काभ्रेपलाञ्चोक/ पनौती नगरपालिका–११ ख्याकुमा रहेको सावित्री थापाले २०७७ सालमा नगरपालिकाले दिएको पाडी घरमा ल्याएर हुर्काउँदै हाल लैनो भैँसी बनाउनु भएको छ । त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा स्याहारेको अवस्थामा नगरले नै ५ हजार रुपैयाँ गोठमै पुगेर ‘सुत्केरी भत्ता’ स्वरुप दिएको थियो ।
थापाले भन्नुभयो, ‘पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको ७ हजार रुपैयाँमध्ये पुनः ५ हजार रुपैयाँ अनुदानमा ल्याएकको पाडी सुत्केरी भत्तामा फिर्ता आयो ।’ उहाँ भन्नुहुन्छ, ‘पहिलो बेतमा घरमा खाएर २ लाख रुपैयाँको दूध बेचेँ, अब पनि त्यही हुने अपेक्षा गरेको छु ।’
ख्याकुकै माधव थापाको घरमा पनि भैँसीले खुसी थपेको छ । उहाँले १ वर्षदेखि दैनिक ५ लिटर दूध बेच्ने गर्नु भएको छ । नगरले अनुदानमा दिएको पाडी हुर्केपछि पहिलो बेतमा १ लाख ८० हजार रुपैयाँको दूध विक्री गरेको सुनाउनुभयो ।
यस्तै नगरबाट पाडी अनुदान पाउनुभएकी स्थानीय शोभा थापाले १ वर्ष नपाल्दै ब्याएपछि घर खर्च चलाउने आधार बनेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘भैँसीले दैनिक ८ लिटर दूध दिन्छ, यसमध्ये ५ लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलेको छ ।’
पनौती नगरपालिकाले ३ वर्षको अवधिमा ९ सय १९ वटा पाडी वितरण गरेको थियो । यसमध्ये हाल ३ सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाको विबरणमा उल्लेख गरिएको छ । वषौँदखि भैँसीपालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसी पाल्न छोडेको बताउने पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैँसी पालनमा ल्याएको अनुदान, वीमा र सुत्केरी प्रोत्साहनले पुनः व्यवसायिक भैँसीपालनमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैँसी पाल्न नसकिने भएपछि ४ भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिएँ, अहिले पुनः भैँसी पाल्न जाँगर चलाएको छु, अहिले मेरो गोठमा ७ भैँसी छन् ।’
पनौती नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको उहाँको भनाइ छ । पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ वटा भैँसी पाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण पनि थपिएको छ ।’
पनौती नगरले आव २०७४÷७५ देखि नै ‘भैँसी संरक्षण–सम्वर्द्धन अभियान’ अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेपछि सुरु गरिएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो । अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्याङ्कले देखाएको छ ।
पनौतीमा हाल करिब ८ हजार भैँसी छन् । हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारी हुन्छ । यसमध्ये ५० हजार लिटर विक्रीका लागि काठमाडौं पठाइन्छ ।
त्यस आर्थिक वर्षको तथ्याङक अनुसार पनौती नगरमा ४ हजार ७ सय ४७ वटा भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब ५ सय वटा भंैसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब ६ करोड रुपैयाँ भैँसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुनेगरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर यहीँ खपत हुने गरेको र २५ हजार काठमाडौँ उपत्यका लैजाने गरिन्थ्यो । यस अभियान सुरु गरेपछि भैँसीको सङ्ख्या पनि हाल झण्डै दोब्बर पुगेको छ ।
पहिलो बेतको भैँसी सुत्केरी हुँदा ५ हजार रुपैयाँ र त्यसपछि २ हजार रुपैयाँको दरले सुत्केरी भत्ता वितरण गरिएको शाखाले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य वीमा गर्नुपर्ने नियम राखिएको थियो । वीमा गरेवापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो ।
भैँसीलाई खोप, घाँसका बीउ निःशुल्क उपलब्ध गराइदै आएको नगरपालिकाले जनाएको छ । कार्यक्रम लागू गर्दाका बखत २ सय १७ भैसीलाई सुत्केरी भत्ता दिएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख लिलानाथ सापकोटाले बताउनुभयो । उहाँका अनुसार करिब १ हजार ५ सय भैँसी–भत्ता किसानलाई वितरण गरिएको थियो । शाखाका अनुसार पनौतीमा हाल करिब ८ हजार भैँसी छन् । हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारी हुन्छ । यसमध्ये ५० हजार लिटर विक्रीका लागि काठमाडौं पठाइन्छ ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पनौतीले पशुपालन क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गर्दा यस नगरमा मात्रै भैँसीको सङ्ख्या दोब्बर भई दोब्बर परिमाणमा दूध उत्पादन भएको हो । जिल्लाको अधिकांश क्षेत्रका बासिन्दा पशुपालनमै छन् । पछिल्लो केही वर्षदेखि व्यावसायिक रुपमा दुग्ध उत्पादन एवं मासुका लागि पशुपालन क्षेत्रमा लागेको पाइन्छ ।
जिल्लाबाट हाल उत्पादित दैनिक ४ लाख लिटर दूध स्थानीय बजारसहित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खपत भैरहेको जिल्ला दुग्ध उत्पादक सङ्घका अध्यक्ष नारायणप्रसाद बडालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला वर्ष जिल्लामा पशुपालन व्यावसायिक हुँदै गएको र निरन्तर दूध उत्पादन बढिरहेको छ । अध्यक्ष बडालले भन्नुभयो, ‘हाम्रै अध्ययनले पनि काभ्रेबाट दैनिक २ लाख लिटरको हाराहारीमा अप्रशोधित मात्र दूध काठमाडौंँ उपत्यका जाने गरेको देखाएको छ, यसलाई केही बढाउने लक्ष्य लिएका छौँ ।’
राससका लागि राजकुमार पराजुली
प्रतिक्रिया दिनुहोस