१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

अकबरे खुर्सानीले कमायो ६ महिनामै, भयो १० लाख आम्दानी



  • आफ्नै खबर
  • १३ असोज २०८१ आईतबार (२ महिना अघि)
  • पाठक संख्या ८७
  • बागलुङ/  गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झर्नुभयो । बसाइँसराइगरी परिवारसहित चितवन झर्नुभएका कार्की १० वर्षपछि गाउँ फर्किएर अहिले व्यवसायिक अकबरे खुर्सानी खेती गर्दै हुनुहुन्छ ।  

    पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गर्नुभएका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लाग्नुभएको थियो । उहाँ बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लाग्नुभएको हो । यसमा राम्रो आम्दानी देखेपछि अहिले उहाँ सन्तुष्ट हुनुहुन्छ । वैशाखमा लगाएका अकबरेका बिरुवाले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् । 

    ६ महिनामै १० लाख रुपैयाँको अकबरे बिक्री गर्नुभएका कार्की खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा गाउँका खेतीयोग्य जमिन बाँझो भएका छन् । अहिले उहाँ गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थाल्नुभएको छ । 

    अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की हुनुहुन्छ । करिब १० रोपनी क्षेत्रफलमा ६ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उहाँ बिहानदेखि साँझसम्मै बारीमा व्यस्त हुनुहुन्छ । 

    करिब तीन लाख रुपैयाँ लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताउनुभयो । प्रतिकिलो दुई सय रुपैयाँमा पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उहाँको भनाइ छ । अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उहाँ बताउनुहुन्छ । 

    उत्पादन भएका अकबरे बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताउनुभयो । चितवनमा बुबाआमा रहेको हुँदा उहाँहरुले बिक्री गर्ने गरेको कार्की बताउनुहुन्छ । 

    ‘सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु । यसबाट धेरै राम्रो भयो’, कार्कीले भन्नुभयो, ‘सुरुमा धेरै रोप्न सकिएन । अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ । अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन्, गाउँमा जग्गा जति पनि छ ।’

    कार्कीलाई उहाँकी श्रीमती सन्दीपाले साथ दिँदै आउनुभएको छ । चार वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आउनुभएको छ । अब अकबरे खेतीलाई नै बढी समय दिने उहाँको भनाइ छ । 

    हाल उहाँको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउनुहुन्छ ।

    नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताउनुभयो । कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उहाँको भनाइ छ । 

    कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताउनुभयो । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उहाँ बताउनुहुन्छ ।

    प्रवक्ता भण्डारीले भन्नुभयो, ‘नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ । गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो । यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ । उहाँहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ ।’

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?