताउता आँखा घुमायो । हामी पनि निभेदझैँ बालकै न थियौँ । धेरै कुरा जान्न उत्सुक, धेरै कुरा बुझ्न आतुर !
‘ऊ त्यो निलो फूल ब्लु बनेट हो । टेक्सासमा खुब रुचाइन्छ,’ सौजनले भन्यो ।
‘खै–खै ड्याडी ?’ निभेदले चासो देखायो । ऊ कारको पछिल्लो सिटको बुस्टर सिटमा चल्मलायोे । १०–१२ वर्षको नभएसम्म थपुवा बुस्टर सिट (बेबी सिट) मै बसाल्नुपर्दोरहेछ बालबालिकालाई । नियम हो आ–आफ्नो देशको । पालना गर्नैपर्छ ।
‘ऊ त्यहाँ देखेनौ ?’ सौजनले भन्यो । ऊ आफ्नो पुत्र निभेद र हामी आमाबालाई धेरैभन्दा धेरै कुरा देखाउन चाहन्थ्यो, बुझाउन चाहन्थ्यो ।
मैले देखेँ, सडकका दुवै किनारामा छपक्कै भुइँफूल फुलेका थिए निलै । वसन्त ऋतुमा फुल्ने भइँफूलहरू रुचाइँदो रहेछ यहाँ पनि ।
‘आहा ! राता, निला, बैजनी, गुलाफी फूलहरू पाखैभरि कति राम्रा ! गलैँचा ओच्छ्याएको जस्तै,’ प्रतिभाले भनिहालिन् ।
ठूलाठूला फाँटका बिचमा लमतन्न तन्किएका चिल्ला सडकहरू । दायाँबायाँ भुइँफूलका गलैँचाहरू । बीचबीचमा देखापर्ने स–साना सुन्दर बस्तीहरूले हामीलाई लोभ्याइरह्यो ।
‘ऊ ऊ डाइनोसर !’ निभेदले उत्साहित हुँदै देखायो । देख्यौँ, डाइनोसरका प्रतिमूर्तिहरू उभ्याइएका थिए एउटा फाँटभरि । डाइनोसरको कल्पना र लोकप्रियता गज्जबैको छ यहाँ ।
डाइनोसरलाई एउटा अजंगको घस्रने प्राचीन जन्तु मानिन्छ । धेरै–धेरै वर्ष पहिलेको । दुई करोड वर्षभन्दा पहिलेको । अनुमान हो ।
यसको आकार कस्तो थियो ? स्वभाव कस्तो थियो ? कसैलाई थाहा छैन । न त यो अहिले जीवित तै भेटिन्छ । करोडौँ वर्ष पहिले लोप भइसकेको जीव हो यो ।
जमिनभित्र पाइएको जीवांश (Fossil) बाट डाइनोसरको कल्पना गरिएको होे । जीवांश भन्नाले जीवजन्तुहरूको अंगको हाडखोडजस्ता कडा भागको अवशेष मानिन्छ, जुन धेरै कालदेखि जमिनभित्र दबेर ढुंगा नै बनिसकेका हुन्छन् । यस्तै करोडौँ वर्ष पहिलेको जीवांशबाट डाइनोसरको कल्पना गरेका हुन् वैज्ञानिकहरूले । यो लर्तरो काम भने होइन ।
पहिले डाइनोसरलाई छेपारोजस्तो घस्रने जीवको रूपमा लिइन्थ्यो । अहिले पखेटा भएको उड्ने डाइनोसरको पनि कल्पना गर्न थालिएको छ । त्यसको आधार हो वैज्ञानिक खोजबाट पखेटायुक्त डाइनोसरको जीवांश भेटिनु ।
निभेद डाइनोसरसम्बन्धी कथाका पुस्तकहरू पढ्न रुचाउँछ । यस्ता पुस्तक धेरै लेखिएका छन् । डरलाग्दा भए पनि डाइनोसरसम्बन्धी रोमाञ्चक चलचित्रहरू हेर्न मन पराउँछ । र त डाइनोसरको प्रतिमूर्ति देख्नासाथ ऊ उत्तेजित हुन पुग्यो, ‘ऊ ऊ डाइनोसर ।’
यस्ता जीवजन्तुहरू देख्दा वा भेट्दा रमाउँछौ हगि नानीबाबु हो ? को बालबालिका नरमाउलान् र ! निभेद पनि रमाइरहेको थियो फोसल रिम जाँदै गर्दा ।
बल्ल चाल पाएँ मैले । फोसल रिम (Fossil Rim) त वन्यजन्तु केन्द्र (Wildlife Center) पो रहेछ । बालबालिकाहरूले ज्यादै रुचाउने ठाउँ ।
हो है । म पनि रमाउँथे बालक छँदा, अहिले पनि रमाउँछु मज्जैले । निभेद नरमाउने त कुरै भएन । पिभु (छाउरी) नै पालेको छ उसले घरमा ।
डेनटनस्थित घरबाट निस्केको ठ्याम्मै डेढ घण्टा भएछ ।
ग्लेन रोन, टेक्सासस्थित फोसल रिम वन्यजन्तु केन्द्र हामीलाई देखेर मुस्कुरायो । डाइनोसरका प्रतिमूर्तिहरू हाम्रो स्वागतका लागि ठिंग उभिएझैँ थिए प्रवेशद्वारमै ।
टिकटको व्यवस्था पहिले नै भइसकेको थियो । कार लिएरै आरक्षण घुम्न प्रतिव्यक्ति तीस डलर लाग्दोरहेछ । तिरिसकेका थिए सौजन र सुमित्राले । हामी बाजेबज्यै र नाति ढुक्कै !
