१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बिपी संग्रहालयको अवलोकन

नियात्रा



  • आफ्नै खबर
  • २७ बैशाख २०८१ बिहिबार (७ महिना अघि)
  • पाठक संख्या २२४
  • महेन्द्र चालिसे

    सुन्दरीजल त धेरैपटक गइएको थियो, तर बिपी संग्रहालयमा धेरै अघिदेखि नै जाने जमर्को गरे पनि अनुकूल मिलेको थिएन । यही वैशाख १९ गते अर्थात् २०२४ मे १ तारिख विश्व मजदुर दिवसको दिन मिल्यो । त्यो पनि केही साथीहरूले बराहक्षेत्रमा चलिरहेको कुम्भमेला जान राखेको प्रस्तावअनुसार जान नपाएपछि । 

    मान्छेको दैनिकी पनि अनौठो हुन्छ । यात्राकै विषयलाई जोडेर भन्नुपर्दा सोचेअनुसार हुन निकै गाह्रो । बराहक्षेत्र जान नमिलेपछि मित्र बद्रीको प्रस्तावअनुसार विशंखुनारायण जान ५ जनाको टोली तयार भयो । यात्राका लागि बन्ने योजना पनि लगभग नेपालका राजनीतिक नेताले बनाउने योजनाजस्तै हुन्छ जस्तो लाग्छ । अघिल्लो दिन साँझ ४ बजेतिर योजनाकारले नै आफन्त सिकिस्त भएको भन्दै योजना रद्द गरिदिए । 

    त्यसपछि बनेको हो, बिपी संग्रहालय भ्रमणको योजना । आफू जन्मेको र अहिलेसम्म जीवनयापन गरिरहेको स्थानबाट करिब ४ किलोमिटर टाढाको बिपी संग्रहालय अहिलेसम्म पुगेको छैन भनेर स्विकार्दै गर्दा, ‘नजिकको तीर्थ हेला’ भन्ने उखान याद आयो । 

    ०७२ सालको भूकम्पबाट सुन्दरीजलस्थित बिपी संग्रहालय पनि अछुतो रहेन भन्ने समाचारमा पढेको थिएँ । त्यसपछि बन्द भएको पनि सुनेको थिएँ । फेरि सञ्चालन भयो कि छैन होला ? त्यसमाथि राष्ट्रिय बिदाको दिन ! आदि सोच आएपछि ‘पहिला बुझौँ न त’ भन्ने लाग्यो । सोचसँगै प्रश्न पनि उठ्यो– तर, बुझ्ने पो कोसँग ?
    बिपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोख्रेललाई सम्झेँ । पहिला राम्रै भेटघाट पनि हुन्थ्यो । हामी उनलाई भाइ नै भन्थ्यौँ र भन्छौँ पनि । एक समय उनले गरेको सहयोग बिर्सन सकिन्न । ०३७/३८ सालतिर उनी वीर अस्पतालमा काम गर्थे । त्यही अस्पतालमा आमाको ब्रेस्ट क्यान्सरको अप्रेसन हुँदा निकै सहयोग पाएका थियौँ । डाक्टर दिनेशनाथ गंगोल, डा. मनोहरलाल श्रेष्ठ र डा. उपेन्द्र देवकोटाले गरेको त्यो अप्रेसनका समयमा उनले गरेको सहयोग तिर्न सकिन्छ जस्तो लाग्दैन । तर, त्यसपछि उनीसँग खासै सम्पर्क थिएन । आक्कल–झुक्कल भेट्दा ‘के छ ? ठीक छ’ अर्थात् चरम औपचारिकतामै सीमित थियो ?

    सम्पर्कका लागि मसँग उनको फोन नम्बर थिएन । सामाजिक सञ्जालमा भने जोडिएकाले ‘यत्रो समय सम्पर्क नभएको मान्छे, के भन्ठान्ने हो’ भन्ने सोच्दै मेसेन्जरमा संग्रहालय खुल्ने वा नखुल्ने जिज्ञासासहित उनको मोबाइल नम्बर माग्दै म्यासेज गरेँ । केहीबेरमै जवाफ आयो, ‘दाइ, १० बजेपछि आउनुहोस् न, अनि आउनुअघि मलाई फोन गर्नोस् है ।’ मोबाइल नम्बर पनि आदान–प्रदान भयो । 
    भोलिपल्ट म, इन्दिरा, पूर्णचन्द्र जोशी, नारायण जोशी र तारा जोशी सुन्दरीजलतिर लाग्यौँ । बिपी संग्रहालय अर्थात् त्यसबेलाको सुन्दरीजल आर्मी ब्यारेक (सुन्दरीजल  आर्सनल) पुग्यौँ । जहाँ तत्कालीन शाही नेपाली सेनालाई आवश्यक बारुद बनाइन्थ्यो । ०१७ साल फागुन महिनामा बिपी कोइराला, गणेशमान, सूर्यप्रसाद उपाध्याय, किशुनजी, रामनारायण मिश्र, प्रेमराज आङ्देम्बे, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलाई बन्दी बनाएर थुनिएको थियो त्यहाँ ।
    ढोका बन्द थियो । प्रहरी जवान सुरक्षाका लागि बसेका थिए । हामीले आफ्नो परिचय दिँदै संग्रहालय हेर्न आएको भन्यौँ । तर, उनले बन्द छ, खोल्न मिल्दैन भन्ने जवाफ दिए । यहाँको अध्यक्षज्यूले बोलाएर आएको भन्दा पनि ढोका खोलिदिन मानेनन् । परशुरामजीलाई फोन गरेर सबै कुरा बताएपछि उहाँहरूको सीधा कुरा भयो । पुलिसले फोन फिर्ता गर्दै, ढोका खोलिदिए । २०४७ साल जेठमा सुन्दरीजलको बीपी चोकमा पोखरेलकै अग्रसरतामा बीपी संग्रहालयको परिकल्पना अगाडि बढेर बल्ल ०६१ सालबाट बिधिवत रुपमा बीपी संग्रहालयमा रुपान्तरित भएको यो स्थल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

