१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सहिद पुत्रको बाल उत्तेजना



  • आलोक कुमार चालिसे
  • १५ जेठ २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या ४९०
  • समय र सत्ता घुमी रहन्छ ! २००७ सालको प्रजातन्त्र, निर्दलीय पञ्चायती ब्यवस्था, ०४६ पछिको बहुदलीय ब्यवस्था, लोकतन्त्र, गणतन्त्रसम्म आइपुग्दाका साक्षी हुन् बुद्धिबहादुर (अमिर) थापा ! उमेरले अहिले ८८ बर्ष । अग्लो कद, चौडा छाती र जोशिलो अठोट कायम छ यो उमेरमा पनि । श्रवण शक्तिले थोरै सताएको छ ।

    मन आकाशमा उड्न खोज्छ, तनलाई घर बगैचाको घेरामा सिमित राख्नुपरेको उकुसमुकुस देखिन्छ । काठमाडौं उत्तरी भेगमा शैक्षिक अभियानको जागरण फैलाउने शारदा बिक्रम, रमेश विकल हाराहारीका सकृय आभियन्ता थापासँग वहाँको वाल्यकाल र शहीद पिताको बारेमा आफ्नै खबरले गरेको वार्तालापमा आधारित सम्झनाका तरङ्गः 

    बाल्यकाल र अन्याय विरुद्धको त्यो आक्रोश :
    सत्ता र शक्ति बलियो बनाउनका खातिर विदेशी शक्तिको भक्ति गर्नेकुरामा राणा सरकार अगाडि नै थियो ।  त्यस माथि सैनिक पठाएबापत बेलायतबाट पाउने आर्थिक ढुकुटी पनि बलियो

    बुद्धिबहादुर थापा  (अमिर थापा )

    थियो भनिन्छ । देशको आम्दानी श्री ३ वा प्रधानमन्त्रीलाई मात्र थाहा हुने संरचना थियो । इतिहासकारहरुले त्यसैले त लेखेका छन, चन्द्रशमशेर जिवित छँदा ८ छोराहरुलाई ८० लाख रुपैयाँका दरले अंशबन्डा गरेका थिए रे । त्यो रकम प्रथम विश्व युद्धमा नेपाली वीरको सम्मान र सहयोगार्थ आएको रकमकै ठुलो हिस्सा थियो । 

    मेरा पिताजी, मेघबहादुर थापा जुद्द समशेरका बेलामा सेनाका सुबेदार थिए रे । सन् १९३९ (१९९६) मा दोश्रो विश्वयुद्द सुरु भएपछि श्री ३ जुद्दले बेलायतको सहयोगार्थ ८ हजार नेपाली सेना पठाउने निर्णय गरेछन् । विभिन्न टोलीमध्ये दोश्रो राइफल पल्टनमा सेनाको सेवामै देश बाहिर भारतको कोहर सैनिक क्याम्पमा खटाइएछ । ब्रिटिश सरकारले दिएको गोर्खाली सेनाको तलव सेवा सुविधा, पारिश्रमिकको खटनपटनका लागि नेपाली सेनाको नेतृत्व जुद्ध शमशेरका छोरा जनरल बहादुर शमशेरको थियो । 

    निस्टा र इमान्दार भएरै त होला, त्यही बिचमै वहाँको पदोन्नति भएर सुबेदार हुनुभएछ । जिम्मेवारी पनि बढेर पल्टन नायक बनाएछन् । पल्टनमा सबैको रासन, भत्ता पहिला प्रतिजवान १० आना खाइपाइ आएकामा १ रुपैयाँ ६ आना थपेर प्रतिजवान २ रुपैयाँ पुर्याइएछ । अङ्ग्रेज सरकारका तर्फबाट दिएको सेवा सुविधा पनि नेपाली सेनाले पाएनछन् । वहाँको प्लाटुनमा भएका जवानमा विद्रोह फैलिएछ,  ‘घर – परिवारको हक हो त्यो । मागौँ, विरोध गरौँ’ भनेर । त्यो कुरो बढेर ब्रिटिश अफिसर सँग केही जवानले अक्रोश पोख्दै लम्किझम्की समेत गरे रे । पल्टन हाँकेपछि त्यो जिम्मेवारी पनि थोपरियो ।  केही जवानलाई तत्काल बन्दी बनाएछन् । 

    सेनाको नेतृत्व गरेका बहादुर शमशेर पुगेछन त्यहाँ । अनि जासुस लागेछन् त्यो घटनाको उठान र मुख्य मान्छे खोज्न । बुवाको नाम आइहाल्यो । राणाहरुको बोलिमा हैकम हुन्थ्यो । गालीमा लाजभांण हुँदैनथ्यो । जे मन लाग्यो गर्ने, जे मन लाग्यो बोल्ने ! आमा चकारी गाली सहन सकेनछन् मेरा बाले । 

    बाले पनि जवाफ फर्काए रे ‘आर्मीको सुबिधा पनि खाने ? त्यो त गुहु मुत खाए जस्तो भयो ! यसै गरी हो तिमीहरुले देश बिगारेको’ भन्दै अन्यायको विरुद्धमा बर्सिनु भएछ । आक्रोश र भनाभनमा पिताजीले खुट्टा उचालेर बुट देखाउँदै भन्नुभएछ ‘यही बुटले कुल्चिन्छु तिम्लाई र पर्यो‍ भने तिम्रा बाउ जुद्ध शमशेरलाई !’

