३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल



  • आफ्नै खबर
  • १७ माघ २०८१ बिहिबार (६ महिना अघि)
  • पाठक संख्या ११५
  • इलाम/  इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । 

    दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताउनुभयो । उहाँले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिनुभयो । 

    ‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो’, दहालले भन्नुभयो, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।’

    उहाँले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाउनुभयो । 

    दहालले भन्नुभयो, ‘सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ ।’

    धूपीको तेल प्रतिकिलोग्राम दुई हजार पाँच सय रुपैयाँ, तीतेपातीको तेल प्रतिकिलो ६ हजार रुपैयाँ, मेन्थाको तेल प्रतिकिलो सात हजार रुपैयाँ र धसिंगरेको तेल प्रतिकिलो सात हजार रुपैयाँमा बिक्री हुने गरेको छ । 

    दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहनुभएको छ । 

    दहालले भन्नुभयो, ‘गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो आठ र तीतेपाती प्रतिकिलो चार रुपैयाँको दरले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन् ।’  

    गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताउनुभयो । 

    यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ ।

    –रासस