काठमाडौं/ ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिक कालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास ‘युगसन्धि’को आज राजधानीमा लोकार्पण गरिएको छ ।
विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाती तथा संस्कृति, महिला तथा पुरुष एवम् रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गहरूमा विश्वमित्र ऋषि र बशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको छ । उपन्यासमा ब्रम्ह शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ ।
पुस्तक लोकार्पण समारोहमा बोल्दै समिक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शाष्त्रिय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभइ पराजयको पनि कथा भएको बताउनुभयो । उहाँले युगसन्धिले प्राचिन समयको जातिय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गर्नुभयो ।
यसैगरी समिक्षक डा ज्ञानु पाण्डेले युगसन्धि उपन्यास यसले उठान गरेको विषयवस्तु भन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भिर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दावी गर्नुभयो । वैदिक कालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उहाँको भनाइ थियो ।
वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गर्नुभएका डा ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाउनुभएको बताउनुभयो ।
लेखक चालिसेले वैदिक कालका द्वन्द्वहरुलाई अध्ययन गरेर निकालेको निश्कर्षका आधारमा उपन्यास तयार पारेको बताउनुभयो ।
लोकार्पण समारोहमा समिक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले लेखकलाई शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा बरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती के के कर्माचार्य लगायत बिभिन्न बिशिस्ट साहित्यकारहरुको बाक्लो उपस्थिती थियो ।
परिचय पब्लिकेसनद्वारा प्रकाशित पुस्तकको मूल्य पाँच सय ५० रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस