१० जेठ २०८२ शनिबार | 24 May 2025 Sat

औद्योगिक जिल्ला बन्दै इलाम



  • टीका खतिवडा
  • ६ जेठ २०८२ मंगलबार (४ दिन अघि)
  • पाठक संख्या ५८
  • इलाम/  चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरु निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योग समेत इलाममा नै रहेको छ । १९२० सालमा स्थापना भएको इलाम चिया कारखाना सदरमुकाममा रहेको छ ।

    कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएसँगै तिनको प्रशोधन गर्ने उद्योगको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । कृषिमा चियादेखि किबी, सुन्तला, अलैँची, अदुवा, दूधजन्य वस्तु यहाँ उत्पादन हुने गर्दछ । इलाममा चिया प्रशोधन र तयार गर्ने सयौँ उद्योग छन् । 

    यहाँ उत्पादित चिया नेपालका विभिन्न क्षेत्रसहित भारत र तेस्रो मुलुक निर्यात हुँदै आएको छ । उत्पादन भएका वस्तु प्रशोधन गर्ने उद्योग स्थापना गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ । 

    जिल्लामा हालसम्म चार हजार पाँच सय ६२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ । यहाँ कृषि तथा वन पैदावारमा आधारित दुई हजार चार सय ५० उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी किरण कार्कीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार सेवामूलक एक हजार तीन सय नौ र उत्पादनमूलक चार सय ६७ उद्योग दर्ता भएका छन् । यस्तै पर्यटनतर्फ तीन सय २५, सञ्चार प्रविधि तथा सूचना प्रविधिमा आधारित ६ वटा, ऊर्जामूलक चार र खनिजतर्फ एउटा उद्योग दर्ता भएका छन् । 

    इलाममा सञ्चालन भएर पनि धेरै उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता छैनन् । यहाँ उत्पादन भइरहेका ऊर्जामूलक अर्थात् जलविद्युत् आयोजनाहरु कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएर सञ्चालन भइरहेका छन् भने चारवटा आयोजना मात्र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको पाइएको छ ।

    इलाममा चारवटा नदीमा २० भन्दा बढी जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । सबै चियाका उद्योगसमेत यहाँ दर्ता भएका छैनन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा ६५ वटा मात्र उद्योग दर्ता भएको तथ्याङ्क छ । जबकि कम्पनी रजिस्ट्रारको कार्यालयमा इलामका लागि भनेर एक हजार १४ उद्योग दर्ता भएका छन् । 

    जिल्लामा दुई सय बढी चियाका उद्योेग सञ्चालनमा रहेको अनुमान छ । सबै पालिकामा चिया उत्पादन हुन्छ । इलाममा राम्रो अलैँची उत्पादन हुने भए पनि प्रशोधन गर्ने कुनै उद्योग छैन । नेपालमा उत्पादन हुने अलैँची भारत भएर विभिन्न मुलुकमा निर्यात हुने गर्दछ । 

    अलैँची जिल्लामै राम्रो प्रशोधन गर्ने उद्योग भएको भए निकै राम्रो मूल्य पाउन सकिने किसानहरु बताउँछन् । भारतीय व्यापारीको मूल्यमा आफूहरुले अलैँची बिक्री गर्नुपरेको उनीहरुके भनाइ छ । औषधीय गुण भएको अलैँचीको उपयोग मसलाका रुपमा मात्र नभई अत्तरसमेत निर्माण हुने गर्दछ । 

    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि चार अर्ब १५ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भइरहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो । आव २०८/८१ मा एक हजार ५२५.९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

    यहाँबाट प्रशोधन नभई अदुवासमेत निर्यात हुने गरेको छभने यहाँको कुचो पनि कच्चा सामग्रीकै रुपमा निर्यात हुने गरेको छ । इलाममा उत्पादित वस्तु पूर्वी नाका भएर विदेश जाने गरेको छ । मेची भन्सार कार्यालयबाट अलैँची, चिया र अदुवा मात्रै ४९ अर्ब रुपैयाँ बराबरको निर्यात भएको जनाइएको छ । 

    कार्यालयबाट आव २०७६/७७ देखि गत आव २०८०/८१ सम्म ४९ अर्ब ५० लाख रुपैयाँ बराबरको अलैँची, चिया र अदुवा निर्यात भएको बताइएको छ । सबैभन्दा बढी तीन करोड ३७ लाख ६३ हजार किलोग्राम अलैँची भारत निकासी हुँदा ३२ अर्ब दुई करोड ८५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको कार्यालयले जनाएको छ । 

    पाँच आर्थिक वर्षमा सोही नाकाबाट ६ करोड २१ लाख ८३ हजार किलोग्राम चिया निर्यात भएको उल्लेख छ । यसबाट १४ अर्ब ९१ करोड ८७ लाख रुपैयाँ नेपाल भित्रिएको छ । यस्तै चार करोड १७ लाख ९८ हजार किलो अदुवा निर्यात भई दुई अर्ब पाँच करोड ७७ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।

    इलाममा मात्र कुल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अघिल्लो वर्ष दुई हजार आठ सय ५२ मेट्रिकटन उत्पादन भएको थियो ।

    किबीलाई यहाँ केही किसान आफैँले घरायसी मदिरा बनाउने गरेका छन् । किबीबाट जुस, जाम अचारलगायत अन्य थुप्रै वस्तु निर्माण गर्न सकिने भए पनि यससम्बन्धी उद्योग स्थापना नहुँदा किसानले मूल्य पाएका छैनन् । कोशी प्रदेशमा हालै सम्पन्न लगानी सम्मेलनमा पनि जिल्लाका कृषिजन्य वस्तुको प्रशोधनसम्बन्धी ठोस प्रस्ताव परेको छैन ।

    –रासस