बागलुङ/ बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान ।
छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।
हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्न बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालाको बासस्थान बनेको ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ ।
यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बढेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथानले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लागि अझ बढी प्रिय बनेको छ ।
भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ ।
पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्न सुरु गरेका छन् । बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ ।
ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्रामा बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताउनुभयो ।
पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उहाँले सुनाउनुभयो । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उहाँको भनाइ छ ।
पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताउनुभयो । पर्यटक आउन थालेपछी बुकी पाटनमा पहलपहल बढ्न थालेको उहाँ बताउनुहुन्छ ।
‘हामीहरू रहरले बुकीमा बसेका हैनौँ । तर, अहिले त मान्छेहरू रहरले घुम्न आउँछन् । भेडा पाल्नु हाम्रो पेशा हो । यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं । पहिले बाहिरी मान्छे कोही आउँदैनथ्यो, अहिले हिउँदसम्मै बाहिरी मान्छेको चाप हुन्छ’, उहाँले भन्नुभयो, ‘सहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन् । कोही त दुई/तीन दिननै यही बस्छन् ।’
दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् ।
एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ । रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आउनुभएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको सुनाउनुभयो ।
आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उहाँको भनाइ छ । रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएको घर्तीमगरले बताउनुभयो ।
आफूले झण्डै एक हजार सात सय भेडा पाल्दै आएको उहाँको भनाइ छ । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउनुहुन्छ । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘बुकीपाटन त हामीजस्ता गोठलाको लागि घाँसको भण्डार हो । यहाँ जति गए पनि जति भेडा चराए पनि चार÷पाँच महिनालाई प्रस्त घाँसले पुग्छ । यहाँको घाँस पोषिलो हुने हुँदा भेडा सप्रिन्छन् । त्यसले गर्दा बर्खाको समय बुकीपाटन आउँछौँ । अहिले त गोठाला मात्रै होइन, पर्यटक पनि बुकीपाटन आउन थाले । उनीहरूले यहाँ आएर हाम्रो भिडियो बनाएर जान्छन् । के–केमा आउँछ हेर्नु होला भन्छन् । हामीसँग मोबेल (मोबाइल) पनि छैन । के बाट हेर्ने ?’
बुकीपाटन समुद्री सतहदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बेसी झर्ने गर्छन् ।
भैरहवादेखि बुकीपाटन आउनुभएका प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताउनुभयो । आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायिले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उहाँको भनाइ छ । आफूले अहिलेसम्म एकै ठाउँमा हजारौँ भेडा नदेखेको ज्ञवालीले सुनाउनुभयो ।
‘बुकीपाटनमा म पहिलोपटक आएको हुँ । यति अग्लो उचाइमा पहिलोपटक आएको । त्यसमाथि जिन्दगीमै पहिलोपटक पहाडै ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखेँ । यो मेरो ‘लाइफ’कै अविस्मरणीय हुनेछ’, ज्ञवालीले भन्नुभयो, ‘यहाँका गोठाला कति सहयोगी, कति मायालु, सबैभन्दा बढी त म यहाँको गोठ र भेडाहरूले प्रभावित भएँ । अहिले छोटो समयका लागि आएको थियौँ । अर्को पटक आउँदा धेरै दिन बस्ने गरि आउने छौँ ।’
–रासस
प्रतिक्रिया दिनुहोस