१० साउन २०८२ शनिबार | 26 Jul 2025 Sat

इन्द्रावतीको काखमा ‘लेकबेंसीका सुगन्ध’ लोकार्पित



  • आफ्नै खबर
  • १६ पुष २०८१ मंगलबार (७ महिना अघि)
  • पाठक संख्या ३३९
  • काभ्रेपलाञ्चोक / साहित्यकार महेन्द्र चालिसेको नवीनतम  यात्रा संस्मरण कृति ‘लोकबेंसीका सुगन्ध’ सार्वजनिक भएको छ । एक कार्यक्रमकाबीच काभ्रेको देउपुर नगरपालिकाको कान्तिटारमा उक्त कृति विमोचन गरिएको हो । विख्यात आख्यानकार रमेश विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’को सिर्जनास्थल पनि यही सेरोफेरो थियो, जहाँ विकलकै कनिष्ठ पुत्र महेन्द्र चलिसेको कृति सार्वजनिक गरिएको थियो । 

    ‘अर्जुन–राधा फाण्डेशन’को आयोजनामा संस्थाका संरक्षक अर्जुन नेपालको सभापतित्व, वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा राजधानीदेखि गएका साहित्यकार तथा स्थानीयबासीको बाक्लो उपस्थितिमा कृति विमोचन गरिएको हो ।

    साहित्यकार चालिसेले विभिन्न धार्मिक तथा प्राकृतिक क्षेत्रहरुको भ्रमणका क्रममा संगालेका अनुभव, त्यहाँको ऐतिहासिक, पौराणिक तथा प्रचलित कथनहरुमा आफ्ना विश्लेषण सहित प्रस्तुत कृति सार्वजनिक गर्नुभएको हो ।

    कृतिमा समेटिएका २२ वटा शीर्षकमा उच्च पहाडी क्षेत्रदेखि तराईका समथर भूभागसम्मको भ्रमण र धार्मिक क्षेत्र तथा प्राकृतिक सम्पदाहरुको विस्तृत विवरण दिँदै कृतिको शीर्षकलाई न्याय गर्नुभएको छ ।

    झट्ट हेर्दा र सुन्दा आफ्नो भ्रमणका गन्थन समेटिएको जस्तो लाग्ने भए पनि पुस्तकको पहिलो पाठदेखि नै उत्सुकता जगाउने गरी नेपालको धार्मिक–सांस्कृतिक पक्षहरुको मेहेनतका साथ प्रचार गर्न ठूलो गुण लगाएको विमोचन समारोहमा समालोचकहरुको धारणा थियो ।

    समारोहमा वरिष्ठ समालोचक गोपी मैनालीले हेर्दा नियात्रा जस्तो लागे पनि चालिसेको यो कृतिले नेपालको आध्यात्मिक क्षेत्रको प्रवर्द्धनमा सघाउ पुर्याएको बताउँदै मुलुकभित्र रहेका यस्ता क्षेत्रहरुको भ्रमणका लागि प्रेरित गर्ने बताउनुभयो ।

    अर्का समालोचक ठाकुर शर्मा भण्डारीले विमोचित कृति नियात्रा जस्तो लाग्ने, तर त्यसले पूर्णता नपाएको, यात्रा संस्मरण मान्ने हो भने त्योभन्दा धेरै गहन भएको टिप्पणी गदै कृतिले आम पाठकहरुलाई भ्रमणप्रति रुचि जगाउने विश्वास व्यक्त गर्नुभयो ।

    वरिष्ठ साहित्कार तथा पत्रकार विजय चालिसेले आफ्नो भाइ महेन्द्रको साहित्यिक लेखन कथाबाट सुरु भए पनि पछिल्लो समय नियात्रातिर केन्द्रित भएको र नियात्रामा पनि धार्मिक क्षेत्रहरुमा केन्द्रित रहेकोमा खुसी व्यक्त गर्दै वेद पुराणको रचनाभूमि, ज्ञान प्रचारको क्षेत्र भए पनि नेपालका धार्मिक क्षेत्रहरु ओझेलमा परिरहेका बेला प्रस्तुत कृतिले यसको महत्व दर्शाउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अथिति साहित्यकार रोचक घिमिरेले रमेश विकलले अलिरव बग्दछ इन्द्रावती कृति रचना गर्नुभएको स्थानमा उहाँकै कान्छा छोराको कृति विमोचन गर्न पाउँदा ४० वर्षअघि विकलसँग सो स्थानमा आएको स्मरण गर्नुभयो ।

    ‘महेन्द्र चालिसेको जीवनी, व्यक्तित्व र कृतित्वको विश्लेषण’ शीर्षकमा पाटन संयुक्त क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छात्रा सन्जिता भुजेलले गरेको शोधपत्रको प्रति पनि उक्त कार्यक्रममा हस्तान्तरण गरिएको थियो । समारोहमा सर्जक महेन्द्र चालिसेले प्रस्तुत कृतिका बारेमा प्रकाश पार्दै विमोचन समारोहमा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    आलोक चालिसेले सञ्चालन गर्नुभएको कार्यक्रममा ‘अर्जुन–राधा फाउण्डेशन’का अध्यक्ष सुमन नेपालको स्वागत मन्तव्य तथा पुस्तक प्रकाशक संस्था सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले संस्थाले कृति प्रकाशन गर्नुको कारण र यसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।