    त्यो घटनासँगै मेरा पिता र त्यो बटालियनका २२ जना सिपाहींलाई नेपाल पठाइयो रे । बटालियनसँगै बहादुर शमशेरले उनका पिता जुद्धलाई पत्र लेखेर विद्रोही सवैलाई शख्त सजाय दिएर कारबाही गर्दै जागिर बाट निकाल्ने सिफारिस गरेछन् । त्यसको साथै सुबेदार मेघबहादुरलाई फाँसी दिनु, तब मात्र म आउनेछु भनेर लेखे रे ।  

    राणाविरुद्ध विप्लव गरेको, गोप्य तवरले सैनिक जवानलाई जाग्रित गरेको, सैनिक विद्रोहको नेतृत्व गरेको जस्ता अभियोगमा नर शमशेरको कार्यान्वयनमा १९९७ साल फागुन ७ गते हो क्यार वहाँलाई हत्या गरिएको । ९३ सालमा जन्मिएको म त्यतिबेला भर्खर ४ बर्षको थिएँ । के नै बुझ्नु, के सम्झनु ! यो सबै कुरा मेरा साथी जनक थापाका बुवा देवीबहादुर थापाबाट सुनेको हो मैले । 

    अहिले पनि रामहिटीमा धारो छ नि, हो त्यही ढुङ्गे धारो बनाउने  काममा तल्लिन हुनुहुन्थ्यो जनकका बा म ७  वर्षको पुग्दा । वहाँलाई मैले माइला बा भनेर सम्बोधन गर्थें । धारो बनाउने ठाउ नजिकै जान्थें, सकेको सघाउँथेँ । 

    एक दिन आँट गरेर मनको कुरा सोधेँ, ‘माइला बा, मेरो बुवालाई के गरेर, कसरी मार्या ?’ उनले सवैकुरा बिस्तार लगाए । त्यतिबेला मनका सवै जिज्ञासा पोखें, सबै कुरा थाहा पाएँ । पहिलेदेखि नै मनमा गाढिएको आक्रोश अझै भर्भरायो । तत्काल गर्न त के नै सक्थेँ र ! मुर्मुरिएर बसेँ ।  

    उमेरले ८ टेकेसङै मनमा दबेको आक्रोश सतहमा उब्जियो, ‘मेरो बुवाको हत्यारालाई म पनि छोड्दिन ।’ घरमा हजुरबुवाको पेस्तोल थियो, लुकाएर राख्नु भएको । वहाँ चन्द्र शमशेरको हजुरियाका सेवा निबृत्त कप्तान डम्बर बहादुर थापा । जागिर सकिँदा पनि पेस्तोल वहाँसँगै थियो । मौका पारेर ३ वटा गोली भरेँ । अनि जनकको बा कहाँ गएर भनेँ, ‘माइला बा, मलाई बहादुर शमशेरले भेट्न खोजेका छन् रे नि !’ 

    शहीद मेघबहादुर थापा

    पत्याउनु भएन । सोध्नु भयो, ‘कस्ले भनेको तँलाई ?’

    फ्याट्टै भनिदिएँ, ‘मामाघरका हजुरबाले ।’ 

    ‘किन त ?’

    ‘खै, बालाई मारे ! मलाई केही दिन हो कि !’

    ‘पक्का हो ?’ निक्कै केरकार पछि फलानो दिन भनेर तोकिवरी दरबार लाने हुनुभयो । 

    जाने दिनमा हजुरबाको पिस्तोल झिकेर खल्तिमा हालेँ । अहिलेको जस्तो पोशाक थिएन, लामो दौराको खल्तिमा राखेको थिएँ । साइकलमा पछाडिको क्यारिज थिएन, अगाडि डन्डीमा बसाउनु भयो । जय बागेश्वरी पुग्दा सोध्नु भयो, ट्याक्क ट्याक्क आवाज आएको छ त, के छ खल्तिमा ? बिचार  गरीरहनु भएको रहेछ मेरो खल्तीबाट बेलाबेलामा हेन्डिलमा ठोक्किएको आवाज । छल्ने प्रयत्न गरेर भनेँ, ‘गुलेली’ ।    

    नक्सालबाट ज्ञानेश्वर उकालो पुग्दा सम्म निक्कै बिचार गरेपछि साइकल रोकेर माग्नु भयो गुलेली । आफुलाई परि गो आपत । छामेर पिस्तोल फेला पारेपछि ‘तेरिमा साले !’ भनेर बाघ झाप्पु दिनुभयो । रन्केको गाला छाम्दै थिएँ, ‘एक्लो छोरो भएर पनि मर्न खोज्या तँ?’ भनेर फरक्क साइकल घुमाउनु भयो । घर ल्याएर हजुरबालाई बन्दुक बुझाउँदै वेलि विस्तार लगाउनुभयो । फेरी थपियो हजुरबाको अरु २–४ झाप्पु ।

    अन्याय सहनु हुन्न भनेर सिकेको जोशले झन्डै माइला बालाई समेत आपतमा हालेको । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?