२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

वनको खाली जग्गामा खेती, आम्दानी गर्दै महिला



  • अञ्जली थापा
  • ८ चैत २०८१ शुक्रबार (२ महिना अघि)
  • पाठक संख्या १२९
  • मकवानपुर/  यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उनिहरुले खेती गरेका हुन् ।  

    पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ । आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन् । आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।

    पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर गोठका गाईवस्तुलाई घाँस पराल दिन सामुदायिक वनभित्रको हाइटेन्सनमुनि पुग्नुहुन्छ । 

    जडीबुटी आयआर्जन समूह नै बनाएर उक्त समूहका सदस्यसहित गरिएको खेतीले उहाँलाई आत्मसन्तुष्टिसँगै आर्यआर्जनका लागि बाटो बनाइदिएको उहाँ बताउनुहुन्छ । घरमा पालिएका गाईबाख्रालाई पनि जडीबुटीखेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गर्नुहुन्छ । 

    आयआर्जनका मुख्यस्रोत जडीबुटीखेती बनाउन कम्मर कसेर लाग्नुभएकी परियारलाई सामुदायिक वनको हाइटेन्सनमुनि गरिएको जडीबुटी र घाँसपातसँगको लगाव र झुकावले घर बस्नै नसक्ने बनाएको छ ।

    नौ वर्षअघिदेखि वनस्पति कार्यालयबाट उपलब्ध गराइएकोे सर्पगन्धाबाट सुरु गरिएको खेती पछि गएर उहाँले समूहसँग मिलेर बेसार र अदुवाखेतीको पनि विस्तार गर्नुभएको छ । उहाँहरूले उत्पादन गरेको जडीबुटी, अदुवा, बेसार बिक्री गर्न खासै समस्या नभए पनि बीउपुँजी बढाउन पाए हुने भन्ने उहाँलाई लागेको छ । 

    पानी पर्दा ओत लाग्न र खेतीलाई अस्थायी रूपमा भित्र्याउन खेती भइरहेको स्थानमा नै टहरा निर्माण गर्नुभएको छ । उक्त टहरा निर्माणका लागि बागमती प्रदेशसभा सदस्य भारती पाठकको आर्थिक सहयोग, समूहको श्रमदानबाट सम्भव भएको चम्पामायाको भनाइ छ ।

    परिवर्तनको क्रम
    चम्पामायालाई अहिलेको समूहकी अध्यक्ष चम्पा बन्नका लागि निकै सङ्घर्ष गर्नुपरेको थियो । सानो उमेरमा दमाई भनेर हेपिनुभएकी उहाँ अहिले समुदायकै प्रेरणा बन्नुभएको छ । 

    समूहमा लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकास गर्नुभएकी उहाँको जीवन अहिले जति सुन्दर देखिन्छ उहाँले भोग्नुभएको दुःखको कथा पनि त्यत्तिकै कहालीलाग्दो छ । सानो छँदा उहाँलाई हेप्नेमात्र होइन, नागरिकता बनाउँदा पनि उहाँको थर दमाई लेखिएको सम्झँदै तत्कालीन नागरिकता वितरण गर्ने अधिकारीप्रति आक्रोश पोख्नुभयो । 

    उहाँको मात्र होइन, उहाँका श्रीमान्को नागरिकतामा पनि थर दमाई उल्लेख गरिएको छ । सोही कारण आफ्ना छोराछोरीको नागरिकतामा पनि दमाई लेखिएको बताउँदै उक्त कारणले छोराछोरीमा हीनताबोध गराएको उहाँ सुनाउनुहुन्छ ।

    उक्त क्षेत्रका महिलाको आदर्श बन्नुभएकी उहाँले यही समाजमा रहन बस्न निकै सङ्घर्ष गर्नुपरेको सम्झनुहुन्छ । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्र्याैली काम भनेको कपडा सिलाउनु थियो । 

    तर, अन्य समुदायमा छोराछोरीबीच विभेद भएजस्तै उहाँको घरमा पनि उहाँलाई खाना बनाउन सिकाइन्थ्यो भने उहाँका दाजुभाइलाई कपडा सिलाउन सिकाउने गरेको उहाँ सम्झनुहुन्छ । 
    खेत जोत्ने, किसानी गर्ने परिवारमा विवाह भएर गएपछि खेत जोत्ने, वन जाने, मेला जाने उहाँकोे दैनिकी नै भयो । त्यही क्रममा गर्भवती हुँदा रूखबाट लडेर थला परेपछि छोरासमेत गुमाएको उहाँले बताउनुभयो ।

    मकवानपुरको सरिखेतबाट मनहरीमा बसाइँ सरेर आएपछि उहाँ अनेमसङ्घमा आबद्ध हुनुभयो । उहाँले सोही समयबाट प्रौढ शिक्षा पढेर साधारण लेखपढ गर्न जान्ने भएको बताउनुभयो । सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरेको भए पनि दलित भनेर दयाको आधारमा सीमित हुन नचाहेको उहाँ बताउनुहुन्छ । 

    उहाँ भन्नुहुन्छ, ‘दलित त मलाई समुदायले बनाएको हो, म के बन्ने भन्ने त मेरो निर्णय हो, जस्तो लाग्यो । त्यसपछि सिक्ने र गर्ने काम केही छोडिनँ । बोल्ने र काम गर्ने आँट भने यो सामुदायिक वनको सदस्य भएपछि बन्यो ।’

    बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेको चम्पामायाको भनाइ छ । 

    उहाँ भन्नुहुन्छ, ‘खेती गरौँ जमिन छैन । अरू काम गर्न लगानी छैन । यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो कार्यक्रमले हामीलाई परिवर्तन नै गरिदिएको छ ।’ सानो लगानीबाट बाख्रापालन सुरू गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उहाँको भनाइ छ ।

    हाल सामुदायिक वनले ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम ल्याएको छभने यस कार्यक्रमले आफूहरूलाई जीवन निर्वाहका लागि निकै मद्दत पुगेको चम्पामायाको धारणा छ । 

    पशुपति सामुदायिक वनमा जडीबुटी, डिपाट सामुदायिक वनमा प्राङ्गारिक मल र तेजपत्ता, सुनाचुरी सामुदायिक वनमा तेजपत्ता र कागतीखेती गरेर महिलाहरूले वनलाई आर्थिक स्रोतको माध्यम बनाइरहेका छन् ।

    –रासस