दाङ/ पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ ।
स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्नुहुन्छ । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिनुभएका २६ वर्षे उहाँले गत वर्ष मात्रै १८ लाख रुपैयाँ बराबरको स्ट्रबेरीको कारोबार भएको बताउनुभयो ।
‘गत वर्ष ११ लाख रुपैयाँ त बचत नै भयो’, उहाँले भन्नुभयो, ‘अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।’ उहाँका अनुसार यस वर्ष हालसम्म चार लाख रुपैयाँ भन्दा बढीको स्ट्रबेरी बिक्री भइसकेको छ ।
साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्नुभएको हो । उहाँले स्ट्रबेरी प्रतिकिलो खुद्रामा सात सय रुपैयाँ र थोक पाँच सय रुपैयाँमा बिक्री भइरहेको बताउनुभयो । स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको सुनाउनुभयो ।
साउदले भन्नुभयो, ‘कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ । अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।’
परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उहाँले बताउनुभयो । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आउनुभएको छ ।
स्ट्रबेरी स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ ।
उहाँले भन्नुभयोे, ‘सुरुमा बिरुवा, सिँचाइलगायतमा सात लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।’ उहाँका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको छ ।
‘स्ट्रबेरी चिसो ठाउँमा हुने फल मध्येमा पर्छ’, उहाँले भन्नुभयोे, ‘आज भोलिको समय राम्रो हुन्छ ।’ जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उहाँ बताउनुहुन्छ ।
–रासस
प्रतिक्रिया दिनुहोस