सुनसरी/ कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।
धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्न सहयोग गरेको बताउनुभयो । उहाँले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहनुभएको छ ।
उहाँले भन्नुभयो, ‘पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ । अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै एक लाख रुपैयाँ आम्दानी भइरहेको छ ।’
फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान–११ की शिवमाया राई पनि हुनुहुन्छ । ६ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर रोप्नुभएकी उहाँले कालान्तरमा मनपरेका फूल सङ्कलन सुरु गर्नुभयो ।
अहिले उहाँले आफैँ नर्सरी सञ्चालन गरिरहनुभएको छ । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।
‘सुरुमा आफन्त र छिमेकी सित्तैमा लैजाने गर्दथे । उनीहरुले निःशुल्क पाएर होला, राम्रोसँग स्याहार नगरेको देख्दा चित्त दुख्थ्यो’, उहाँले भन्नुभयो, ‘पछि सित्तैमा दिन मन लागेन । प्रतिबिरुवा ५० रुपैयाँ लिन थाले पछि यो व्यवसाय बन्यो ।’
उहाँले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गर्नुभयो । अहिले यसैले व्यवसायी बनाएकामा उहाँ निकै खुसी हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘सौखले रोप्न सुरु फूल पछि व्यवसाय बन्यो । अहिले यसैबाट मासिक दुई लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ ।’ अहिले उहाँको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल र बिरुवा छन् ।
धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।
धरान–८ मा पवित्र नर्सरी सञ्चालन गर्दै आउनुभएकी प्रमिला राई १७ वर्षदेखि नर्सरीबाट भएको आम्दानीले नै परिवार धानिरहेको बताउनुहुन्छ । नर्सरीमा उहाँले केही व्यक्तिलाई जागिर पनि दिनुभएको छ ।
धरान–२० का युमेनहाङ राई पनि पहिले फूल सङ्कलन गर्ने सौख नै अहिले व्यवसाय बनेको बताउनुहुन्छ । अहिले एभरेष्ट नर्सरी सञ्चालन गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘सुरुमा साथीभाइबाट मनपरेका फूल मागेर ल्याउँथें । पछि यसैलाई व्यवसाय बनाएँ । अहिले यही सौखको व्यवसायले घर खर्च धानेको छ ।’ उहाँको नर्सरीमा अहिले एक सय रुपैयाँ देखि ७० हजार रुपैयाँसम्मका बिरुवा छन् ।
धरानका नगरप्रमुख हर्क साम्पाङ राईले पनि उपमहानगरमा फूल रोप्ने अभियान नै सञ्चालन गरिरहनुभएको छ । उहाँले सञ्चालन गर्नुभएको श्रमदान अभियानबाट धरानमा सडकको छेउछाउ र सर्दुखोलाको बगर र डाँडाकाँडामा विभिन्न प्रजातिका फूल र बोटबिरुवा रोपिएको छ ।
‘फूलले मानिसलाई आकर्षित मात्र गर्दैन व्यावसायिक पनि बनाउँछ’, उहाँ भन्नुहुन्छ, ‘फूलले धरान पर्यटकलाई पनि आकर्षित गर्छ ।’ फूल र बोटबिरुवा धरानको चिनारीका रुपमा विस्थापित गर्नका लागि उक्त अभियान सञ्चालन भइरहने उहाँको भनाइ छ ।
धरानमा अहिले व्यावसायिक रूपमा फूल र बिरुवा बेच्ने तीन दर्जनभन्दा बढी नर्सरी छन् । धरानमा वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको फूल र बिरुवाको कारोवार हुने जानकारहरु बताउँछन् ।
–रासस
प्रतिक्रिया दिनुहोस