१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कथा : घण्टाकर्ण काका



  • दिवाकर न्यौपाने
  • १८ साउन २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ४२८
  • असारको तेस्रो हप्तामै काठमाडौं उपत्यकाको खेतहरूमा रोपाइँ सिद्धिसकेको थियो । सिरसिर बतासले गाँज हाल्दै गरेका धानका बोटहरूलाई नचाइरहेको थियो । खेतालाहरू कुलो लाग्ने

    दिवाकर न्यौपाने

    खेतका गराहरूमा बुटा टिप्दै थिए । बजार नजिकै थियो । खेतालाहरू खाजा खान बजारतिर आउजाउ गर्दै थिए । बजारको छेउमा एउटा चिया पसल थियो । दिउँसो दहिचिउरा तरकारी चिया बिक्री हुन्थ्यो भने बेलुका चै रक्सी पनि बिक्थ्यो । 

    ‘काका के छ हालखबर ? खाजा खानुभयो ?’ करिब ३० वर्षे युवकले औपचारिक भलाकुसारीको प्रश्न तेर्स्याए । 

    ‘के खानु हुन्छ म खुवाउँछु ।’ उनको आग्रहले ‘भलाकुसारी मात्र हैन’ भन्ने निष्कर्षमा नपुगि सुखै थिएन ।

    काका करीब ७ दशकको उमेर पार गरिसकेका । पहिले त बलियाबाङ्गा थिए । आजभोलि बुढ्यौलीले गर्दा कुनै पनि कुरामा आँट हराउनु स्वाभाविक थियो । दमले गर्दा स्वाँ स्वाँ आउथ्यो । लठ्ठीका सहारामा यताउता हिडडुल गर्थे । 

    ‘छोड्दे खाजासाजाको कुरा, गठेमंगल आउँदै छ । घण्टाकर्ण बनाउन नर्कट नै छैन, नबनाई हुँदैन, कोठमाडौंमा जताततै घरैघरले ढाकेको छ । पहिले पो आली कान्ला हुन्थ्यो । अहिले सबैतिर पर्खालै पर्खाल बनेको छ । नर्कट कही छैन बरू ४–५ जना केटाहरू गएर माथि पाङ्गातिरबाट ल्याए हुनेनी ।’
    .................................

    काकाको नाम कसैलाई थाहा थिएन । ‘काका’ भन्ने सम्वोधननै त्यस क्षेत्रमा उनको परिचय थियो । अग्लो कद, चुच्चो नाक, चिम्सा आँखा । मंगोलियन वा आर्यन छुट्याउन नसकिने थिए । जन्म थलोको कुरा चल्दा चरीकोटतिरको बखान गर्थे । कालिन्चोक जाँदा कुरी भन्ज्याङमा हिउँमा चिप्लिएर ३ बल्ड्याङ खाएको कहानी सुनाउँथे ।

    लामोसाँगु जिरी सडक बनाउने क्रममा खैरेसँग सामान लिन काठमाडौं आउजाउ गरेको बखान गर्थे । पछिल्ला दिनमा यतै कालीमाटीतिर भरिया भई जीवन बिताइरहेका थिए । त्यस क्षेत्रका साहुहरूले उनलाई गँठेमंगलका लागि नर्कटको बन्दोबस्त गर्ने र घण्टाकर्ण बनाउने काममा लगाउँथे । काका पनि दङ्ग पर्थे । खान पाउँथे पैसा पाउँथे । 

    त्यसैले उनका अन्य नाम पनि थपिए । कसैले उनलाई घण्टे भन्थे । कोहि चाहिँ घण्टाकर्ण भन्थे । सोझासाझा चाहिँ काका भनेर सम्वोधन गर्थे । घण्टाकर्ण पर्वप्रति उनलाई अति श्रद्धा थियो र प्रौढ उमेरसम्म त उनी त्यो दिनको नायक नै हुन्थे । सबैजना भन्थे ‘घण्टे भएन भने गठेमंगल चल्दैन । सबैका छोराहरू काठमाडौंमा डाक्टर इन्जिनियर पढ्ने, नर्कट ल्याउने को ? घण्टाकर्ण बनाउने को ? हुन पनि अवस्था नै त्यस्तै थियो । 

    काका दुईचार युवाहरूलाई लिएर नर्कट लिन जान्थे । टोलको चौबाटामा विहानैदेखि घण्टाकर्ण बनाउन तरखर गर्थे । कोही बालबालिका त घण्टाकर्ण बनाएको हेर्न स्कुल नगई घरमै बस्थे । बेलुकीपख वरिपरिका साहुमहाजन आई काकाले बनाएर ठिक्क पारिदिएको घण्टाकर्णलाई दहन गर्थे । घिसारेर विष्णुमतीमा पुर्याउँथे।
    ..........................................

