आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

मुक्त कमलरीको सामुहिक परिश्रम : तिल्की धानबाट मनग्य आम्दानी


  • आफ्नै खबर
  • २०८१ मंसिर २५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • दाङ/  दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।  

    तुलसीपुर–१६ का सीता चौधरी उक्त सहकारीको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ पूर्वकमलरी हुनुहुन्छ । उहाँले कमलरी मुक्त भएपछि सहकारीमा आबद्ध भएर काम गर्दै आउनुभएको छ ।

    सहकारीले प्रतिकट्ठा तीन हजार रुपैयाँ वार्षिक भाडा दिने सर्तमा ३५ कट्ठा जमिन लिएको छ । सोही जमिनमा गत वर्षदेखि सहकारीले तिल्की धानखेती गर्न थालेको उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘सामूहिक रुपमा धानखेती गर्दा समयमा रोपाइँ हुन्छ, काट्न, दाउन पनि सबै सदस्य मिलेर गर्छौं ।’ गत वर्ष फलेको ५५ क्विन्टल धानमध्ये ५० क्विन्टल बिक्री गरेर गत वर्ष चार लाख रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो । 

    ‘अब गत वर्षको पाँच क्विन्टल धान मात्रै बाँकी रहेको छ, त्यो पनि माग आएको छ कुटाएर बिक्री गर्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो, ‘गत वर्ष धेरै जसो धान बिक्री भयो बाँकी चामल बनाएर बिक्री गरेका थियौँ ।’ 

    सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बीउ निःशुल्क दिएको बताउनुभयो । ‘सोही धानको बीउ ३५ कट्ठा खेतमा रोपेको ६० क्विन्टल फल्यो’, उहाँले भन्नुभयो, ‘अन्य सामान्य धानभन्दा यो धान महङ्गोमा बिक्री हुने गरेको छ । अरू धान तीन हजार चार सय रुपैयाँमा बिक्री हुन्छ ।’ 

    तिल्की धान आठ हजार रुपैयाँ प्रतिक्विन्टलमा बिक्री भइरहेको उहाँले बताउनुभयो । १२ क्विन्टल धान बिक्री गरेर ९६ हजार रुपैयाँ आम्दानी भइसकेको उहाँले बताउनुभयो । चामल प्रति क्विन्टल १५ हजार रुपैयाँमा बिक्री भएको उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘संस्थामा रहेका पदाधिकारीले गत वर्ष परम्परागत तिल्की धानखेती गरेका थियौँ, राम्रो आम्दानी भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौँ ।’ 

    गत वर्षभन्दा यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँको भनाइ छ । चार सय ७० जना सदस्य रहेको उक्त सहकारीका सबै सदस्यले सामूहिक खेती गर्ने र बिक्री गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । 

    जैविक मल प्रयोग गरेर खेती गरेको उहाँको भनाइ छ । चामल ढुवानीमा समस्या रहेको उहाँँले बताउनुभयो । चामल ‘ब्रान्डिङ’ गरेर लोगो राख्न पाए बिक्री गर्न सजिलो हुने अनुमान गर्नुभएको छ । वडा र तुलसीपुर उपमहानगरपालिकासँग प्रशोधन तथा बजारीकारणको माग गरेको उहाँले बताउनुभयो । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु