११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु



  • आफ्नै खबर
  • १६ भदौ २०८१ आईतबार (११ महिना अघि)
  • पाठक संख्या १११
  • मुगु/  हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको २ वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो । 

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २ वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो । उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताउनुभयो ।

    उहाँका अनुसार परम्परागत जातको स्याउका बिरुवा प्रतिहेक्टर ३ सय बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रतिहेक्टर ३ हजारसम्म लगाउन मिल्छ । यो प्रविधिबाट लगाएको फुजी स्याउको बिरुवाले १ वर्षमै फल दिने भए पनि पहिलो पटकको स्याउ कम गुणस्तरको हुने र दोस्रो बर्षदेखि गुणस्तरीय उत्पादन हुन्छ । 

    आथिक वर्ष २०७९/८० मा व्यावसायिक फुजी स्याउ उत्पादन गर्न पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुले उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रमअन्तर्गत २ वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा ८ सय बिरुवा उपलब्ध गराएको थियो । 

    छायानाथ रारा नगरपालिका–४ अन्तर्गत मुसेचौर कृषि पशुपक्षी फर्मलाई ५ सय बिरुवा र वडा ५ सक्षम कृषि पशुपंक्षी फामलाई ३ सय बिरुवा दिइएको थियो । यस वर्षदेखि प्रतिबोटमा ५ देखि ८ केजीसम्म स्याउ उत्पादन भएको छ । 

    अन्य स्याउको तुलनामा फुजी स्याउको माग राम्रो भएको र मूल्य पनि राम्रो पाउने गरेको मुसिचौर कृषि, पशुपक्षी फार्मका सञ्चालक मनबहादुर भाम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फुजी स्याउको बिरुवाले छिटै स्याउ उत्पादन दिने र लामो समयसम्म दिने भएकाले हामी जस्ता व्यावसायिक स्याउ खेतीमा लागेका किसानका लागि यो जातको स्याउ उपयुक्त लाग्यो ।’

    व्यवसायी जसबहादुर बुढा बाबुबाजेले गर्दै आएको स्याउको तुलनामा यो जातको स्याउले राम्रो आम्दानी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेहनतअनुसारको प्रतिफल पाइने र थोरै जग्गामा पनि धेरै विरुवा रोप्न सकिने भएकाले यो राम्रो भएको छ ।’ 

    परियोजना कार्यान्वयन इकाइले आव २०८०/८१ मा ९ सय बिरुवा वितरण गरेको र चालु आवमा ३ हजार फुजी स्याउका बिरुवा ५० प्रतिशत अनुदान छुटमा वितरण गर्ने लक्ष्य लिएको छ । 

    परम्परागत जातको स्याउको बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिने गरेको इकाइ प्रमुख तेज विक्रम मल्लले बताउनुभयो । राम्रो सुरक्षा, गोडमेल र मलजल पाएमा २० वर्षसम्म फल दिनसक्ने उहाँको भनाइ छ । फुजी स्याउको उत्पादनबाट मात्रै यस वर्ष यहाँका किसानले ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

    -रासस