    कन्हैयालाल महर्जन पेसामा आर्किटेक इन्जिनियर थिए । उनको बाबु खेमलाल महर्जन डकर्मी । अझ भनौं घर बनाउने ठेकेदार । कामको सिलसिलामा खेमलालको संगत इन्जिनियरहरूसँग पनि हुन्थ्यो । त्यही प्रभावले होला खेमलालले छोरालाई आर्किटेक इन्जिनियर बनाएरै छोडे । 

    कन्हैयालाल र अरूणीमा विच प्रेमविवाह भएको थियो । एउटा जापानी कम्पनीमा जागिर खाँदा दुबैको भेट भएको थियो । उनीहरू सानी छोरीलाई साथ लिएर बजारबाट फर्कँदै थिए । सडकमा हिँड्दा बालबालिकालाई सुरक्षा प्रदान गर्नु स्वभाविक थियो । उनीहरू दुईतिरबाट बालिकाको हात समाई अघि बढिरहेका थिए । ठाउँठाउँमा जगात माग्ने केटाकेटीहरू डोरीले सडक छेकिरहेका थिए ।

    ‘पढ्ने वेलामा बाटो छेकेर पैसा माग्ने हो ? स्कुल जानु पर्दैन ?’ अरूणीमाले मधुरो हप्काइपूर्ण प्रश्नसँगै ब्यागबाट ५ रुपैयाँ झिकिन् । 

    ‘खुरूक्क पैसा देऊ यो हाम्रो संस्कृति हो बाँकी म घरमै गएर भनौंला ।’ कन्हैयालालले आफ्नो संस्कृतिलाई सम्मान गर्दै मधुर निर्देशन दिए । 
    ...................................

    चौबाटोमा नर्कट, पराल, छ्वालीलगायत पदार्थले बनेको घण्टाकर्ण राक्षसको आकृति ठिंग उभिएको थियो । टोलका केटाकेटी युवक, प्रौढ र ज्येष्ठ नागरिक सबै उत्साहका साथ सहभागिता जनाइएका । केटाकेटीहरू भोगटे र खोयालाई मिलाएर बनाएकोे राक्षसी लिङ्गलाई हेरेर खितखित हाँसिरहेका थिए । 

    नगिचको झाडीबाट दुई तिन जना लागु पदार्थको दुर्व्यसनीमा परेका केटाहरू चौबाटोमै आइपुगे । ‘आम्मै कत्रो ......’ एउटाले भन्यो । 

    ‘मान्छेको होर सानु हुनु, राक्षसको ठूलै हुन्छ नि’ अर्काको त्यस्तै उट्पट्याङपुर्ण जवाफ । 

    काका पनि लठ्ठी टेक्दै चौबाटोमा आइपुगे । एकछिन रमिता हेरिरहे । उनको मुहार मलिन भएजस्तो देखियो । निधारमाथि हात लगाएर नियालेर कण्टाकर्णका आकृति हेरेपछि उनले भने, ‘ए बौचा यो लठ्ठी समात त म बनाउँछु । घण्टाकर्णको टाउको ज्यादै सानो भयो । जिउ अनुसारको टाउको हुनुपर्छ ।’

    उनी स्वाँ स्वाँ गर्दै नर्कटको बिटो मिलाउँदै थिए । ‘बिचरा..... । मानिसलाई सधैं आफूले गर्ने गरेको काम अरुले गर्दा खासै चित्त बुझ्दैन ।’ अलि पर बसेका बुद्धिरत्न साहुले काकाप्रति टिप्पणी गर्दै एक्लै बडबडाए । 

    ‘अब चैं घण्टेले नर्कटको बिटो समाएपछि गठेमंगल जम्ने भयो’ अलि पर बसेको एउटा युवकले साथिहरूबिच गौरवपूर्ण घोषणा गर्यो । 

    ‘स्वाँ स्वाँ गर्न थालिसके अब हामीले कति वर्षसम्म घण्टाकर्ण काका भन्न पाउने हो ।’ छेउकै भलादमी केटोले काकाको स्वास्थ्य र उमेरको मुल्याँकन गर्दै निराशा ओकल्यो । 
    ............................................

