२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon

याक प्रवर्द्धनमा जुट्दै स्थानीय तह



  • आफ्नै खबर
  • १ जेठ २०८२ बिहिबार (२ महिना अघि)
  • पाठक संख्या १६७
  • ताप्लेजुङ/  दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन् ।

    पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन् ।

    सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थियो । 

    गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा याकको शरीरको बनावट, सिङको आकार, पुच्छरको बनोट, चालचलन, स्वभावलगायत आधारमा मूल्याङ्कन गरी उत्कृष्ट याक छनोट गरिएको थियो । 

    प्रतियोगितामा विजयी घोषित याकका पालकलाई २८ हजार ५ सय ८८ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । सहभागी कृषकलाई प्रोत्साहनस्वरूप आठ हजार पाँच सय ८६ रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो ।

    जिल्लास्थित चौँरी व्यवसायी सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार यो कार्यक्रमले कृषकहरूमा आत्मविश्वास बढ्नुका साथै चौँरी पालनमा हाकर्षण पैदा गरेको छ । ‘हामीजस्ता दुर्गम भेगका किसानलाई राज्यले सम्झिएको महसुस भयो’, उहाँले भन्नुभयो, ‘अब हामीलाई अझ थप चौँरीपालन गर्न हौसला मिलेको छ ।’

    गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पनि याकपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले परम्परागत ज्ञान र सीप जोगाउन यस्ता प्रदर्शनीहरू नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएका छौँ ।’ 

    याक प्रवर्द्धन गर्नका लागि फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा याकपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा याक वितरण गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार यो योजना प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुनेछ । 

    ‘पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमसम्बन्धी कार्यविधि–२०८१ बनाएर पारित गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘यो कार्यक्रमले याकपालनको पुनरुत्थान र कृषकहरूको आम्दानी वृद्धिमा सहयोग पुर्याउनेछ ।’ उहाँका अनुसार कार्यक्रमका लागि गाउँपालिकाले आठ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

    अध्यक्ष लिम्बूले पछिल्लो समय याकपालन पेसाबाट कृषक क्रमशः पलायन हुन थालेपछि उहाँहरूलाई पुनःआकर्षित गर्ने उद्देश्यले यो पहल गरिएको बताउनुभयो । 

    याक प्रवर्द्धनमा मिक्वाखोला गाउँपालिका पनि अग्रसर हुँदै आएको छ । पालिकाले चालु आर्थिक वर्षमा याक संरक्षण तथा प्रवर्द्धनका लागि २५ लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

    गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले यस योजनाले याकपालक कृषकलाई आवश्यक प्राविधिक सहयोग, तालिम र पूर्वाधार विस्तारमा सहयोग पु¥याउने बताउनुभयो । 

    यसैगरी मैवाखोला गाउँपालिकाले पनि याक प्रवर्द्धनमा चासो देखाउँदै पाँच लाख रुपैयाँ बराबरको कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भन्नुभयो, ‘हामीले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै याकपालनलाई संरक्षण र आयआर्जनको भरपर्दो माध्यम बनाउन खोजिरहेका छौँ ।’

    चौँरी (याक) ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । चौँरीलाई उच्च हिमाली चरनभूमिमा चराइन्छ । याकबाट मासु, दूध, घ्यू, रौँ (ऊन) लगायतका उत्पादन प्राप्त हुन्छन् । यसले स्थानीयको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

    –रासस