सिन्धुली/ कार्यालयको समयमा सधैँजसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिकाको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातका ८३ वटा बाख्रा हेटौँडाको सिमलथली एग्रो फार्मबाट गाडीमा ५ घण्टा लगाएर आइपुगेका हुन् ।
कानमा पहेँलो रङ्गको मुद्रा (बीमा गरिएको सङ्केत नम्बर) लगाइएका ती बाख्रा गाडीभित्र कराउन थाले । नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा, नगर पशु विकास शाखा प्रमुख रोशन कोइरालालगायतले गाडीमा रहेका बाख्रा झारेर कार्यालय पछाडि रहेको खुल्ला जमिनमा चराउन थाल्नुभयो ।
सोही ठाउँमा कमलामाई नगरपालिका–११ का वडाध्यक्ष रामबहादुर थिङ्ग र १२ का वडाध्यक्ष भीमबहादुर गुर्मछाने आ–आफ्नो वडामा रहेका विपन्न तथा एकल महिलालाई लिएर आइपुग्नुभयो । नगर प्रमुख पोखरेल र उपप्रमुख देवकोटाले ४० जना लक्षित वर्गलाई चरिरहेका बाख्रा प्रदान गर्नुभयो ।
नगरपालिकाबाट उन्नत जातका बाख्रा निःशुल्क पाउँदाको खुसी उनिहरुको अनुहारमा छरपष्ट छरिएको थियो । २ वटा बाख्रा पाएका भ्याकुरेका देवीबहादुर आलेमगरले भन्नुभयो, ‘व्यावसायिक रुपमा बाख्रा पाल्ने रहर थियो, किन्ने क्षमता थिएन । आज सरकारले २ वटा बाख्रा दिएको छ, अब यसैलाई बढाउँदै धेरै बनाएर पाल्ने हो ।’
विपन्न तथा एकल महिलाको आर्थिक जीवनस्तर माथि उठाउन व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने नगरको प्राथमिक योजनामा छ । योजनाअनुरुप चालु आर्थिक वर्षमा विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमका लागि चालु आवमा ६० लाख रुपैयाँ विनियोजन भएको छ । विनियोजित बजेटले २ सय ८ वटा बाख्रा खरिद गरेर नगरपालिकाका ५ वडामा वितरण गर्ने कार्य सुरु भएको पशु विकास शाखाका प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
विद्युतीय प्रणाली बिजक (इलेक्ट्रोनिक विलिङ) मार्फत ५९ लाख ८० हजार रुपैयाँमा २ सय ८ ओटा बाख्रा खरिद गरिएको थियो । त्यसमध्ये १ सय २८ ओटा बाख्रा वितरणको प्रक्रियामा छ । किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहन गरेर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने र विपन्न तथा एकल महिलालाई आर्थिक उपार्जनमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
बाख्रा वितरणको लागि नगरपालिकाले मापदण्ड बनाएको छ । मापदण्डअनुसार वडा समितिले निर्णय गरेर गरेको सिफारिसअनुसार उन्नत जातका बाख्रा वितरण भएको छ । वितरण गरिएका बाख्राको बसाई व्यवस्थापनको लागि खोर निर्माण र आहारा तथा पालनपोषणमा पनि सहयोग गर्ने लक्ष्य रहेको उपप्रमुख तथा नगर कृषि संयोजक मञ्जु देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि तथा पशुपालनको लागि वडा–वडामा प्राविधिक खटाएका छौँ । नगरले आगामी दिनमा आवश्यकताको आधारमा सहयोग गर्नेछ ।’
राससका लागि राधिका बुढाथोकी
प्रतिक्रिया दिनुहोस