३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

‘अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ’



  • आफ्नै खबर
  • १२ माघ २०८१ शनिबार (६ महिना अघि)
  • पाठक संख्या ११६
  • इलाम/  सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो । 

    ‘अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ’, उहाँले भन्नुभयो, ‘कृषिमै रमाएको त तीन दशक बित्यो । तर, पालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेपछि मलाइ थप व्यवसायीक बन्न ऊर्जा मिलेको हो । टनेल र अन्य बिउ बिजनमा अनुदान पनि पाएँ ।’

    उहाँको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । जहाँ अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया र कफिको व्यवसायीक खेती भइरहेको छ । राईले यस पटक आठ रोपनी क्षेत्रफलमा रोपण गर्नुभएको दश हजार बोट अकबरेबाट २३ लाख रुपैयाँ आम्दानी गर्नुभयो । 

    राईले भन्नुभयो, ‘फल सात लाखको बिक्यो । प्रतिकेजी ३५ हजारदेखि ५० हजारका दरले ४० केजी बियाँ बिक्री गर्दा करिब १६ लाख आम्दानी भयो । अकबरेले यो वर्ष २३ लाख आम्दानी गरेको छ ।’ 

    उहाँले उत्पादन गरेको अकबरे सामान्यतया कोसेलिका रुपमा बिक्री हुन्छ । उहाँलाई माघ धान्न मुस्किल छ । 

    भन्नुभयो, ‘फलभन्दा बढी बियाँ बिक्री हुन्छ । अचार बनाउन कोसेलिका रुपमा नेपाल र ईन्डियामा खपत भइरहेको छ । भारतबाट दैनिक पचास केजीको माघ छ । देशभरिबाट हाल ३० केजी बियाँको माघ छ । तर, न फल–न बियाँ दुबैको माघ पुरा गर्न सकिएको छैन ।’

    अकबरे मात्र होइन राईले यसवर्ष ६ रोपनी जमिनमा काँक्रा खेती लगाउनुभएको थियो । उहाँले २० हजार केजीका दरले १६ केजी काँक्राको बियाँ बिक्री गर्नुभयो । उहाँले भन्नुभयो, ‘काँक्राको फल चैँ बेच्दिन । यसो हटिया खर्च धान्नलाई दुई चार क्विन्टल बिक्छ ।’ 

    काँक्रामा डाउनी मिल्ड्यू र पाउडरे मिल्ड्यू रोगले समस्या ल्याएको छ । काँक्रामा पात पहेँलो हुने र बोट हुर्कन नदिने समस्या देखिएको छ भने अकबरेमा थुप्रै समस्या आउन थालेका छन् । 

    ‘जरादेखि मास्तिर माटो छेउको खुल्ला आकासे भागमा कुहिने र ओइलिएर मर्ने विकराल समस्या अकबरेमा देखापरेको छ ।’ उहाँले भन्नुभयो, ‘एन्थ्रा कनोज नामको रोगले फलमै कालो धब्बा आउन थालेको छ । बारी सुद्ध गर्नु र खेतीलाई अग्र्यानिक बनाउँदा समस्या समाधान हुन्छ ।’

    याम अनुसारको खेती गरेर मनग्गे आम्दानी लिइरहनुभएका राई दम्पत्तिले अकबरे र काँक्रा बाहेक आलु, कागती, एभोकाडो, चिया र कफिको समेत व्यवसायीक खेती गरिरहनुभएको हो । 

    ‘पाँच मन(प्रति मन ४० केजी) आलु रोपेका छौँ ।’ मदनकी श्रीमती चन्द्रमाया राईले भन्नुभयो, ‘नौ रोपनीमा दुई सय ५० बोट कागती छन् । पोहोर साल एक लाख २० हजार रुपैयाँको बेचेका थियौँ । यो वर्ष एक लाख ८० हजार रुपैयाँ जत्तिको हुन्छ होला । कागती केजीको दुई सयले बिक्दैछ ।’

    उहाँहरुले एभोकाडो लगाउनुभएको तीन वर्ष भयो । चन्द्रमायाले भन्नुभयो, ‘१३ रोपनीमा तीन सय बोट एभोकाडो छ । तर, उत्पादन दिन थालेको छैन । अब दुई वर्षपछि आम्दानी सुरु हुन्छ ।’ अन्य खेती गर्न भ्याईनभ्याई हुने राई दम्पतिले ११ रोपनीको चियाबारी भने ठेक्कामा दिनुभएको छ । 

    ‘चियामा अलिक अलमल हुन्छ । धाईरहनु पर्छ । त्यै भएर अरुलाई दिएको । उनिहरुले ठेक्का बुझाउँछन्’, मदन भन्नुहुन्छ, ‘अब कफि लगाउने योजनामा छु । चार सय बिरुवा ल्याइसकेँ । जम्मा एक हजार रोप्ने तयारी छ । यो चैँ मेरो पेन्सनजस्तै पछि बुढेसकालमा बेचिखाने ।’

    मदनलाई बारीको तल्लो भेगतिर बाँदरले दुःख दिन थालेको छ । अब, बाँदर पन्साउन उहाँले टमाटर र बन्दा कोपीको खेती लगाउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फागुन लागेपछि १५ हजार बन्दा र तीन हजार टमाटर रोपेर बाँदर आतङ्क हेर्नुछ ।’ 

    उहाँको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । भन्नुहुन्छ, ‘अझै २० रोपनी थपौँ भनेको बच्चाले मानेनन् । अब बजारमा घडेरी जोड्नुपर्छ भन्छन् ।’

    घरमा मदन र उहाँकी श्रीमती चन्द्र मात्र बस्नुहुन्छ । बारीमा काम गर्ने दिनहुँजसो चार जना खेताला हुन्छन् । छोरी स्वेच्छा इलाम विव्ल्याँटेस्थित प्राइम बैँककी कर्मचारी हुनुहुन्छ । छोरा धनकुटाको पाख्रिबासमा बिएससीएजि सातौँ सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ । 

    ‘धेरै काम परेको दिन २० जना पनि खेताला हुन्छन् । सिस्टममा गएर काम गर्दा ५०–५५ रोपनीमा खेती गर्न धेरै जनशक्ति लाग्दैन । तर, काम चैँ सिस्टममा गर्नुपर्यो ।’ मदन भन्नुहुन्छ, ‘वर्षमा खर्च कटाएर १२–१४ लाख बचत हराउँदैन ।’ 

    राईको गोठमा दुई माउ गाई छन् । उहाँले भन्नुभयो, ‘गाईको मल मुत्रले खेती अग्र्यानिक बनाउँन सहयोग मिल्छ । गोबरभन्दा गहुँत बढी उपयोगी हुन्छ ।’ उहाँ कृषक मात्र होइन कृषि विज्ञ पनि हो । नगरपालिकाले आयोजना गरेका धेरै तालिममा गएर उहाँले अन्य किसानलाई कृषि समस्या, चुनौती र सम्भावनाका बारेमा जानकारी गराउनुहुन्छ ।

    सूर्योदय नगरपालिकाले मदनजस्ता सफल र व्यवसायीक किसानलाई प्रोत्साहित गर्दै आएको छ । विभिन्न कार्यक्रमको अवसरमा उत्कृष्ट किसानको रुपमा सम्मान गर्ने गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । 

    किसान लक्षित थुप्रै अनुदानका कार्यक्रम छन् । यहीँ रहेर व्यवसायीक खेती गर्ने मदन जस्ता किसानका लागि नगरपालिका सँधै साथमा रहेको नगरप्रमुख राईले बताउनुभयो । 

    ‘ऊर्जा, जोस र जाँगर लिएर पालिकाभित्रै व्यवसायीक बन्न चाहाने कृषकलाई हामीले सकेसम्म अनुदान नै दिईरहेका छौँ’, उहाँले भन्नुभयो, ‘सूर्योदय पर्यटन र कृषिबाट नै आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएर अघि बढेको पालिका हो । यहाँका सबै किसान मेहेनती हुनुहुन्छ ।’

    –रासस