१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

मह बेचेरै वार्षिक १२ लाख 



  • आफ्नै खबर
  • १३ कात्तिक २०८१ मंगलबार (१ महिना अघि)
  • पाठक संख्या ४८
  • बागलुङ/  जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहनुभएको छ ।

    घर्कंदो उमेरमा पनि उहाँ हट्टाकट्टा देखिनुहुन्छ । काम गर्ने जोस जाँगर पनि उहाँमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ । 

    उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उहाँले २०५० सालदेखि व्यावसायिक रुपमा मौरीपालन गर्न थाल्नुभएको हो । 

    तीन दशक मौरीपालन गर्नुभएका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताउनुभयो । उहाँको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ ।

    उहाँले सुन्तलाका तीन सय र कागतीका एक सय ५० बोट लगाउनुभएको छ । ती बिरुवाले विस्तारै फल दिन थालेको उहाँले बताउनुभयो । 

    जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आउनुभएको छ । उहाँ अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुनुहुन्छ । 

    आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पु¥याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गर्नुभयो । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उहाँले सबै खर्च कटाएर १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो ।

    ‘विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ’, उपाध्यायले भन्नुभयो, ‘मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु । २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।’ मह प्रतिकेजी एक हजार तीन सय रुपैयाँमा घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । 

    महको माग निकै बढेको हुँदा पु¥याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ मौरीमा रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उहाँको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका लागि उपयुक्त हुने धारणा राख्नुभयो । 

    उपाध्यायले भन्नुभयो, ‘२०४८ सालतिर मौरीपालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रुपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पु¥याउन सकिरहेका छैनौँ ।’ युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । 

    पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताउनुभयो ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?