नवलपरासी पूर्व/ बर्दघाट सुस्तापूर्वमा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मोही र दहीको प्रयोग लोकप्रिय बन्दै गएको छ ।
पछिल्लो केही वर्षदेखि भोजभतेरमा मोही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टीप्यालेसका सञ्चालक गुरु पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले गाउँघरमा मोही र दही भोजमा अनिवार्यजस्तै थियो । अहिले पनि त्यसैगरी भोजमा मोही र दही राख्न थालिएको छ ।’
गाउँमा मात्र होइन, सहरबजारका पार्टीप्यालेसमा पनि अब मोही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टीप्यालेसका सञ्चालक पोख्रेल भन्नुहुन्छ, ‘पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैँले मोही माग्छन् । हामीले भोजभतेरको ‘मेनु’मा नै दही मोहीलाई समावेश गर्न थालेका छौँ ।’
जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि मोहीको प्रयोग हुन थालेको छ । यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मोही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–१० का राजु चापागाईँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मोही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ । विशेषगरी गर्मी मौसममा मोहीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ ।
देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मोही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिङ्कको सट्टा मोही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उहाँको भनाइ छ ।
माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र मोहीको आपूर्तिमा ध्यान दिन थालेका छन् । भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र मोहीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गङ्गाधर न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ । यसले किसानलाई फाइदा पुगेको छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस