३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

 दुई रोपनी जमिनमा काँक्रो रोपेर साढे दुई लाख आम्दानी



  • आफ्नै खबर
  • १७ असार २०८२ मंगलबार (२ हप्ता अघि)
  • पाठक संख्या ७३
  • पाल्पा/  रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यसपटक काँक्रोखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । काँक्रोबाट छोटो समयमा नसोचेको आम्दानी भएपछि उनीहरू उत्साहित बनेका छन् ।

    काममा निरन्तर मेहेनत र व्यवसायमा आउने उतारचढावमा धैर्य गर्न सकियो भने राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने थापा दाजुभाइले उदाहरण प्रस्तुत गरेका छन् ।

    करिब दुई रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको काँक्रोका स्वादले ग्राहकको मन जित्न सफल भएको छ । बिरुवा लगाएको दुई महिनाभित्र करिब दुई लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी भएपछि व्यवसायमा थप हौसला बढेको दिलबहादुरले बताउनुभयो । 

    वैशाख ९ गते लगाएको बिरुवाले हालसम्म उत्पादन लेखाजोखा गर्दा चार हजार किलोभन्दा बढी काँक्रो बिक्री गरेको उनीहरु बताउँछन् । जेठ–असारमा रामपुर क्षेत्रमा काँक्रोको राम्रो खपत हुने भएकाले यही समयलाई मध्यनजर गर्दै खेती गरिएको उनीहरूको भनाइ छ ।

    दिलबहादुरले भन्नुभयो, ‘यसपटक काँक्रो उत्पादन धेरै राम्रो भयो । बजारमा सजिलैसँग बिक्री भएको छ । व्यापारबाट हामी सन्तुष्ट बनेका छौँ । मेहेनत गरियो भने उत्पादन राम्रो हुने रहेछ भन्ने अनुभव पाएका छौँ । स्थानीय बजारमै राम्रो खपत भइरहेको छ । हालको बजारमा चलेको बिक्री मूल्य पाउँदा हामी खुसी छौँ ।’ 

    बिरुवा लगाएको ३५ दिनबाट उत्पादन बिक्री गर्न थालेको लालबहादुरले जानकारी दिनुभयो । प्रतिकिलो ७० रुपैयाँका दरले धमाधम काँक्रो बिक्री गरेर राम्रो आम्दानी भित्रिएको उहाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘दिनहुँ काँक्रो टिप्ने बिक्री गर्दैमा दुई जनालाई भ्याइनभ्याई हुन्थ्यो । बजार नपाएर समस्या होला भन्ने पिरलो छैन । उत्पादन गर्न सकियो भने स्थानीय बजारमा नै बिक्री भइरहन्छ । यहाँको बजारको मागअनुसार अझै पनि पुर्याउन सकिएको अवस्था छैन ।’

    वैदेशिक रोजगारीबाट फर्केर कृषि व्यवसायमा आबद्ध भएका थापा दाजुभाइले जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा इँटाभट्टा सञ्चालन गरेर छाडिएको पत्थरिलो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गराएर थापा दाजुभाइले तरकारीखेती सुरु गरेका हुन् ।

    उक्त पत्थरिलो जग्गामा ‘हाम्रो आधुनिक कृषिफार्म’को नाममा फार्मै दर्ता गरेर युवाले हराभरा तरकारी फलाएको देख्दा यहाँका स्थानीयवासी दङ्ग छन् ।

    थापा दाजुभाइको व्यवसाय अवलोकन तथा तरकारी लगाउने नयाँ प्रविधि, बीउबिजन, बजारीकरणलगायतका ज्ञान सीप सिक्न जानेको चहलपहल हुन थालेको छ । व्यापारी तथा ग्राहक पनि फार्ममै पुगेर तरकारी खरिद गर्ने गर्छन् । युवाले सुरु गरेको यो फार्म हिजोआज कृषि सिकाइ केन्द्रजस्तै बनेको छ ।

    उनिहरूको व्यवसायको सिको गर्दै कृषि व्यवसायमा युवाको आकर्षण बढेको छ । समयअनुसार व्यवसाय गर्न सकियो भने बजारको समस्या नपर्ने व्यवसायीको अनुभव छ ।

    रामतुलसी नमूना माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कृषि बाली विज्ञान विषयका विद्यार्थी पनि बेलाबेलामा आफ्नो विषयसँग सम्बन्धित शिक्षणका लागि यहाँ आएर प्रयोगात्मक सिकाई आर्जन गरिरहेका हुन्छन् ।

    –रासस