२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नबिकेको सुन्तला पनि जाँदैन खेर



  • आफ्नै खबर
  • १० चैत २०८१ आईतबार (१ महिना अघि)
  • पाठक संख्या ८९
  • म्याग्दी/  अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।  

    अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा दुई लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

    ‘बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि बचेका साना दाना सुन्तला अझै बोटमा राखेका छौँ’, मैनाले भन्नुभयो, ‘जुस खानका लागि दैनिक ५० जनासम्म पर्यटक यहाँ आउनुहुन्छ ।’

    बेमौसममा सुन्तलाको जुस सानो गिलासको दुई सय ५० रुपैयाँ र ठूलो गिलासको तीन सय ५० रुपैयाँका दरले बिक्री हुने गरेको उहाँको भनाइ छ । 

    आफ्नै बगैँचाको एक सय बोट र छिमेकीको बोटमा बाँकी रहेका सुन्तलालाई टिपेर बोक्रा छोडाइ उपकरणको सहायताले रस निकालेर बिक्री गर्दै आएको मैनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपकरणले गेडा र छोक्रालाई एकातर्फ फाल्छ भने रसलाई भाडामा खसाल्छ ।’

    मुस्ताङको घाँसाबाट पदयात्रा गरेर म्याग्दीको तातोपानी आउने क्रममा बेमैसमको सुन्तलाको ताजा र स्वादिलो जुस उपभोग गर्न घरापमा विश्राम गरेको काठमाडौँका जनार्दनदेव पन्तले बताउनुभयो । 

    जुस बनाउन थालेपछि साना दाना भएका कारण बिक्री नभएका सुन्तला खपत भएको प्रेमले बताउनुभयो । खेर जाने सुन्तलाबाट जुस बनाएर अतिरिक्त आम्दानी भएको भन्दै अन्य क्षेत्रमा सुन्तला सकिए पनि यहाँका बगैँचामा साना दाना चैत महिनासम्म रहने उहाँले जानकारी दिनुभयो ।

    ठूला दाना माघमा टिप्ने घरापका किसानले साना दानालाई जुस बनाउन चैतसम्म राख्ने गरेका छन् । सुन्तला भण्डारण गर्ने चिस्यान गृह र प्रशोधन गरेर जुस बनाउने उपकरण तथा सीपमूलक तालिम आवश्यक परेको यहाँका किसान बताउँछन् । घरापमा २० परिवारको बसोबास छ । अधिकांशले सुन्तलाखेती गरेका छन् । 

    –रासस