२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

चन्दाबाटै बन्यो पदमार्ग



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या ९०
  • पर्वत/  कुश्मा नगरपालिका–३ आम्बोटबासीले चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै पाँच सय मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । 

    पदमार्ग निर्माणका लागि ११ लाख रुपैयाँ सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताउनुभयो । 

    अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् । 

    २०५२ सालमा समाजसेवी खड्कबहादुर गुरुङको पहलमा विद्यालय स्थापना भएको थियो । तत्कालीन समयमा पोखरा–बागलुङ सडक खुलेपछि साविक दुर्लुङ र बाजुङ गाविसमा पर्ने निम्ने, कथुरे, ह्यार्दी, भारती, भुम, ओखलढुङ्गालगायत गाउँबाट आम्बोटमा बसाइँसराइ आउनेले चन्दा सङ्कलन गरेर विद्यालय खोलेका थिए । 

    बालबालिकाको पढाइमा समस्या हुने देखेर तत्कालीन समयमा आफ्ना बुवाले विद्यालय सञ्चालनमा ल्याएको प्रधानाध्यापक गुरुङले बताउनुभयो । पदमार्ग निर्माणका लागि विद्यालयले गत असोजमा चन्दा सङ्कलन अभियान थालेको थियो । गाउँका देश तथा विदेशमा बस्ने एक सय चार जनाबाट ११ लाख ४६ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । 

    उक्त रकमले विद्यालयसम्म पुग्ने फलामे रेलिङसहित ३०० मिटर ढलान गरेर सिँढी काटो निर्माण गरिएको छ भने बाँकी रकमबाट विद्यालय परिसरमा फलामको पिलर राखेर सिमेन्टको ढलान गरी सानो खेलमैदान निर्माण गरिएको छ ।

    विद्यालयमा दुईदेखि आठ वर्ष उमेर समूहका विद्यार्थी पढ्न जाने गरेको प्रधानाध्यापक गुरुङले बताउनुभयो । विद्यालयसम्म जाने सहज बाटो नहुँदा सानो उमेरका विद्यार्थी ढुङ्गा र गेग्रानसहितको अप्ठ्यारो बाटोमा हिँड्नुपर्ने बाध्यता रहेको थियो । विद्यालयमा हाल खानेपानी र बिजुलीको अभाव रहेको प्रअ गुरुङले बताउनुभयो । 

    स्थानीय तारे सामुदायिक वनको जग्गामा रहेको विद्यालयमा विद्युत् र खानेपानीको मिटरबक्स जडान गर्न समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना रानामगरले बताउनुभयो । उहाँका अनुसार विद्यालयलाई पक्की भवन र मन्टेश्वरी तहका लागि एक जना शिक्षक आवश्यक छ । 

    विद्यालयमा दुई प्रावि स्थायी र दुई जना निजी शिक्षक कार्यरत छन् । महिलाको नेतृत्व र व्यवस्थापनमा सञ्चालित विद्यालय व्यवस्थापनको अध्यक्ष र चारै जना महिला शिक्षक छन् । 

    –रासस