दाङ/ ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ ।
सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार दुई सय ७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गरिएको छ ।
उहाँले भन्नुभयो, ‘सहकारीले तयार गरेको चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्यविधिअनुसार केरा खेती गरिएको छ ।’ बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्देश्यले जमिनको खोजी गर्ने क्रममा राप्ती किनारमा गौचरनमा केराखती थालिएको हो ।
‘जग्गाको मालिक खोज्ने र छलफल गर्ने काम भयो । उहाँहरु सबैले जग्गा सहज रुपमा दिनुभयो’, सचिव अधिकारीले भन्नुभयो, ‘बलौटे माटो भएकाले यहाँ केराखेती राम्रो हुन्छ ।’ चक्लाबन्दी गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको उहाँको भनाइ छ । बिरुवा उत्पादन गर्न मालभोग केराखेती गरेको अधिकारी बताउनुहुन्छ ।
२०८० वैशाखमा चितवनको टाँडी र हेटौँडाबाट २० हजार बोट केरा ल्याएर रोपिएको हो । रोपेको एक वर्षमा केरा पसाउन सुरु गरेको छ । बिरुवा खरिद गर्न ३७ लाख रुपैयाँ लगानी गरिएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केराका बिरुवा रेखदेख गर्न पाँच जनालाई रोजगारी दिएका छौँ ।’
अन्य कृषिबाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको अधिकारी बताउनुहुन्छ । एकपटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरु कृषिबाली जस्तो दुःख नहुने भएपछि सहकारीले केराखेती गरेको उहाँले बताउनुभयो ।
उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ । लमही विद्युत् प्राधिकारणले विद्युत् विस्तार गरेकाले बिजुलीको समस्या छैन ।’
केराखेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएकाले थोरै खेतीबाट पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले पछिल्लो समय केराखेती गर्ने किसान बढेका कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पाँच सय ३० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस