भोजपुर/ पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भावना बोेकेको यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।
गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब १ हजार ४ सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ ।
हालसम्म चियाखेतीका लागि गाउँपालिकाले ४ करोड ५ं० लाख रुपैयाँ लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । उक्त पालिकाका वडा नं १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । यी वडामा प्रशस्त खाली जमिन छभने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताउनुभयो ।
‘गाउँपालिकाले योजनाबद्ध रुपमा चियाखेती विस्तार गरिरहेको छ’, अध्यक्ष राईले भन्नुभयो, ‘यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिब १ हजार ४ सय रोपनी क्षेत्रमा खेती विस्तार भइसकेको अवस्था छ ।’
आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उहाँले बताउनुभयो । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । अध्यक्ष राईले भन्नुभयो, ‘यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।’
स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रुपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले यहाँका स्थानीयको आयस्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
वर्गीकरणमा ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले ९ हजार रुपैयाँ र स्वयम व्यक्तिले १ हजार रुपैयाँ गरी १० हजार रुपैयाँबराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । यहाँका अतिगरिब विपन्न १ हजार १ सय ६३ परिवारलाई शेयर वितरण गरिएको उहाँको भनाई छ ।
गाउँपलिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उहाँले बताउनुभयो । यो संस्थाले गाउँपालिकाको मातहातमा रहेर भावी दिनमा चिया र कफीको क्षेत्रमा बृहत्तर रुपमा थप काम गर्ने उहाँको भनाई छ ।
उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा नं २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनुभयो । गाउँपालिकाको ४५ लाख रुपैयाँ र कोशी प्रदेश सरकारको १ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।
दीर्घकालीन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । चिया नर्सरीमा अर्को सिजनमा रोप्नका लागि करिब ५ लाख बिरुवा उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ । चियासँगै कफीखेतीको विस्तारका लागि समेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस