म्याग्दी/ वर्षौदेखि बाँझो रहेको ९ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिलो भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर बूढाले ४ दिन लगाएर बारीमा कोदो रोप्नुभयो । यस्तै मङ्गगला गाउँपालिका– ५ की विमला रोकाले विगत वर्षमा खेती गर्ने जागर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुहुन्थयो । तर,यस वर्ष ४ हजार खर्च गरेर खनजोत गरेपछि ५ रोपनी बारीमा खेताला लगाएर कोदो रोपेको बताउनुभयो ।
पछिल्लो समय ग्रामीण तथा सहरी क्षेत्रमा माग बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । गाउँमा आयातित मदिरा भन्दा कोदोको मदिरा बढी रुचाइन थालेपछि उत्पादिन कोदो २ सय ५० रुपैयाँ प्रतिपाथी गाउँमा नै खपत हुन थालेको छ । त्यसैगरी सहरमा कोदोको परिकारप्रति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेपछि यहाँका किसान कोदो खेतीतर्फ आकर्षित भएका मालिका गाउँपालिका–६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।
पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यसवर्ष कोदो खेती विस्तार गरिएको छ । ‘मकै र गहुँको भन्दा कोदोको खोजी बढी हुन थालेको छ’, मालिका गाउँपालिका–६ का वडासदस्य छरदेवी घर्तीले भन्नुभयो, ‘अरु अन्न बिक्री गर्न कठिन हुन्छ । तर कोदो खोज्न ग्राहक घरघरमा नै आइपुग्छन् ।’
केही वर्षअघिसम्म घर अगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायतका धेरै गाउँमा गत वर्षदेखि कोदोखेती विस्तार गरिएको छ । पश्चिम म्याग्दीका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आएका छन् । पछिल्लो समय गाउँबाट सहर गएका नागरिक बर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका छन् ।
मङ्गला गाउँपालिका–२ का याममती रोकाले भन्नुभयो, ‘सहरमा कोदोको माग बढी छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी ४ दिन लगाएर कोदो रोपेँ ।’ पछिल्लो समय गाउँ घरमा पनि जाडोको समयमा कोदोको ढिँडो र रोटी खाने बानीको विकास हुँदै गएको छ ।
दरबाङको केवी एकेडेमीका शिक्षक मीन सुनारले भन्नुुभयो, ‘बजारबाट ल्याएका चाउचाउ, बिस्कुट, चिउरा, भुजा, नमकिन लगायतका वस्तुलाई खाजाको रुपमा प्रयोग गर्ने क्रम घट्दै गएको छ, गाउँलेले पाएसम्म गाउँकै उत्पादनलाई खाजा र खानाको रुपमा प्रयोग गर्न थालेका छन् । सबैको रोजाइमा कोदो पर्दैगएको छ ।’ उहाँका अनुसार उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ ।
विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । कोदोको भनेजति मूल्य पर्न थालेपछि गाउँका किसान कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरी नै कोदो खेती गरिएको छ ।
म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, दरबाङ, सिंगा तातोपानी, भुरुङ तातोपानी लगायतका बजार क्षेत्रका होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका होटल व्यवसायीले बताएका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको कूल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस