बागलुङ/ बागलुङमा १ हजार ८ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ ।
तरकारीखेती बाहेक ओखर, कागती, सुन्तला, स्याउ र किबीखेती गरेर अधिकांश बाँझो जग्गा सदुपयोग गरी चक्लाबान्दी कार्यक्रमअन्तर्गत विस्तार गरिएको छ । बागलुङमा बाँझो जग्गाको उपगोगिता बढाउन ल्याइएको चक्लाबान्दी कार्यक्रम सफल भएको छ ।
चक्लाबन्दी कार्यक्रमअन्तर्गत ४ वर्षयता सुन्तला १ सय ४० रोपनी, ओखर ४ सय ४०, तरकारी ४ सय, कागती २ सय ५०, स्याउ ५ सय ४० र किबी ८० रोपनी क्षेत्रफलमा विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । चक्लाबन्दीमा खेती गरेको तरकारी र सुन्तलाबोहक अन्य जग्गा खेतीयोग्य भएर पनि बाँझो रहेको उहाँले बताउनुभयो ।
‘एउटा चक्लाबन्दी कार्यक्रमका लागि १० लाख रुपैयाँ खर्च हुन्छ, १५ स्थानमा चक्लाबन्दी सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा ३ स्थानमा चक्लाबन्दीका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ’, निमित्त प्रमुख पौडेलले भन्नुभयो, ‘ओखरसहित फलफूलखेतीको अधिकांश खेतीयोग्य जग्गा पछिल्लो समय बाँझो रहेको थियो । अहिले त्यही बाँझो जग्गामा चक्लाबन्दीका कारण कागती, स्याउ तथा ओखरका बिरुवा हुर्किरहेका छन् ।’
चक्लाबन्दीका कारण कृषिमा आधुनिकीकरण गर्न सकिने, यन्त्रको प्रयोगले खेती गर्न सकिने र धेरै उत्पादन गर्दा बजारको समस्या नहुने भएकाले किसान चक्लाबन्दीमा आकर्षित भएका हुन् । चक्लाबन्दी कार्यक्रमअन्तर्गत जैमिनी नगरपालिका–२ मा सुन्तलाखेती, महाशिला गाउँपालिका–१, बागलुङ नगरपालिका–९ र जैमिनी नगरपालिका–३ मा ओखरखेती, बागलुङ नगरपालिका–८ सिगाना, जलजला गाउँपालिका–७ र कुश्मा नगरपालिका–११ मा तरकारीखेती, ढोरपाटन नगरपालिका–९ को नवी, मसलगायत गाउँमा स्याउखेती, बागलुङ नगरपालिका–१२ मा कागतीखेती र निसीखोला गाउँपालिका–४ थापागाउँमा किबीखेती विस्तार गरिएको छ ।
बाँझो जग्गालाई एउटै प्लट बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रूपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्न किसानलाई चक्लाबन्दी कार्यक्रमले आकर्षित गरेको ढोरपाटन नगरपालिका–९ का चिरनकुमार घर्तीले बताउनुभयो । बाँझिन थालेको १ सय रोपनी जग्गा चक्लाबन्दी गरेर १ हजार २ सय स्याउका बिरुवा लगाएको उहाँले जानकारी दिनुभयो ।
बसाइँसराइले क्रमशः गाउँका जग्गा बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यन्त्रिकीकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना ल्याइएको छ । चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फर्मको ६० रोपनी र समूहको १ सय रोपनीभन्दा माथि जग्गा हुन आवश्यक छ । चालु आवमा ३ स्थानको चक्लबान्दीका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको र तिहारपछि चक्लाबन्दी कार्यक्रमको छनोट गरिने छ ।
जोन कार्यक्रमले बाख्रा र आलु उत्पादनमा वृद्धि
बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ देखि आलु र आव २०७८/७९ देखि बाख्रा जोन सञ्चालन हुँदै आएको छ ।
उच्च पहाडी क्षेत्रमा आलु र बाख्रापालनको संभावना तथा प्रशस्त चरन क्षेत्र भएको ठाउँमा बाख्रा जोन क्षेत्र बनाएर उत्पादनमा वृद्धि भइरहेको छ । प्रधानमन्त्री कृषि परियोजनामार्फत आलु जोन कार्यक्रमले बागलुङका ५ पालिकाका केही वडालाई समेटिएको छभने बाख्रा जोन कार्यक्रमले ३ पालिकाका केही वडालाई समेटिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिककीरण परियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत नाराण पौडेलले आलु जोन कार्यक्रमले १२ प्रतिशत उत्पादनमा वृद्धि गराएको र बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएको बताउनुभयो । आलु र बाख्रा जोन कार्यक्रमले आलु र मासु उत्पादनमा समेत वृद्धि गराउन सफल भएको छ ।
बागलुङको उच्च पहाडी क्षेत्रमा पाइने आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुको उत्पादन बढाउन आलु जोन सञ्चालन गरिएको हो । ढोरपाटन नगरपालिका, बडिगाड, ताराखोला, गलकोट नपा, निसीखोला गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादन १२ प्रतिशले बढाएको तथ्याङ्क छ ।
निमित्त प्रमुख पौडेलले भन्नुभयो, ‘बागलुङमा क्रमशः अलैँची जोन, गाई तथा भैँसी जोन र त्यसपछि धान जोनको कार्यक्रम ल्याउने लक्ष्य रहेको छ । चालु आवमा अलैँची जोन बनाउन बजेट विनियोजन गरेका छौँ । जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट सहित आठ स्थानीय तहलाई समेटेर अलैँची जोन बनाउने तयारी छ ।’
यस्तै बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडालाई समेटेर आव २०७८/७९ देखि सुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो । बाख्रा जोन सुरु हुँदा २६ हजार ६ सय ७५ बाख्रा रहेकामा हाल बाख्राको संख्या ४१ हजार ५ सय १३ पुगेको छ ।
आलु जोन बागलुङका ५ पालिकाको ६ सय १० हेक्टर क्षेत्रफलमा फैलिएको छ । बाख्रा जोन कार्यक्रमले ३ पालिकाको २९ बाख्रा फार्मलाई समेटिएको छ । जोनअन्तर्गत बीउपुँजी, यन्त्रिककीरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउँदै आएको पौडेलको भनाइ छ ।
आलु जोन कार्यक्रम ३ समूहमार्फत सञ्चालन भइरहेको छ भने बाख्रा जोन कार्यक्रम २६ निजी उद्यमी, २ सहकारी र १ समूहले सञ्चालन गर्दै आएको छ । आलु र बाख्रा जोन प्रभावकारी बन्दै गएपछि बागलुङ र पर्वतका केही पालिकालाई समेटेर अलैँची जोन बनाउन थालिएको छ ।
अलैँची जोन बनाउन चालु आवमा १ करोड २ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसका लागि घुम्ती तालिम, अलैँचीको समस्या निदान, क्षेत्रफल विस्तार, यन्त्र उपकरण वितरण, सिँचाइ पूर्वाधार निर्माण तथा सुधारिएको आधुनिक भट्टी निर्माणको काम यस वर्षदेखि थालिने छ ।
-रासस
प्रतिक्रिया दिनुहोस