स्याङ्जा/ हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । २०७४ सालमा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको ३ वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो ।
परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताउनुभयो । ‘घरमा भएका खरी जातका ८ वटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका १–१ वटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।’
उहाँले १६ रोपनी जग्गामा केराखेती पनि गर्नुभएको छ । यो वर्ष भने २ सय ९२ केराका बोट हावाले ढालेको उहाँको दुःखेसो छ । अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उहाँले बताउनुभयो । उहाँको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म १५ लाख रुपैयाँ लगानी भएको छ । उहाँको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् ।
‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन । खसीबोका पोखरा पठाउँछु’, किसान क्षेत्रीले भन्नुभयो, ‘चरन क्षेत्रको समस्या छैन ।’ यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ ।
‘व्यवसायबाट सन्तुष्ट छु । बाख्रापालन र केराखेतीबाट मासिक १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन । आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन ।’ सरकारबाट अनुदान नलिएको उहाँले बताउनुभयो । नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उहाँको जोड छ ।
क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताउनुभयो । उहाँले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको सापटीमात्र ७५ लाख रुपैयाँसम्म पुगेको बताउनुभयो ।
-रासस
प्रतिक्रिया दिनुहोस