प्रवेशद्वारबाट छिर्न लामबद्ध भयौँ कारसहित । प्रवेशद्वारमै वन्यजन्तुलाई खुवाउन चाराको एक पुडिया दिइँदोरहेछ । त्यो लिएर हामी अगि बढ्यौँ सुस्त–सुस्त । बेजोडले हाँक्न पाइँदो रहेनछ कार । हाँक्न सकिँदो पनि रहेनछ ।
अन्य कारका ताँतीहरू पनि रोकिँदै–रोकिँदै जाँदै थिए । हामीलाई हतारो लागेर के गर्नु ! निभेद भने वन्यजन्तुसँग भेट्न आतुर देखिन्थ्यो ।
पहिले त निभेद केही हच्कियोे पनि । पछि सबैले चारा दिन थालेपछि उसले पनि चारा भुइँमा खसालिदियो । त्यो चारा बाह्रसिङ्गे जरायोले टिपेर खाएको देखेर प्रफुल्ल बन्यो ऊ ।
‘ऊ हरिण, ऊ ऊ जरायो !’ केही अगाडि देखाउँदै प्रतिभाले संकेत गरिन् । तीखो छ उनको आँखा । उनी र सुमित्रा पछिल्लो सिटमा निभेदको दायाँबायाँ बसेका थिए । म सौजनसँग अघिल्लो सिटमा ।
नभन्दै हरिण र जरायोहरू बाटो छेकेरै चाराको आसमा कारनजिकै आए ।
‘लौ–लौ चारा देऊ,’ सुमित्राले निभेदलाई भनिन् । पहिले त निभेद केही हच्कियोे पनि । पछि सबैले चारा दिन थालेपछि उसले पनि चारा भुइँमा खसालिदियो । त्यो चारा बाह्रसिङ्गे जरायोले टिपेर खाएको देखेर प्रफुल्ल बन्यो ऊ ।
सबै वन्यजन्तुहरू पाल्तु भइसकेका देखिए गाईबाख्राजस्ता । गाडी वा मान्छेसँग फिटिक्कै नडराउने । गाडीनजिकै आएर चारा हात–हातबाटै खोसेरसमेत खाने भइसकेका रहेछन् ।
अनि त निभेद पनि सुरियो मज्जैले । धमाधम दिन थाल्यो चारा बाटोमा भेटेजति वन्यजन्तुहरूलाई । धर्केमर्के जेब्राले हातैमा चारा खाइदिएकाले निभेद दंग पर्यो।
फोसल रिमको पर्वतीय वातावरण अति सुरम्य थियो । उबडखाबड धरातल, कतै अग्लो, कतै होचो थियो । कतै रुख र झाडीले भरिएको, कतै खुला मैदान देखिन्थ्यो । खोल्साखोल्सी र घुमाउरो सडकले आकर्षक देखिन्थ्योे । त्यसमा पनि वन्यजन्तुको चहलपहलले रोमाञ्चित तुल्याउँथ्यो ।
मध्यभागतिर सबभन्दा अग्लो स्थानमा सुस्ताउने स्थान रहेछ । सौजनले कार पार्किङ गर्यो । हामी सबै रेस्टरुमतिर हत्तारिँदै लम्कियौँ ।
त्यहाँ सुभेनियर पसल र चमेनागृह पनि रहेछन् । यात्रीहरू त्यतैतिर अलमलिएका देखिन्थे । हामीले फ्रेस भएर लन्च त्यतै लिने निधो गर्यौं। हामी सबैलाई भोक लागिसकेको थियो । मध्याह्न १२ नाघिसकेको पनि थियो नि ! निभेदले भोक खप्न सकिरहेको थिएन । भोकले गर्दा झर्किन थालिसकेको थियो ऊ । झटपट चमेनागृहमा पस्यौँ, बस्यौँ र खायौँ ।
पिचबाटो कहिले तल त कहिले माथि जेरीको फन्कोझैँ जेलिएको थियो । विभिन्न वन्यजन्तुहरू देखिन्थे र ओझेल पर्थे ।
हामीले दिएको चारा कैयौँ जन्तु हातैमा खान आए, कसैले खाँदै खाएनन् । अटेरी भएर बसिरहे । एउटा हरिण निभेदको अगाडि आयो, तर उसले दिएको चारा खाएन । मुख बटार्दै गयो । यो देखेर निभेद के–के फलाक्दै झर्कियो र ठुस्स पनि पर्यो । तर, तुरुन्तै एउटा जिराफले उसको मन फुरुंग पारिदियो । बाल मन न हो !