    ‘आउने होइन ?’ कन्हैयालाललाई बुढीसंगै छोरी डोहोर्याएर घरतिर जानलागेको देखेपछि भुयुचाले प्रश्न तेर्स्यायो । 

    ‘बच्चा र परिवारलाई घर पुर्याएर आउँछु ।’ कन्हैयालालले आखाँकै इशाराले भने, भुयुचाले बुझ्यो ।

    ‘ओहो आज त सारै थकाइ लाग्यो’ हातको झोला टेबल माथि राख्दै अरुणीमाले हरेकपटक बजार गएर आएपछि भन्ने बाक्य दोहोर्याइन् । 

    ‘हाम्रो देशको विभिन्न जातजाति भाषाभाषी तीनको आफ्नै किसिमको चाडबाड, रीतिरिवाजले यहाँको संस्कृतिलाई अझ उजागर गरिरहेको छ । खास गरी हामी नेवार समुदायहरूको संस्कृतिले स्वदेशमा मात्र नभएर विदेशमा पनि नेपाल र नेपालीको इज्जत प्रतिष्ठा बढाइरहेको छ ।’ कन्हैयालालले पानी पिउँदै छोटो भाषणै दिन भ्यायो । 

    ‘चौबाटोमा घण्टाकर्ण बनाएको रैछ किन होला ?’ घण्टाकर्ण चिने पनि संस्कृति र यसवारेको जनश्रुति नबुझेकी अरूणीमाको प्रश्न ।

    ‘उहिले एउटा राक्षसले आतङ्क फिजाइरहेको थियो । चौबाटोमा बसेर माग्थ्यो नदिए मानिसलाई नै खाइदिन्थ्यो । त्यो राक्षसले देवीदेवताको नाम तथा सत्कर्मका कुराहरू सुन्न नपरोस भनेर उसले दुबै कानमा ठुलाठुला घण्ट झुन्ड्याएको थियो । त्यो राक्षसको नाम घण्टाकर्ण थियो । त्यो जमानामा पनि तन्त्रविद्याको विकास राम्ररी भएको थियो । तान्त्रिकहरू प्रशस्त थिए । एउटा तान्त्रिकले घण्टाकर्णलाई मार्नका लागि आफु भ्यागुता बनेर चौबाटोमा बस्यो । एकदिन घण्टाकर्ण त्यही ठाउँमा आइपुग्यो ।’ कन्हैयालाल विद्वानकै शैलीमा प्रवचन दिएजसरी बुझाउन थाले ।  

    ‘मलाई भोक लागिरहेछ । म मानिस खान्छु । मानव बस्ती कहाँ छ ?’ घण्टाकर्णले भ्यागुतालाई सोध्यो ।

    ‘यो बाटोबाट जानुपर्छ चाडै नै मानव बस्ती पुगिन्छ ।’  भ्यागुता बनेको तान्त्रिकले टरटराउँदै जवाफ दिए । 

    ‘घण्टाकर्ण अघि–अघि लाग्यो तर मानव बस्ती आइपुगेन । बरु उ हरेक पाइलामा दलदले धापमा फस्दै गयो । उ उम्किन सकेन । मानिसहरूले थाहा पाए । युवक, प्रौढ र बृद्ध सबै त्यहाँ आएर ढुङ्गाले हानी घण्टाकर्णलाई मारे । घण्टाकर्ण राक्षसलाई मारेर मानव समाजमा शान्ति स्थापना गरेको सम्झनामा आज पनि नेवार समुदायको चौबाटोहरूमा ३ खुट्टे घण्टाकर्णको पुत्ला बनाएर साँझपख दहन गर्ने वा सबैले टुक्राटाक्रीले हानी मार्ने अनि घिसारेर खोलामा बगाउने चलन अध्यावधि छँदैछ ।’ कन्हैयालालले घण्टाकर्णको बारेमा अरुणीमालाई राम्ररी बुझाउन सकेको ठान्दै लामो सास लिए ।  

    ‘केटाकेटीले डोरीले सडक छेकेर पैसा किन मागेको नि ?’ अरुणीमाको पुरक प्रश्न ।

    ‘त्यही राक्षेश घण्टाकर्ण चौबाटोमा बसेर खानीकुरा माग्थ्यो । नदिए मान्छे मार्थ्यो त्यसैको सम्झनामा डोरीले बाटो छेकी पैसा मागेको हो नि ।’ कन्हैयालालको सांस्कृतिक जवाफ । 

    ‘आज सम्म हाम्रो टोलमा गैर नेवार भएर पनि घण्टाकर्ण पर्वप्रति औधी श्रद्धा राखी नर्कट, पराल, छ्वाली जम्मा गरेर घण्टाकर्णको पुतला बनाई हामीलाई सहयोग गर्न त्यही बृद्ध पुरुष जसलाई कोहि काका भन्छन्, कोही घण्टे भन्छन् र कोही चैँ घण्टाकर्ण काका भन्छन् ।’ अरुणिमाको प्रश्न विना नै कन्हैयालालले काकाप्रति सम्मान अर्पण गरे ।  
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?