     


    हामी भित्र पस्यौँ, सबैतिर ढोका बन्द थिए । अब परशुराम भाइलाई कुर्नुबाहेक अरू उपाय थिएन । अलिपर ह्यांगरमा एउटा ट्विनअटर विमान देखियो । प्रदर्शनीकै लागि राखेको भए पनि हवाईजहाज राख्ने ठाउँलाई ह्यांगर भन्छन् भन्ने पढेकाले अहिले पनि त्यसै भनेँ । हामी त्यतै लाग्यौँ । पञ्चायती व्यवस्थाको विरोध गर्दै विभिन्न आन्दोलन गर्ने गरेको थियो नेपाली कांग्रेसले । त्यही क्रममा त्यो विमान ०३० साल जेठ २८ गते नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरबाट अपहरण गरिएको थियो । त्यहीे विमान ०७० साल फागुन ४ गते अर्घाखाँचीमा दुर्घटनामा परेपछि परशुराम पोख्रेलको ठूलो संघर्ष र सक्रियतामा पुनः पुरानै स्वरूपमा संग्रहालयको प्रांगणमा आइपुगेको छ । 
    हामी त्यही हवाईजहाज र अपहरणबारे कुरा गर्दै समय बिताइरहेका थियौँ, संग्रहालयमा कार्यरत एउटी बहिनी आउनुभयो परशुरामजीको अनुरोधमा हामीलाई त्यहाँ घुमाइदिन । त्यो जहाजको ढोकाको साँचो मगाएर हामीलाई प्लेनभित्र गएर हेर्ने अवसर दिनुभयो । त्यसपछि उहाँले संग्रहालय खोल्नुभयो र बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्रलगायतलाई थुनेको कोठा, भान्सा, बैठकलगायत उहाँहरूले प्रयोग गरेको त्यतिबेलाको ट्वाइलेट, कुर्सीहरू, बिपी प्रधानमन्त्री हुँदा लगाएका लुगा, गणेशमानका लुगा, भान्साका भाँडाकुँडा इत्यादि सबै देखाउनुभयो ।

    सुन्दरीजलमा लामो समय बन्दी बनाई थुनामा राखिएको थियो बिपी कोइरालालाई । उनैको सम्झनामा बिपी संग्रहालय स्थापना गरेर उपलब्ध भएसम्मको त्यतिबेला उनले प्रयोग गरेका सामग्रीलगायत अरू महत्वपूर्ण दस्ताबेजहरू संग्रह गरेर राखिएको छ । उक्त संग्रहालयमा ०७२ को भूकम्पमा धेरै क्षति पुग्यो र त्यहाँ संग्रहित वस्तुहरू पनि पुनः अस्तव्यस्त अवस्थामा पुगे । त्यसलाई पुनर्निर्माण गरी व्यवस्थित गर्ने क्रम जारी नै रहेकाले हाल उक्त संग्रहालयपरिसर सर्वसाधारणका लागि खुला गरिए पनि भित्र कोठाहरू र संग्रहालय खोल्ने गरिएको छैन । तर, परशुरामजी र ती बहिनीको सौहार्दताका कारण त्यस दिन हामीले ती सबै अवलोकन गर्ने अवसर पायौँ । हाल सबै संग्रहित वस्तुहरू एउटै कोठामा राखिए पनि सबैलाई छुट्टाछुट्टै राखिने जानकारी पाइयो । त्यो काम गर्न अभैm केही समय लाग्ने र संग्रहालयको विधिवत् उद्घाटन भएपछि सर्वसाधारणका लागि खुला गरिने रहेछ । 
    ती सबै कोठा र संग्रह गरेका वस्तुहरूको अवलोकन गरिसकेर बाहिर प्रांगणमा राखिएका बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनहरूको सालिकको फोटोहरू र आफ्ना फोटोहरूसमेत लिँदै हेर्दै थियौँ, परशुरामजी आइपुग्नुभयो । केहीबेर विगतका सम्झनाहरू ताजा पार्दै उहाँको अफिसमा मिठो चिया खाएर फेरिफेरि भेट्ने वाचा गर्दै त्यहाँबाट बिदा भयौँ । संग्रहालयको अमिट छाप बोकेर बाहिर निस्कँदै गर्दा संग्रहालयपरिसरमा बिपी कोइरालाको एउटा भनाइ लेखिएको थियो, ‘कानुनको बलिवेदीमा कोही पनि निर्दोष मानिस पर्नुहुँदैन ।’ 

    विकल निवास
    आरुबारी, काठमाडौं

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?