अलि टाढा बसेको एउटा जिराफलाई हातको चारा देखायौँ । जिराफ घाँटी तन्काउँदै लसक–लसक लम्केर आयो । अहो ! कति लामो घाँटी ? खुट्टा पनि त्यस्तै लामा । निभेद एकटकले हेरिरह्यो ।
जिराफले आफ्नो लामो घाँटी तन्काउँदै र दोब्य्राउँदै चारा खान खोज्यो । सौजनले कारको हुट खोलिदियो । निभेदले डराउँदै चारा भएको आफ्नो सानो हात अगाडि बढायो । हुटबाट थुतुनो घुसारेर जिराफले निभेदले दिएको चारा खायो सर्याप्प !
भनिन्छ– त्यहाँ पचास जातिका एक हजारवटा विभिन्न वन्यजन्तु छन् रे !
विश्वकै सबभन्दा ठूलो चरा अस्ट्रिज पनि देख्यौँ, दोस्रो ठूलो चरा इमु पनि । कैयौँ वन्यजन्तु त हामीले चिन्दै चिनेनौँ ।
निभेदले रमाउँदै फेरि–फेरि खुवायो । हामी सबैले त्यसरी नै ख्वायौँ । मज्जा लाग्यो । यसरी नजिकैबाट जिराफलाई चारा दिएर खुवाएको हाम्रो पहिलो अनुभव हो । फोसल रिमको जिराफ त
निभेदको साथी नै बन्यो नि !
निभेदको बाल चञ्चलता फक्रियो मज्जैले । मुस्कायोे निभेद र रमायौँ हामी पनि ।
फोसल रिमभित्रको साढे नौ माइलको सडक छिचोल्दा कुनै अत्यास लागेन । रमाउँदै पहाडी धरातल, जंगल र खोल्साखोल्सीसहितको परिवेश घुम्यौँ फन्फन्ती ।
अड्याक, अफ्रिकन कछुवा, बारबरी भेडा, अरेबियन ओरेक्स, ब्लाकबुक, जेब्रा, जिराफ, हरिण, जरायो, मृगजस्ता जनावरहरू भेटिए । अस्ट्रिज, इमु, गिद्धजस्ता चराचुरुंगी देखिए । यस्ता सयौँ वन्यजन्तु खुला वातावरणमा विचरण गरिरहँदा मनै फुरुंग भइरह्यो ।
भनिन्छ– त्यहाँ पचास जातिका एक हजारवटा विभिन्न वन्यजन्तु छन् रे !
विश्वकै सबभन्दा ठूलो चरा अस्ट्रिज पनि देख्यौँ, दोस्रो ठूलो चरा इमु पनि । कैयौँ वन्यजन्तु त हामीले चिन्दै चिनेनौँ । कुनै अफ्रिकाबाट, कुनै युरोपबाट, कुनै एसियाबाट त कुनै अस्ट्रेलियाबाट समेत ल्याइएका रहेछन् । अमेरिकाको त हुने नै भए ।
दुईसिंगे गैँडा, कालोखुट्टे बिरालो, रातो ब्वाँसो, चितुवाजस्ता हिंस्रक वन्यजन्तु भने सुरक्षित घेराभित्र थिए । हामीले चियाइचियाई हेर्यौं । कुनै देख्यौँ, कुनै देखेनौँ ।
जे होस्, निभेदको मुस्कान फक्रियो मज्जैले !
बिहान ८ः३० देखि दिउँसो ३ः३० सम्म खुल्ने रहेछ यो केन्द्र । यस वन्यजन्तु केद्रमा हामी बिहान करिब ११ बजे भित्रिएर बाहिर निस्किँदा दिनको १ः३० बजिसकेको थियो । त्यसपछि हामी सीधै घरतिर हान्निर्यौं।
हामीकहाँ पनि वन्यजन्तुलाई पाल्तुजन्तुको रूपमा रत्याउन सके कति मज्जा आउँथ्यो । भाइबैनीहरू कति रमाउँथ्यौँ हगि ! हामी पनि रमाउने थियौँ ।
२२ चैत २०८० (४ अप्रिल २०२४)
लासलोमास, डेनटन,
टेक्सास, अमेरिका
(लेखक पुर्वनिजामती कर्मचारी तथा साहित्यका बिबिध बिधामा कलम चलाउने वरिष्ठ साहित्यकार / बाल साहित्यकार हुनुहुन्छ । - सँ )
प्रतिक्रिया दिनुहोस