सुनसरी/ शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक ५ लाखदेखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
१७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत ४ वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले ४ वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाउनुभएको छ ।
शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताउनुभयो । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररुपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ’, उहाँले भन्नुभयो, ‘शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पछि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।”
राईको बाख्रा फार्ममा अहिले १ सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उहाँले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहनुभएको छ ।
राई शिक्षण पेसामा रहेका बेला उहाँको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिनुभयो । धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हिले मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यवसायिक रुप दिएको हुँ । नजिकै जङ्गल भएकाले धेरै सहज भएको छ । यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु ।’
राईले अम्लिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाउनुभयो । शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु नपरेको उहाँको भनाई छ ।
राई भन्नुहुन्छ, ‘परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनैबेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।’
-रासस
प्रतिक्रिया दिनुहोस