सर्लाही/ पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् ।
झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ । वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन् । लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ ।
बरहथवा नगरपालिका–९, मूर्तियाको ३ दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् ।
मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुका २ घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्नुहुन्छ । निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उहाँले बताउनुभयो । ‘यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ’, उहाँले भन्नुभयो, ‘दिनको ७ सय रुपैयाँसम्मको निगुरो टिप्ने गरेको छु ।’
फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उहाँले बताउनुभयो । वर्षमा लगभग ७ महिना टिप्दा ८० देखि ९० हजार रुपैयाँसम्म १ जनाले कमाउने गर्छन् । निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ । देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ । तर आम्दानीको राम्रो स्रोत बनेको उहाँ बताउनुहुन्छ ।
मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत ७ वर्षदेखि निगुरो टिप्ने गरेको बताउनुभयो । ‘राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु’, उहाँले भन्नुभयो, ‘यसको मूल्य सधैँ एकनाश रहन्छ । धेरै घटबढ गर्दैन’, आफ्नो बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उहाँले सुनाउनुभयो । बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ ।
सोही स्थान बस्नुहुने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ । छिटोछिटो टिप्ने भएकाले दिनमा ७ सय रुपैयाँसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताउनुभयो । ‘फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्’, उहाँ भन्नुभयो, ‘दैनिक बिहानबेलुका २/४ घण्टा खट्दा राम्रो कमाई हुन्छ ।’
गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ । ‘गाउँतिरै पनि खोज्ने मान्छे आउछन्’, उहाँले भन्नुभयो, ‘व्यापारीलाई पनि अझै पुगेको छैन् ।’ टिप्नसकेजति व्यापारीले लैजान्छन् । व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट पैसा दिने गरेका स्थानीयको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बसिरहनुभन्दा वनमा निगुरो खोज्यो, पैसा पनि हुन्छ ।’ निगुरो बेचेर बचत गरेको पैसाले आपत्विपतमा गर्जोटार्नदेखि औषधि उपचारमा सहयोग पुगेको स्थानीय नानीमैया कार्कीले बताउनुभयो । ‘निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन’, उहाँले भन्नुभयो, ‘त्यस्तो दुःख पनि हुन्न । केही घण्टा खट्ने हो । दुई चार सय भइहाल्छ ।’
यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने सङ्कलन गर्ने र काठमाडौँका बजारसम्म पु¥याउने गरेको व्यवसायी सुनिता महतोले बताउनुभयो । उहाँका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा ५ रुपैयाँ पाउथे । अहिलो जोडी मुठाको २५ रुपैयाँ पाउँछन् । निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उहाँले बताउनुभयो । सङ्कलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गर्नुभएको छ ।
यस क्षेत्रका ३६/३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिनुभयो । ‘दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्याउँछु’, उहाँले भन्नुभयो, ‘एक बोरामा ८० मुठा हुन्छ । दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ ।’
निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग ७ महिनाको अवधिमा ३० लाख रुपैयाँ आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताउनुभयो । मासिक ४ लाख रुपैयाँ बराबरको निगुरो स्थानीयसँग सङ्कलन गरेर बजारमा लैजाने गरेको उद्यमी महतोको भनाइलाई आधार मानेर उहाँले त्यति रकम आर्जन हुने अनुमान सुनाउनुभएको हो । ठूलो परिवार भएका घरका स्थानीयले महिनामा १ लाख रुपैयाँसम्मको निगुरो टिप्ने गरेका उद्यमी महतोले बताउनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस