२१ असार २०८२ शनिबार | 05 Jul 2025 Sat

विदेश बिर्साउने ‘ड्रागन फ्रुट’खेती



  • आफ्नै खबर
  • २१ असार २०८२ शनिबार (७ घण्टा अघि)
  • पाठक संख्या ६९
  • खोटाङ/  रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देशमा श्रम र पसिना बगाउनुभएको सरोज धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा नेपाल फर्किनुभयो । 

    मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गर्नुभएका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुग्नुभयो । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गर्नुभयो । 

    सुरूमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बन्नुभएका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बन्नुभयो । उहाँले बङ्गुरपालनबाट करिब १८ लाख रुपैयाँ घाटा बेहोर्नुभयो ।  

    ठूलो लगानीमा सुरु गरेको बङ्गुरपालन व्यवसाय छाडेर सरोज बाख्रापालनमा लाग्नुभयो । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाड्नुभएको सरोजले सम्भावनाका खोजी गर्न भने छाड्नुभएन । 

    गाउँमै केही गर्ने उद्देश्यसहित सरोजले ६ वर्षअघि एउटा युट्युब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेर्नुभयो । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहनुभएका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिनुभयो । 

    तालिम लिएकै ठाउँबाट दुई सय ५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्कनुभयो । घरमा आएर पाखो बारीमा रोप्नुभयो । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गर्नुभयो ।

    सुरूमा दुई सय ५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थाल्नुभएका सरोजको फार्ममा अहिले दुई हजार सात सय वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरु भएको छ ।

    तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिनुभयो । 

    एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी तीन सय रुपैयाँमा बिक्री गर्दा ६ लाख रुपैयाँ सङ्कलन भएको सरोजले जानकारी दिनुभयो । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् । 

    ‘खेती हेर्नकै लागि पनि मानिसहरू फार्ममा पुग्ने गरेका छन् । ड्रागन फ्रुट पाकेको सूचना फेसबुकमा हालेपछि ताजा फल खान र चाख्नैका लागि पनि ग्राहकहरू आउँछन्’, उहाँले भन्नुभयो, ‘ड्रागन फ्रुटको माग बढ्दो छ । ग्राहकको मागलाई मध्यनजर गरेर थप जग्गामा खेती विस्तार गरिरहेको छु । आगामी दिनमा प्रतिकेजी ५० रुपैयाँसम्ममा बिक्री गर्नेगरी विस्तार गरिरहेको छु ।’

    ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताउनुभयो । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाउनुभएको छ ।   

    एक छोरा र एक छोरीको बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आउनुभएको छ । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गर्नुभएका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गर्नुभएको हो । 

    सरोज र कौशिला दम्पती काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बन्नुभएको छ । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रागन फ्रुटखेती सुरू गरेको उहाँहरू बताउनुहुन्छ । 

    -रासस