२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित



  • आफ्नै खबर
  • १५ जेठ २०८१ मंगलबार (१२ महिना अघि)
  • पाठक संख्या ८८
  • सुनसरी/   शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राई यस वर्ष अदुवाखेतीबाट प्रशस्त आम्दानी भएकोमा मख्ख हुनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष उहाँले अधिक आम्दानी गर्नुभएको हो । 

    ४० वर्षदेखि उहाँ अदुवाखेती गर्दै आउनुभएको छ । पूर्वशिक्षक राईले वर्षमा ७ देखि १० क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताउनुभयो । अहिले खुद्रा प्रतिकेजी १ सय ५० देखि २ सय ८० रुपैयाँसम्ममा बिक्री हुने गरेकाले राम्रो आम्दानी भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अदुवाखेती गर्नका लागि अलि भिरालो ठाउँ फोस्रो माटो आवश्यक पर्छ, ठाउँअनुसार राम्रो उत्पादन भइरहेको छ ।’

    हाल विष्णुपादुकामा अदुवाखेती गर्ने २ सय भन्दा बढी किसान रहेका राईले बताउनुभयो । उहाँ सो स्थानका सफल व्यवसायी हुनुहुन्छ । उहाँले विष्णुपादुकामा रहेर अदुवाखेतीबाहेक अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादन तालिम दिँदै आउनुभएको छ । 

    व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका धरान उपमहानगरपालिका–२० का अर्का किसान पदम राई मौसमले साथ दिँदा अदुवाखेतीबाट मनग्य आम्दानी हुने गरेको बताउनुहुन्छ । उहाँले वार्षिक १० क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आउनुभएको बताउनुभयो । उहाँले विष्णुपादुका क्षेत्रमा मात्र नभएर मोरङको लेटाङमा समेत जग्गा लिजमा लिएर अदुवाखेती गर्नुभएको छ । वार्षिक ३ लाख रुपैयाँसम्मको अदुवा बेचेको उहाँले सुनाउनुभयो । 

    विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले कोशी करिडोरका पहाडी जिल्लाका किसानले अत्यधिक मात्रामा अदुवा ल्याउने गरेका तथा सगरमाथा करिडोर सिन्धुलीबाट पनि अदुवा बोकेर किसान आउने गरेका बताउनुभयो । विशेषगरी धेरै अदुवा जेठदेखि भदौसम्म बिक्री हुने गरेको जानकारी उहाँले दिनुभयो । 

    दैनिक रुपमा १ सयदेखि २ सय मेट्रिक टन अदुवा धरान कृषि बजारबाट बिक्री हुने गरेको उहाँले बताउनुभयो । २०८० असार मसान्त देखि २०८१ जेठ १० गतेसम्ममा धरान उपमहानगरपालिका १३ कृषिबजारबाट जम्मा ७ हजार ८ सय ५७ मेट्रिकटन अदुवा बिक्रीबाट १ अर्ब ३७ करोड ४९ लाख ७५ हजार रुपैयाँ आम्दानी भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । 

    अदुवा निकासीमा सरकारको सहयोग अपरिहार्य भएको उहाँ बताउनुहुन्छ । बेलाबेलामा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङलगायत ठाउँबाट किसानले अदुवा ल्याउने गरेका छन् । भारत मात्र नभएर तेस्रो देश निर्यातको गृहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराई बताउनुहुन्छ । अदुवाको बजार उत्साहजनक भएकाले अधिकभन्दा अधिक उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी भएको उहाँको भनाई छ ।

    रासस