२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

च्याम्बरमा पाक्न थाले केरा



  • रासस
  •     (१२ महिना अघि)
  • पाठक संख्या ११८
  • चितवन/  केरा उत्पादन गरेर बिक्री–वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले व्यवसायीलाई केरा पकाउन अनुदानमा च्याम्बर निर्माण गरेको हो । 

    आव ०७८/७९ देखि कार्यान्वयन एकाइले चेम्बर निर्माण गर्न थालेको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाका अनुसार कार्यालयले ६० देखि ८० प्रतिशतसम्म अनुदानमा केरा व्यवसायीका लागि केरा पकाउने चेम्बर निर्माण गरेको छ । 

    अहिलेसम्म १२ वटा चेम्बर निर्माण भइसकेको ढुंगानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केरा पकाउन सजिलो होस् र लामो समयसम्म राख्न सकियोस् भनेर अनुदानमा चेम्बर निर्माण गरिएको हो ।’

    कार्यालयले अनुदानमा चेम्बर निर्माण गरेसँगै व्यवसायीले व्यक्तिगत लगानीमा समेत अहिले चेम्बर बनाएर केरा पकाउन थालेका छन् । ढुंगानाका अनुसार ५ जना व्यवसायीले आफ्नै लगानीमा चेम्बर निर्माण गरेका छन् । कार्यालयले निर्माण गरेको चेम्बरमध्ये एउटा रत्ननगरको तरकारी बजारमा र ११ वटा महानगर ताजा तरकारी तथा फलफूल बजारमा राखिएको उहाँले जानकारी दिनुभयो । 

    यी च्याम्बरमा व्यवसायीले १५० कोसा केरा ३५ रुपैयाँमा पकाउने गरेका छन् । ९ लाख ५० हजार रुपैयाँको लागतमा एउटा चेम्बर निर्माण हुने ढुंगानाले बताउनुभयो । 

    खैरहनीका केरा व्यवसायी सागर भट्टराईले चेम्बर निर्माण भएपछि केरा पकाउन औषधि राख्नुपर्ने बाध्यता टरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला केरा पकाएको ३ दिनभित्र बिक्री गरिसक्नुपर्ने हुन्थ्यो । अहिले १ सातासम्म बिक्री गर्न पाइन्छ ।’

    च्याम्बरमा केरा पकाउँदा केराको रङसमेत आकर्षक बन्ने गरेको व्यवसायी बाबुराम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केराको डाँठ कुहिनेजस्ता समस्याबाट अहिले हामीले मुक्ति पाएका छौँ । चेम्बरबाट आवश्यकताअनुसार २ देखि ७ दिन लगाएर पकाउन सकिन्छ ।’

    जिल्लामा २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गरिँदै आएको छ । यहाँ वार्षिक ५६ हजार ४ सय ४८ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । यहाँको केराको बजार चितवनसहित काठमाडौं, पोखरा, बुटवलसम्म रहेको किसान बताउँछन् ।